जोखिमबाट जोगिँदै पढाइ

 लामो समयपछि विद्यालय सञ्चालनमा, भौतिक उपस्थितिमै पढाइ, विद्यार्थी, शिक्षक र अभिभावक उत्साहित

 लामो समयपछि विद्यालय सञ्चालनमा  भौतिक उपस्थितिमै पढाइ  विद्यार्थी, शिक्षक र अभिभावक उत्साहित

वीरेन्द्रनगरस्थित अमरज्योति नमुना माध्यमिक विद्यालयले भौतिक उपस्थितिमा सञ्चालन गरेको कक्षा

कोरोना भाइरस ‐कोभिड–१९) को महामारीका कारण लामो समय बन्द रहेका विद्यालय सञ्चालनमा आएका छन् । विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर कक्षा सञ्चालन गर्न थालिएको हो ।

स्थानीय तहले जोखिमको मूल्याङ्कन गरी विद्यालय सञ्चालनको निर्णय लिएपछि कर्णाली प्रदेशका सबैजसो विद्यालय सञ्चालनमा आएका हुन् । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले तयार पारेको मापदण्डअनुसार विद्यालय सञ्चालन गरिएको हो ।

कोरोना संक्रमणको जोखिम कायमै रहेका बेला स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पठनपाठन सुरु गरिएको छ । जोखिम न्यूनिकरणका लागि बनाइएको मापदण्ड पूरा गर्न भने कडाइ गरिएको छ । तोकिएका स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन गर्नुपर्ने सर्तमा विद्यालय खुलाइएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईहरूले जनाएका छन् ।

दैलेखका सबै विद्यालयहरूले विद्यार्थीलाई कक्षा कोठामै राखेर पढाउन थालेका छन् । ११ स्थानीय तह रहेको जिल्लामा आठवटा पालिकाले गएको भदौ २७ गतेदेखि नै विद्यालय सञ्चालन गरिसकेका थिए । बाँकी तीन वटाले स्वास्थ्य मापदण्ड पालना गर्दै असोज १ गतेबाट पठनपाठन सुरू गरेका छन् । चार सय ८१ सामुदायिक र ५७ वटा निजी विद्यालय रहेको जिल्लामा माध्यमिक तहसम्म करिब एक लाख विद्यार्थी अध्ययनरत छन् ।

स्वास्थ्य सेवा कार्यालयले संक्रमणको जोखिम कायमै रहेकाले सावधानी अपनाएर विद्यालय खोल्न सुझाएको छ । कोभिडको जोखिमप्रति कार्यालय पनि चनाखो बनेको कोरोना नियन्त्रण फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए । उनका अनुसार कार्यालयले विद्यार्थीहरूमा आउन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरेर प्रत्येक पालिकामा परीक्षण किट र स्वास्थ्य सामग्रीहरू पठाएको छ । संक्रमणका आशंकित विद्यार्थीहरूलाई निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको छ । विद्यालयहरूले समेत सोही अनुसारको स्वास्थ्य सतर्कतामा जोड दिएको रेग्मीले बताए ।

विद्यालय सञ्चालनमा आएपछि विद्यार्थीहरु पनि हर्षित भएका छन् । हाँस्दै–खेल्दै विद्यालय जान थालेका छन् । नारायण नगरपालिका–८ दैलेखकी पार्वती सोनीले लामो समयपछि विद्यालय आएर पढ्न पाउँदा खुसी लागेको बताइन् । उनी सरस्वती माध्यमिक विद्यालयमा पढ्छिन् । झन्डै डेढ वर्षदेखि नियमित विद्यालय जान नपाएकी उनलाई वैकल्पिक माध्यमबाट पढ्दा सिकाइमा समस्या हुने गरेको थियो । ‘बल्ल स्कूलमै आएर पढ्न पाइयो,’ उनले भनिन, ‘स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय गइरहेका छौं ।’ कक्षा कोठामै बसेर पढ्दा सिकाइ क्रियाकलापमा निकै सहज भएको उनी बताउँछिन् । दुल्लूस्थित पञ्चकोशी माध्यमिक विद्यालयमा अध्ययनरत निलीमा शाही पनि अहिले विद्यालयमै गएर पढ्न थालेकी छन् । विद्यालयमा गएर पढ्न पाउँदा उनी उत्साहित छन् । ‘वैकल्पिक माध्यमबाट सिक्नु र स्कुलमा आएर पढ्नुमा धेरै फरक पाएँ,’ उनले भनिन्, ‘घरमा एक्लै पढ्दा नबुझिने समस्या हुन्थ्यो । विद्यालय आउँदा नजानेको कुरा शिक्षकहरूसँग सोध्न पाइँन्छ, साथीहरूसँग छलफल हुन्छ ।’ ठाटीकाँधमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयका शिक्षक सुरेन्द्र थापाले विद्यालय सञ्चालनमा आएर भौतिक रूपमै पठनपाठन सुरू भएपछि शिक्षक, विद्यार्थी र अभिभावकहरू हर्षित भएको बताए ।

दैलेखका सबै स्थानीय तहलाई स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालनको अनुमति दिइसकिएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले स्थानीय तहले जोखिमको आकलन गरेर तोकिएको मापदण्ड पालना गरी विद्यालय सञ्चालन गरिरहेको जनाए ।

यस्तै, सुर्खेतमा पनि विद्यालयहरू सञ्चालनमा आएका छन् । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भोजराज न्यौपाने अधिकांश विद्यालयले भौतिक रूपमा पठनपाठन थालिसकेको र बाँकी रहेकाले पनि केही दिनभित्र सञ्चालन गर्ने तयारी गरेको जनाए । यहाँका विद्यालयहरूले कक्षा कोठामा सीमित विद्यार्थी राखेर जनस्वास्थ्यका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा ल्याएका हुन् । इकाई प्रमुख न्यौपानेका अनुसार विद्यार्थी संख्या र भौतिक संरचनाका आधारमा विद्यालयहरूले अध्यापनको व्यवस्थापन मिलाएका छन् । तोकिएको मापदण्ड अनुसार पठनपाठन गरे/नगरेको सम्बन्धित पालिकाका शिक्षा शाखा प्रमुखको संयोजकत्वमा गठित समितिले अनुगमन गर्ने जनाइएको छ ।

विद्यालयहरूले भिडभाड कम गर्न एउटा कोठामा २० देखि ३० जना मात्र विद्यार्थी राखेर पढाउन थालेका छन् । बिहान र दिउँसो गरी दुई सिफ्टमा आउने विद्यार्थीहरूलाई तीन घण्टा पढाउने गरिएको छ । विद्यार्थी र शिक्षकका लागि मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको विद्यालयहरूले जनाएका छन् ।

प्रकाशित मितिः   २ आश्विन २०७८, शनिबार ०५:००