धेरै रक्तदान गर्नेलाई सम्मान

नेपाल रेडक्रस सोसाइटी सुर्खेतले धेरै पटक रक्तदान गर्ने व्यक्तिलाई सम्मान गरेको छ । रेडक्रसको ५९औँ स्थापना दिवसको अवसर पारेर शनिवार वीरेन्द्रनगरका दुई जनालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा वीरेन्द्रनगर नगरपालिका–९ का प्रवाशकुमार शाक्य र वीरेन्द्रनगर–६ का ज्योति पौडेल रहेका छन् । शाक्यले हालसम्म सबैभन्दा धेरै ७० पटक रक्तादन गरेका छन् भने पौडेलले १६ पटक रक्तदान गरेकी छिन् । उनीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

रक्तदान गरेर जीवन बचाउन योगदान गरेको र अन्य व्यक्तिहरूलाई पनि रक्तदान गर्न प्रेरित गरेकाले शाक्य र पौडेललाई सम्मान गरिएको बताइएको छ । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले रक्तदान गर्न सबैलाई आग्रह गरे । उनले यो सम्मानले प्रेरणा मिल्ने पनि बताए ।

प्रकाशित मितिः   २० भाद्र २०७८, आईतवार ०५:०२