विद्यालय सञ्चालनमा सतर्कता
कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण शैक्षिक क्षेत्र पूर्णरूपमा प्रभावित बन्यो । लामो समय शैक्षिक संस्था बन्द भए । पठनपाठन ठप्प रह्यो । वैकल्पिक विधिबाट अध्ययन–अध्यापन कार्य सञ्चालन गर्ने अभ्यास सफल हुन सकेन । जसका कारण पछिल्लो करिब डेढ वर्षदेखि शिक्षा क्षेत्र अस्तव्यस्त रहँदै आएको छ । अहिले पनि अन्यौलपूर्ण अवस्थामा छ । तर कोरोना संक्रमण घटेपछि विद्यालय सञ्चालनको तयारी गरिएको छ । सरकारले विद्यालय सञ्चालन कार्यविधि बनाएको छ । जसअनुसार आवश्यक मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न सकिने बताइएको छ । तर संक्रमण नियन्त्रण नभएको अवस्थामा विद्यालय सञ्चालन कति सुरक्षित या जोखिमयुक्त हुन्छ भन्ने कुरामा आम अभिभावकसमेत चिन्तित बनेका छन् ।
अहिले कोरोना संक्रमणदर घटेको छ । तर नियन्त्रण भइसकेको छैन । महामारीको अवस्था अझै कम नभइसकेको र तेस्रो भेरियन्ट आउनसक्ने विज्ञहरूको सुझाव दिइसकेको अवस्था छ । त्यसमाथि तेस्रो भेरियन्ट बालबालिका केन्द्रित हुने भन्ने अड्कलबाजीका कारण सरकारले विद्यालय सञ्चालनका लागि अझै स्पष्ट अनुमति दिएको छैन । यद्यपि निषेधाज्ञालाई लचिलो बनाएर जोखिम मूल्याङ्कन गरी विद्यालय सञ्चालनको बाटो भने खोलिदिएको छ । जसका कारण विद्यालयहरू पनि विद्यार्थीहरूको भौतिक उपस्थितिमै कक्षा सञ्चालनका लागि तयारीमा जुटिसकेका छन् । सरकारले कार्यविधि त बनायो तर भौगोलिक विविधता र संक्रमणको मूल्याङ्कन गर्नेतर्फ ध्यान दिएको देखिँदैन । सबै क्षेत्रका लागि एकै किसिमको निर्देशन जारी गरिएको छ ।
महामारीको समयमा जोखिमको मुल्याङ्कन गर्नु अपरिहार्य हुन्छ । प्रतिकूल अवस्थामा पनि परिस्थितिको सही विश्लेषण गरी स्थान र परिवेश अनुसारको मापदण्ड र व्यवस्था गर्न नसक्ने हो भने अहिलेको निर्णय घातक हुनसक्छ । सुरक्षित किसिमले विद्यालय सञ्चालन गर्न सकिने अवस्थाको निर्माण गर्नु राज्यको दायित्व हो । त्यसका लागि अनुकुल योजना बनाउनुपर्दछ । त्यसैले स्थानीय वस्तुस्थितिअनुसार विद्यालय सञ्चालन कार्यविधि तयार गरी कार्यान्वयन गरिनु जरुरी छ । सँगसँगै आवश्यक स्वास्थ्य सावधानी अपनाएको वा नअपनाएकोबारे स्थानीय प्रशासनबाट अनुगमन गर्ने तथा परिस्थिति प्रतिकूल भएको खण्डमा सम्बन्धित विद्यालय र पालिकालाई जुनसुकै बेला विद्यालय बन्द गर्न सक्ने अधिकार दिन सकिन्छ । यसले सुरक्षित किसिमले विद्यालय सञ्चालनका लागि सघाउ पु¥याउन सक्दछ ।
आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्नु त जरुरी छँदैछ, सँगसँगै शिक्षक, विद्यार्थीलाई पनि खोपको व्यवस्थापन गर्नुपर्ने दायित्व राज्यले पूरा गर्नसक्नुपर्दछ । भौतिक दूर कायम गर्नुपर्ने, मास्क र स्यानिटाइजरको प्रयोग, स्वास्थ्य परीक्षणलगायतका मापदण्ड सबै विद्यालयहरूले पूरा गर्न सक्छन् या सक्दैनन् भन्ने कुराको अध्ययन र आवश्यक व्यवस्थापनमा हेलचक्य्राइँ गर्नु हुँदैन । त्यसैले विद्यालय सञ्चालनसम्बन्धी व्यवस्थालाई ध्यानमा राखेर स्थानीय निकायले आफ्नो क्षेत्रको परिस्थिति मूल्याङ्कन गरी विद्यालय खोल्नेतर्फ विशेष ध्यान पु¥याउन जरुरी छ । विद्यालय सञ्चालन गरिहाल्ने हतारमा आवश्यक सतर्कता अपनाउन चुक्नु हुँदैन । त्यसले जोखिम थप बढाउन सक्दछ ।
प्रकाशित मितिः २३ भाद्र २०७८, बुधबार ०९:३६
साझा बिसौनी ।