तीस हजार बढी संक्रमणमुक्त

कर्णाली प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीस हजार नाघेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हालसम्म प्रदेशमा ३० हजार पाँच सय ५८ जना कोरोना संक्रमणमुक्त भएका हुन ।

आइतवार प्रदेशमा थप ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । कर्णालीमा अहिलेसम्म ३२ हजार सात सय ७० जनामा कोराना संक्रमण पुष्टी भएको छ । आइतवार थप तीन जनामा मात्रै कोरोना संक्रमण देखिएको हो । निर्देशनालयले प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सय ४७ रहेको जनाएको छ । चार सय ९३ जना होम आइसोलेशसन र ५४ जनाको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । त्यसमध्य पाँच जनाको आईसीयू र तीन जनाको भेन्टीलेटरमा उपचार भइरहेको हो । कर्णालीमा हालसम्म कोरोना संक्रमणका कारण तीन सय ७० जनाको मृत्यु भएको छ ।

यस्तै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख २७ हजार एक सय ८५ जना पुगेको छ । हालसम्म नेपालमा आठ लाख ५४ हजार तीन सय २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतवार कोरोना संक्रमण पुष्टी हुनेभन्दा निको हुनेको संख्या धेरै छ । एक हजार ८९ जनामा संक्रमण पुष्टि हुँदा एक हजार पाँच सय ३४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुुनेको संख्या १० हजार आठ सय ३८ जना पुगेको छ । अहिले नेपालमा ३१ हजार दुई सय ४८ जना कोरोनाको सक्रिय संक्रमित छन् ।

यसेबीच नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउनेको संख्या एक करोड नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक करोड चार लाख २८ हजार नौ सय ४६ जनाले कोभिड खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार ४८ लाख ९५ हजार एक सय ५२ जनाले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै, ५५ लाख ३३ हजार सात सय ९४ जनाले पहिलो मात्रा लगाएका जनाइएको छ । आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४औं बैठकसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैंसम्म दुई करोड पाँच लाख जनतालाई कोभिड खोप लगाइसक्ने लक्ष्य लिएको जानकारी दिए ।

राज्यमन्त्री श्रेष्ठका अनुसार उमेरका हिसाबले खोप लगाउन योग्य सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन पाँच करोड पाँच लाख डोज आवश्यक पर्छ । चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने पूर्वनिर्धारित लक्ष्यअनुसार नै खोपको आपूर्ति भइरहेको राज्यमन्त्री श्रेष्ठको भनाइ छ ।

प्रकाशित मितिः   २१ भाद्र २०७८, सोमबार ०५:०३