जनचेतना अभिवृद्धिमै जोड

महिलाहरू महिनावारी हुनु प्राकृतिक पक्रिया हो । यसको सम्बन्ध प्रजनन् प्रक्रियासँग जोडिएको हुन्छ । तर समाजमा महिनावारीलाई लिएर गलत सोचको विकास भएको छ । जसले गर्दा महिनावारी भएका महिलाहरूलाई घरबाट अलग राख्ने गरिएको छ । सुर्खेतसहित कर्णाली प्रदेशका जिल्लाहरूमा अहिले पनि परम्पराका रूपमा महिनावारी भएका महिलालाई घरमा बस्न दिइँदैन । उनीहरूलाई राख्नका लागि भनेर अलग्गै छाउगोठ बनाइएको हुन्छ । महिनावारी भएका बेला घरबाहिर असुरक्षित तरिकाले बस्नुपर्ने बाध्यात्मक संस्कारका कारण महिलाहरूको स्वास्थ्य उच्च जोखिममा छ । महिनावारी बार्न असुरक्षित ठाउँमा बस्दा थुप्रै खालका हिंसामा पर्नुका साथै महिलाहरूको बर्सेनि ज्यानसमेत जाने गरेको छ । तर यस्तो गलत प्रथा निर्मूल हुन सकेको छैन ।

महिनावारी भएको समयमा महिलाहरूलाई छाउगोठमा राख्ने परम्पराको विरोध हुँदै आएको छ । कानुनले समेत यसलाई बर्जित गरेको छ । पटक–पटक छाउगोठ भत्काउने अभियान समेत सञ्चालन हुने गरेको छ । पछिल्लो पटक २०७६ माघ ८ गते गृह मन्त्रालयले छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न स्थानीय प्रशासनहरूलाई निर्देशन दियो । सोहीअनुरूप कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा पनि छाउगोठ भत्काउने अभियान थालियो । स्थानीय प्रशासनले त्यसको अगुवाइ गरे । उक्त समयमा प्रदेशभर करिब दुई हजार दुई सयभन्दा बढी छाउगोठहरू भत्काइए । तर अभियानले त्यसयता भने निरन्तरता पाउन सकेन । अहिले अभियान सेलाएको छ । सुर्खेतको पश्चिम क्षेत्र जहाँ छाउपडी प्रथा व्याप्त छ । पश्चिमको पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिका तथा पूर्वको भेरीगंगा नगरपालिकामा छाउगोठ भत्काउने अभियान चलाइएको थियो । अभियानले निरन्तरता नपाउँदा त्यतिबेला हटाइएका छाउगोठ फेरि बनाउन थालिएको छ । अभियानले नागरिकस्तरमा खासै प्रभाव पार्न नसकेको देखिन्छ । छाउगोठ भत्काउने अभियान निरन्तर सञ्चालन नगरिँदा छाउप्रथा मान्ने समुदायमा महिनावारी भएका महिलाहरू पुनः छाउगोठमा बस्न थालेका हुन् । सरकारी निकायले बल प्रयोग गरेर छाउ बार्न बनाइएका गोठ हटाए पनि सामाजिक रूपमा बसेको संस्कार हटेको छैन ।

स्थानीय प्रशासनले बल प्रयोग गरेर गोठ भत्काउँदा नागरिकले खुलेर विरोध गर्न सकेनन् । तर महिनावारी भएका महिलाहरूलाई घरभित्र राख्न पनि दिएनन् । बरु अहिले पुनः गोठ निर्माण गर्न थालिएका छन् । यसले उक्त अभियान प्रभावकारी हुन नसकेको देखाउँछ । यस्तो अभियान जबरजस्ती गरेर वा केही समयका लागि चलाएर मात्र हुँदैन । वर्षौंदेखि जकडिएर आएको प्रथा हटाउन जनचेतना अभिवृद्धि गर्नु जरुरी छ । महिनावारी प्रक्रियाका बारेमा आम नागरिकमा भएका भ्रमहरूलाई चिर्न सकेमा छाउगोठ बनाएर राख्ने प्रथा नै अन्त्य हुनेछ । त्यसका लागि जनचेतना नै मुख्य कुरा हो । बरु जनचेतना अभिवृद्धि गर्न सरकारले योजनाबद्ध कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ । किन मानिसहरू यो भ्रमबाट मुक्त हुन सकेका छैनन् भन्ने कुराको अध्ययन–विश्लेषण गरी सोहीअनुसार प्रभावकारी कार्यक्रम नै छाउगोठमुक्त समाज निर्माणको आधार हुनसक्दछ ।

प्रकाशित मितिः   २५ भाद्र २०७८, शुक्रबार ०५:००