प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय मेला उद्घाटन

2

प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गरेका छन । मेला उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावमा परिमार्जन गर्न सकिने भएपनि फिर्ता भने नहुने बताएका छन् ।

मेलामा करिब १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । यस्तै करिब तीन लाख दर्शकले मेलाको अवलोकन गर्नेछन् । मेलामा तीन सय ७५ भन्दा बढी स्टल रहेका छन् । यसपटक अन्तर्राष्ट्रिय स्टलसमेत रहेको र आधुनिक प्रविधिका पनि स्टल रहेका छन् । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूले समेत आफ्नो प्रस्तुती राख्नेछन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले भने, ‘मेलामा दश करोडको कारोबार हुने अपेक्षा गरेका छौं, यस्तै तीन लाख भन्दा बढी दर्शकले अवलोकन गर्नेछन् । हामीले मेला अवधिभर व्यापार योजना सम्बन्धी प्रत्यक्ष संवाद पनि चलाउने छौं, यसले यहाँका व्यवसायीलाई उत्साह थप्नेछ ।’ मेला यो प्रदेशको अर्थिक विकासको कोशेढुङ्गा हुने भन्दै उनले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने बताए । उनका अनुसार प्रमुख पर्यटकीयस्थलको अवलोकनका लागि हेलिकोप्टरबाट भ्रमणको व्यवस्था मिलाइएको छ ।

मेलाको उद्घाटनमा प्रधानमन्त्री आउने भएपछि यो प्रदेशको विकास र समृद्धिको मागपत्र बुझाउने तयारी आयोजकले गरेका छन् । आयोजकले विभिन्न १४ बुँदे माग प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेका हुन् । माग पत्रमा यो प्रदेशको भौतिक विकास र आर्थिक समृद्धिमा राज्यले गर्नसक्ने कामहरू समावेश गरिएको अध्यक्ष अधिकारीले बताए । देशको कार्यकारी प्रमुख नै जिल्लामा आउने भएपछि आफूहरूले आर्थिक समृद्धिको मागपत्र बुझाउन लागेको अधिकारीको भनाइ छ ।

मागपत्र स्थानीय राजनीतिक दलहरूसँगको छलफल र सहमतिको आधारमा तयार पारिएको हो । यसपालीको मेला पहिलाको तुलनामा व्यवस्थापनमा गुणस्तरीय हुने संघले दाबी गरेको छ । यस्तै मेलामा थारु, मगर र नेवार जातिका स्टल पनि रहेका छन् । मेलाको आकर्षकको रूपमा ऊँट र चौरीगाई रहनेछन् । यस्तै कर्णालीको भेषभूषा पनि मुख्य आकर्षक रहने बताइएको छ । यो वर्षलाई लगानी वर्षको रूपमा घोषणा गरिएको भन्दै संघले मेलाले यो प्रदेशकै अर्थतन्त्र चलायमान हुने जनाएको छ ।

मेलामा दर्शकका लागि ४० र ५० रूपैयाँको टिकटको व्यवस्था गरिएको छ । आज पहिलो दिन भने टिकट लाग्नेछैन । मेलास्थलमा सुविधाको लागि फ्री वाईफाईको पनि व्यवस्था गरिएको छ । यसले पनि दर्शकलाई थप सुविधा प्रदान गर्ने आयोजकले अपेक्षा गरेका छन् । मेलाकै अवसरमा पारेर बुधवार वीरेन्द्रनगरमा सरसफाइ गरिएको छ । मेलाबाट प्राप्त भएको आम्दानी सामाजिक कार्यमा लगानी गरिने संघको भनाइ छ । यसअघि पनि संघले २०६४, २०६७ र २०७० मा मेला आयोजना गरेको थियो । विगतको भन्दा यसपालीको मेला फरक हुने बताइएको छ । मेलामा स्थानीय तथा घरेलु उत्पादनको पनि प्रदर्शनी गरिनेछ । हरेक मेला र महोत्सवमा नयाँ–नयाँ काम गर्दै आएको संघले यसपटक पनि केही नयाँ काम गर्ने भएको हो । विगतका मेलाहरूमा बालबालिका तथा सरसामान हराएको गुनासोलाई मध्यनजर गर्दै यसपटक मेलास्थलमा ४० वटा सीसी क्यामेरा जडान गरिएको छ ।

आदिवासी जनजातिहरूमध्ये जिल्लामा उपलब्ध आदिवासी जनजातिहरूले आफ्नो पहिचान झल्किने परम्परागत घर निर्माण गरी मौलिक परिकार खुवाउनुलाई मेलाको अर्को महत्वपुर्ण विशेषताका रूपमा लिइएको छ । छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश, पाकिस्तान र थाइल्याण्डका उत्पादनहरूको अलगै अन्तर्राष्ट्रिय स्टल पनि पहिलोपटक स्थापना गरिएका छन । सूचना प्रविधिको महत्वलाई मध्यनजर गर्दैे यसपटकको मेलामा क्यान इन्फोटेकका लागि अलग्गै पवेलियन निर्माण गरिएको छ । यस क्षेत्रमै पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको महोत्सवको अवसरमा खेलकुदतर्फ प्रदेशस्तरीय खुला भलिबल प्रतियोगिता र जिल्लास्तरीय कराँते प्रतियोगिता पनि आयोजना हुने भएका छन् ।

 

प्रकाशित मितिः   २३ मंसिर २०७३, बिहीबार १२:२६