स्वास्थ्य संस्थामा स्वच्छता परियोजना

स्वास्थ्य संस्थाहरू सफा राख्न र भौतिक संरचनाको सुधार गर्न स्वच्छता परियोजना सुरू गरिने भएको छ । सुर्खेत र दैलेखका चार दर्जन बढी स्वास्थ्य संस्थाहरूको भौतिक सुधार गर्न लागिएको छ । यूएसएआइडीले स्वच्छता परियोजनामार्फत यी दुई जिल्लाका ५० वटा स्वास्थ्य संस्थाहरूमा स्वच्छ खानेपानी, हातधुने स्टेशन तथा शौचालय निर्माणलगायतका स्वच्छतासम्बन्धी काम गर्न लागेको हो ।

मंगलवार वीरेन्द्रनगरमा परियोजनाबारे जानकारी दिँदै स्वच्छता परियोजना प्रमुख वीवी थापाले यस परियोजनाबाट सुर्खेत र दैलेखका २५÷२५ वटा स्वास्थ्य संस्थाहरूको भौतिक सुधारमा सहयोग गरिने बताए । उनका अनुसार परियोजनामार्फत स्वच्छ खानेपानी, हातधुने स्टेशन, शौचालय निर्माणसँगै पानी र शौचालय नभएका बर्थिङ सेन्टर तथा पानी बोक्नुपर्ने स्वास्थ्य संस्थाहरूको भौतिक सुधार गरिने छ । प्रमुख थापाले सल्यान, रुकुम–पश्चिम, जाजरकोट र डोल्पामा यो कार्यक्रम चार वर्षदेखि सञ्चालनमा रहेको जनाए । स्वास्थ्य संस्थाहरूमा स्वच्छ खानेपानी र शौचालय निर्माणको काममा यो परियोजनाले सहयोग गर्दै आएको छ । स्वच्छता सूचनामार्फत समुदायस्तरमा आनीबानी परिवर्तनमा पनि मद्दत पु¥याउँदै आएको परियोजनाको दाबी छ । परियोजना लागू गर्न लागिएका सुर्खेत र दैलेखमा जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयहरूको समन्वयमा स्वास्थ्य संस्थाहरूको छनौट गरेर कार्यक्रम अघि बढाइने जनाइएको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिडिइ रमेश सुवेदीले स्वच्छतामा कर्णाली प्रदेश कमजोर भएकोले यस परियोजनाले थोरै भए पनि अवस्थामा सुधार आउने अपेक्षा व्यक्त गरे । उनले सार्वजनिक शौचालयहरूको अवस्था पनि दयनीय भएकोले तिनीहरूको सुधार गर्न पनि सुझाए । जनस्वास्थ्य सेवा कार्यालयका वरिष्ठ जन स्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले भौतिक संरचना कमजोर भएका स्वास्थ्य संस्थालाई यस कार्यक्रममा छनोट गरिने उल्लेख गरे ।

त्यस्तै, कार्यक्रममा सुर्खेतका स्थानीय समन्वय अधिकारी कृष्ण पन्तले कार्यक्रम गर्दा दोहोरोपन हुन/नहुने र समन्वयमा ध्यान दिनुपर्ने बताए । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वास्थ्य संस्थाहरूको संरचना सुधारमा परियोजनाले सहयोग गर्ने अपेक्षा व्यक्त गर्दै स्वास्थ्य संस्थाका साथै विद्यालयका शौचालयहरूको सुधारतर्फ पनि कार्यक्रम ल्याउन आग्रह गरे ।

प्रकाशित मितिः   २३ भाद्र २०७८, बुधबार ०९:३५