महिलाहरुलाई लेखापढी तालिम

वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा लेखापढी तालिम सुरु भएको छ । आइतवारदेखि सुरु गरिएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ । वीरेन्द्रनगर नगरपालिकाको न्यायीक समिति, नेपाल कानुन समाज र द एसिया फाउण्डेशनको सहकार्यमा तालिम सञ्चालन भएको हो ।

५० जनाको सहभागिता रहेको तालिम समापनपछि जिल्ला अदालत सुर्खेतले लेखनदास परीक्षा सञ्चालन गर्ने भएको हो । जसमा उत्तीर्ण हुनेहरूलाई जिल्ला अदालत सुर्खेतले लेखनदास प्रमाण–पत्र प्रदान गर्ने तयारी रहेको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख तथा न्यायीक समिति संयोजक मोहनमाया ढकालले जानकारी दिइन् । उनका अनुसार लेखापढी तालिममा ५० जना नै महिलाहरूको सहभागी रहेको हो । ‘यो तालिमलाई महिला स्वरोजगारसँग जोडिएको छ’ उनले भनिन् ‘महिलाहरूलाई क्षमता अनुसारको रोजगारी दिन यो तालिमको आयोजना गरिएको हो ।’

तालिमको सहजीकरण नेपाल कानुन समाजका वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, वीरेन्द्रनगर नगरपालिकाका कानुनी सल्लाहकार कृष्णबहादुर हमाल र नगरका वैतनिक वकिल गीता कोइरालाले गरेका छन् । लेखापढी क्षेत्रमा महिलाहरूको कम सहभागिता भएको समयमा नगरका ५० जना महिलाहरूलाई रोजगारी सिर्जना गर्नका लागि तालिमको आयोजना गरिएको ढकालले बताइन् ।

प्रकाशित मितिः   २१ भाद्र २०७८, सोमबार ०५:००