एक करोडको स्वास्थ्य सामग्री सहयोग

प्रतिमान निमा स्मृति फाउण्डेशनले कर्णाली प्रदेश सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बिहीवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

फाउण्डेशनका कार्यकारी निर्देशक स्वतिमा थापाले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारमा सहजताका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको जानकारी दिइन् । उनले आगामी दिनमा कर्णालीको आवश्यकता अनुसार फेरी पनि सहयोग गर्ने र त्यसको लागि प्रदेश सरकारसँग समन्वय गर्ने बताइन् । प्रतिष्ठानले दश हजार थान ग्लोब्स, २० हजार बढी थान मास्क, पाँच सय पीपीई सेट, थर्मोमिटर, इमेर्जेन्सि बेडलगायतका सामग्री सहयोग गरेको हो ।

मुख्यमन्त्री शाहीले संकटको बेला प्रदेश सरकारलाई सहयोग गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिँदै पछिल्ला दिनहरूमा पनि निरन्तर सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले अब आउने दिनहरूमा प्रदेश सरकारलाई सहयोग गर्ने कुनै पनि संघ सस्थाले कर्णालीको आवश्यकता के छ त्यसलाई ध्यान दिएर सहयोग गर्नुपर्ने जोड दिए ।

प्रकाशित मितिः   १८ भाद्र २०७८, शुक्रबार ०५:००