संक्रमण उच्च, परीक्षण न्यून

कर्णालीमा कोरोना संक्रमणदर ४० प्रतिशतमाथि

कर्णालीमा कोरोना संक्रमणदर ४० प्रतिशतमाथि

प्रदेशभर एक सय १९ जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्दा ४९ जनामा संक्रमण फेला प¥यो । त्यसमध्ये ६३ जनाको आरटी–पीसीआर र ५६ जनाको रेपीड–एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा ४४ जनामा संक्रमण देखियो भने रेपीड–एन्टिजेनमा पाँच जनालाई कोरोना पुष्टि भएको छ । यो शनिवारको तथ्याङ्क हो । उक्त दिन परीक्षण गरिएका कूल संख्याको ४१ प्रतिशतमा कोरोना पुष्टि भएको छ । चिकित्सकहरूका अनुसार परीक्षण गरिएको संख्याका आधारमा यो संक्रमणदर उच्च हो ।

त्यस्तै, अघिल्लो दिन शुक्रवार आरटी–पीसीआर विधिबाट प्रदेशभर ७४ जनाको कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणबाट १४ जनामा भाइरस पुष्टि भयो । सोही दिन रेपीड–एन्टिजेन विधिबाट ५६ जनाको परीक्षण हुँदा पाँच जनामा संक्रमण भेटियो । गएको बिहीवार दुवै विधिबाट दुई सय २१ जनाको कोरोना परीक्षण भएकोमा ४६ जनामा संक्रमण पुष्टि भएको थियो । बुधवार एक सय ८१ मा परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको थियो । मंगलवार दुई सय तीन जनामा गरिएको परीक्षणमा ३४, सोमवार चार सय ३२ मा भएको कोरोना परीक्षणमा ५९ जना संक्रमण फेला परेका थिए । यस्तै आइतवार प्रदेशभर ५८ जनामा कोरोना पुष्टि भएको थियो । पछिल्लो एक साताको तथ्याङ्क केलाउँदा परीक्षण गरिएको संख्याका आधारमा संक्रमणदर धेरै नै देखिएको छ । परीक्षणको दायरा र संख्या कमै भए पनि संक्रमितको संख्या भने ठूलो पाइएको हो ।

पछिल्लो समय कर्णालीमा परीक्षणको दायरासमेत साँघुरो बनाइएको छ । यसै समयमा संक्रमण दर भने बढेको देखिन्छ । एक साताको अवधिमा कोरोना परीक्षण गर्नेको संख्या करिब एक हजार दुई सय ८३ रहेकोमा तीमध्ये दुई सय ४० जनामा संक्रमण पुष्टि भएको छ । केही समययता लक्षण भएका बिरामीको मात्र परीक्षण गर्ने गरिएको छ । परीक्षण सर्वसूलभ बन्न सकेको छैन । अहिले कर्णाली प्रदेश अस्पताल, जन स्वास्थ्य सेवा कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाका साथै प्रदेशका अन्य केही स्थानहरूमा पनि कोरोना परीक्षण हुँदै आएको छ । यद्यपि चाहेको बेला परीक्षण गर्न अझै पनि सहज नभएको सेवाग्राहीको गुनासो छ ।

वीरेन्द्रनगर नगरपालिकाले हरेक साताको तीन दिन कोरोना परीक्षण गर्छ । नगरपालिकाले सोमवार, बुधवार र शुक्रवार कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दै आएको हो । त्यस्तै, जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतले आइतवार, मंगलवार र बिहीवार स्वाब संकलन गर्ने गरेको छ । जन स्वास्थ्य कार्यालयका प्रमुख चेतननिधी वाग्लेले पछिल्ला दिनमा परीक्षणका लागि कोरोनाका आशंकित बिरामी नै कम आउने गरेको बताए । परीक्षण गर्न आउनेकै संख्या थोरै भएपछि परीक्षणदर न्यून देखिएको उनी बताउँछन् ।

वीरेन्द्रनगर नगरपालिकाले परीक्षण गर्न आउनेको संख्या थोरै हुने गरेको बताएको छ । नगरका स्वास्थ्य शाखा प्रमुख पर्शुराम खड्काले स्वाब संकलनको व्यवस्थापन सहज बनाइएपनि परीक्षण गराउनेको संख्या नै कम भएको जनाए । उनका अनुसार परीक्षणमा सहजताका लागि नगरपालिका र स्वास्थ्य सेवा कार्यालयले समन्वयात्मक तरिकाले हप्तैभरी परीक्षणको व्यवस्था मिलाएको उनी बताउँछन् । कोरोना परीक्षण गर्नेहरूको दर कम भए पनि संक्रमणको जोखिम भने अझै उच्च रहेको जन स्वास्थ्यकर्मीहरूले बताएका छन् । थोरै संख्यामा गरिएको परीक्षणमा पनि ठूलो संख्या संक्रमित भेटिनुले जोखिमको अवस्था अहिले पनि जटिल रहेको उनीहरूको भनाइ छ ।

कर्णालीमा कोरोनाबाट बढी नै प्रभावित भएको जिल्ला सुर्खेत हो । यहाँको संक्रमण र मृत्युदर दुवै अन्य जिल्लाको तुलनामा बढी छ । सुर्खेतको पनि वीरेन्द्रनगरमा संक्रमणको जोखिम धेरै छ । वीरेन्द्रनगरमा अहिले एक सय ६७ जना कोरोनाका सक्रिय संंक्रमित छन् । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरमा संक्रमणदर २५ प्रतिशत हाराहारी छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा चार सय ७२ जना सक्रिय संक्रमित छन् । हालसम्म प्रदेशमा ३३ हजार सात जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ३० हजार नौ सय ५७ निको भएका छन् । अहिलेसम्म प्रदेशभर कोरोना संक्रमित तीन सय ७३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   २७ भाद्र २०७८, आईतवार ०५:००