यस्ता छन, प्रधानमन्त्रीसँग राखिएका २० वुदे माग
सम्माननीय प्रधानमन्त्री
श्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
सिंहदरबार ।
विषयः मागपत्र सम्बन्धमा ।
सर्वप्रथमतः आर्थिक रुपले समृद्ध नयाँ नेपालको सपना बोकेका आम नेपाली जनताको चाहनाको प्रतिनिधित्व र जनभावना प्रतिविम्बित हुने गरी नेपालको संविधान जारी गर्ने ऐतिहासिक कार्यभार पूरा गर्ने कार्यमा सक्रियतापूर्वक समन्वयकारी भूमिका निर्वाह गरेकोमा हार्दिक कृतज्ञतासहित बधाई ज्ञापन गर्न चाहन्छौं। नेपाली जनताको भाग्य र भविष्य निर्धारण गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान २०७२ को प्रभावकारी कार्यान्वयन गरी, विद्यमान राजनीतिक अस्थिरता तथा संक्रमणकालको अन्त्य गरी मुलुकलाई राजनीतिक, आर्थिक, सामाजिक एवं साँस्कृतिक रुपले सम्पन्न एवं समृद्धिको मार्गमा अघि बढाउने कार्यमा अपेक्षित सफलता प्राप्तहोस भन्ने हार्दिक शुभकामनापनि व्यक्त गर्न चाहन्छु ।
विभिन्न कालखण्डमा भएका विविधखाले राजनीतिक परिवर्तन र क्रान्तिका बलमा प्राप्त नयाँ संविधानसंगै मुलुकले गर्व गर्न लायक थुप्रै राजनीतिक उपलब्धि आत्मसाथ गरेको छ । हालप्राप्त राजनीतिक उपलब्धिहरुलाई दीर्घकालीन रुपले संस्थागत गर्दै अब आर्थिक उपलब्धि, प्रगति र उन्नतिको मार्गमा अविछिन्न रुपले लाग्नुपर्ने आवश्यक्ता पनि उत्तिकै छ । यसका लागि राज्यको आर्थिक मेरुदण्डका रुपमा रहेको निजी क्षेत्रको प्रतिनिधित्व र सहभागितापनि नितान्त जरुरी छ । र, त्यसकालागि निजी क्षेत्रलाई लगानीका लागि आकर्षित एवं प्रोत्साहित गर्नपनि अत्यावश्यक छ ।
हाल छैठौं भनिएको यो प्रदेश व्यापारिक र व्यवसायिक हिसावले मात्र नभई जलश्रोत, जडिबुटी, कृषि, पर्यटन, ऐतिहासिक तथा धार्मिक धरोहरका कारणपनि आर्थिक रुपले समुन्नत प्रदेश बन्नसक्ने प्रशस्त आधार एवं सम्भावना रहेको प्रदेशका रुपमा रहेको छ । आयात प्रतिस्थापन र निर्यात प्रोत्साहनका लागि यस क्षेत्रमा उच्च आर्थिक सम्भावना भएका उर्बर क्षेत्रहरुमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउनका लागि सरकारले समयसापेक्ष नीतिगत सुधारसंगै लगानी प्रोत्साहन र सुरक्षाको वातावरण बनाउनुपर्ने आवश्यक्तापनि रहेको छ । यो प्रदेशको निर्विकल्प राजधानीका रुपमा रहेको सुर्खेतपनि हरेक आयामबाट अब्बल र सबल देखिएको छ । तरपनि सुर्खेतलगायत यस क्षेत्रको आर्थिक क्रियाकलाप सडक, विद्युत, कच्चापदार्थ, उचित लगानी र संरक्षणको अभाव लगायतका अन्य थुप्रै संरचनागतकमी र अरु केहि प्राविधिक कारणले सुषुप्त अवस्थामा रहेको छ ।
तर पनि यी तमामखाले चुनौतिहरुलाई सम्भावना र सम्भावनाहरुलाई अवसरमा परिणत गर्दै यस क्षेत्रको जलश्रोत तथा प्राकृतिक श्रोत साधनहरुको प्रचुर सदुपयोग गरी आर्थिक रुपमासमेत समृद्ध, सबल र सक्षम प्रदेशका रुपमा स्थापितगर्ने अभियानमा होमिएको सुर्खेत उद्योग वाणिज्य संघले यस क्षेत्रमा आर्थिक गतिविधिलाई बढावा दिन विगतदेखि नै विभिन्न पहल र प्रयासहरु गर्दै आएको छ भने केहि योजना र अभियानपनि अघि सारेको छ । सुनको सिरानी हालेर नूनको खोजीमा भौतारिने क्षेत्र भनेर हालसम्म चिनाइँदै आएको यस क्षेत्रको मुहार र पहिचान फेर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेपनि सुर्खेत उद्योग वाणिज्य संघ वा निजी क्षेत्रको एकल प्रयासले मात्र यो सम्भव नहुने वास्तविकतालाई मध्यनजर गर्दै यसमा नेपाल सरकारको महत्वपूर्ण अभिभावकीय भूमिका रहने वास्तविकतालाई मनन गर्दै सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपाल सरकार समक्ष तपसिल बमोजिमका मागहरु पूर्ण रुपमा कार्यान्वय हुने अपेक्षासहित यो ज्ञापनपत्र पेश गरेकाछौं ।
हाम्रा मागहरु
१) छैठौं प्रदेशको सम्भावित राजधानीका रुपमा रहेको सुर्खेतमा सो बमोजिमका आवश्यक पूर्वाधार एवं भौतिक संरचना निर्माण अविलम्ब शुरु गर्नुपर्ने ।
२) सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणलाई उच्च प्राथमिकतामा राखी कार्यारम्भ गर्नुपर्ने ।
३) सुर्खेत—नेपालगञ्ज रत्न राजमार्ग दुई लेन बनाउनुका साथै तथा सुर्खेत–दैलेख–कालिकोट –जुम्ला हुँदै मानसरोवर जोड्ने सडकलाई उच्च प्राथमिकतामा राखी निर्माण कार्य अघि बढाउनुपर्ने ।
४) सुर्खेतको साटाखानीमा प्रस्तावित १ हजार विगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्यारम्भ गर्नुका साथै यस प्रदेशअन्तर्गतका प्रत्येक जिल्लामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने ।
५) प्रदेश नं. ६ को लगानीका सम्भावनाहरुलाई मध्यनजर गरी विशेष आर्थिक क्षेत्रका रुपमा घोषणा गर्नुपर्ने ।
६) सुर्खेत लगानी वर्ष २०७३ द्वारा प्रस्ताव गरिएका ठूला लगानीका क्षेत्रहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भि†याउनका लागि नेपाल सरकारका तर्फबाट ठोस पहल गरिनुपर्ने ।
७) पश्चिम सुर्खेतको लखरपाटा तथा सल्यानको गजेरी सिमेन्ट कारखाना स्थापनाका लागि प्रक्रिया शुरु गर्नुपर्ने ।
८) सुर्खेतको विद्युत प्रशारणलाई १३२ के.भी.ए बनाउनुका साथै दैलेख, कालिकोट, जुम्ला र मुगुलाई राष्ट्रिय विद्युत प्रशारण लाईनमा अविलम्ब जोड्नुपर्ने ।
९) चौकुने सिमेन्ट कारखाना, माथिल्लो कर्णाली जलविद्युत आयोजना, जाजरकोटको नलसिंह गाड तथा कालिकोटको तिला कर्णाली जलविद्युत आयोजना राष्ट्रिय हीत हुने गरी सञ्चालनका लागि सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक नीतिगत,भौतिक पूर्वाधार निर्माणको कार्य यथाशीघ्र शुरु गर्नुपर्ने ।
१०) काँक्रेविहार पुनःनिर्माणमा तीब्रता दिई काँक्रेविहारदेखि दैलेखको पञ्चकोशी, जुम्लाको चन्दननाथ हुँदै तिब्बतको मानसरोवरसम्म जोड्ने गरी कर्णाली सर्किटको स्थापनाका लागि आवश्यक पहल गर्नुपर्ने ।
११) विगतमा अन्वेषण प्रारम्भ गरिएको दैलेखको पञ्चकोशीमा पेट्रोलियम पदार्थ उत्खनन् प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने ।
१२) मुगुको रारा ताल, डोल्पाको शे–फोसुण्डो, दैलेखको पञ्चकोशी, जुम्लाको चन्दननाथ, कालिकोटको चुलिमालिका र पचाल झरना तथा सल्यानको कुभिण्डे दहलगायत यस क्षेत्रमा पर्यटन लगानी आकर्षण गर्नका लागि आवश्यक नीति बनाउनुपर्ने ।
१३) चीनसंग जोडिएका कर्णालीका मुगुको गमगढी– नाक्चे नांग्ला–सिमिकोट–लिमी–लाप्चा, हुम्ला सिमिकोट–हिल्सा र डोल्पा दुनै– धो–मुरिम्ला नाका खोल्न यथाशीघ्र गम्भिर पहल थाल्नुपर्ने ।
१४) सुर्खेत—दांग–सल्यान हुँदै रुकुम जोड्ने सडकको स्तरोन्नति गरी दुई लेन बनाउनुपर्र्ने ।
१५) हाल सुर्खेतमा निर्माणाधीन जडीबुटी संकलन तथा व्यवसाय केन्द्रसंगै जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक सहयोग गर्नुपर्ने ।
१६) जाजरकोट र कालिकोटमा पाइने बहुमूल्य रत्नपत्थर उद्योग स्थापनाका लागि पहल गर्नुपर्ने ।
१७) सुर्खेतमा प्रस्तावित प्रदेशस्तरीय मेडिकल कलेज स्थापनाका लागि तत्काल ठोस कार्यारम्भ गर्नुपर्ने ।
१८) सुर्खेत–दैलेख सदरमुकाम हुँदै महाबु–कालिकोट–जुम्ला दुई लेन सडक निर्माण कार्य थालनी गर्नुपर्ने ।
१९) गुटु–बेनीघाट तथा तेलपानी–भूरीगाउँ सडक निर्माण कार्य सुचारु गर्न आवश्यक पहल गर्नुपर्ने ।
२०) बाढीपहिरो विस्थापितहरुलाई अविलम्व पुनःस्थापना गरी आयमूलक तालिम/प्रशिक्षणको व्यवस्था गर्नुपर्ने ।
श्री प्रकाश अधिकारी अध्यक्ष सुर्खेत उद्योग वाणिज्य संघ
श्री शान्तिप्रसाद शर्मा अध्यक्ष दैलेख उद्योग वाणिज्य संघ
श्री रामदत्त रावल अध्यक्ष जुम्ला उद्योग वाणिज्य संघ
श्री सूर्यबहादुर शाही अध्यक्ष कालिकोट उद्योग वाणिज्य संघ
श्री लालिमान बुढा अध्यक्ष डोल्पा उद्योग वाणिज्य संघ
श्री नांवेल लामा अध्यक्ष हुम्ला उद्योग वाणिज्य संघ
श्री कमल बुढा अध्यक्ष मुगु उद्योग वाणिज्य संघ
श्री वीरबहादुर चलाउने वरिष्ठ उपाध्यक्ष सल्यान उद्योग वाणिज्य संघ
श्री बुद्धिबहादुर खत्री महासचिव जाजरकोट उद्योग वाणिज्य संघ
साझा बिसौनी ।