धमाधम बन्दैछन् अक्सिजन प्लान्ट

कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरको सुरूआतीमा कर्णाली प्रदेशका अस्पतालहरूमा मेडिकल अक्सिजनको चरम अभाव भयो । त्यसबेला अस्पताल भर्ना भएकामध्ये अधिकांश कोभिड संक्रमितलाई अक्सिजन दिएर उपचार गर्नु परिरहेको थियो । स्वासप्रश्वासको जटिल समस्या भएका संक्रमितले कोरोना विशेष अस्पताल भरिएका थिए । कर्णालीका लागि आवश्यक अक्सिजन नेपालगञ्जलगायतका सहरहरूबाट भरेर ल्याउनुपर्ने बाध्यता थियो । बिरामीको चाप अत्यधिक हुँदा बाहिरबाट ल्याइएकाले पनि माग धान्ने अवस्था थिएन । प्रदेशमा अक्सिजनको हाहाकार थियो । जसले गर्दा कोरोनाका कतिपय गम्भीर बिरामीले समयमै अक्सिजन नपाउँदा ज्यानसमेत गुमाए ।

अक्सिजन अभावले अस्पतालहरूलाई बिरामी भर्नामा समस्या थियो । त्यतिबेलासम्म सुर्खेतस्थित प्रदेश अस्पताल र जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा मात्रै अक्सिजन उत्पादन हुन्थ्यो । त्यहाँ उत्पादन हुने अक्सिजनले ती अस्पतालहरूलाई नै पुगिरहेको थिएन ।

कोरोना संक्रमणको दोस्रो लहरमा अक्सिजनको निकै अभाव भोगेको कर्णालीमा अहिले भने विभिन्न स्वास्थ्य संस्थाहरूले धमाधम अक्सिजन प्लान्ट निर्माणको काम अघि बढाएका छन् । प्रदेश र स्थानीय सरकारले समेत स्वास्थ्य पूर्वाधारको विकाससँगै अस्पतालहरूमा अक्सिजन प्लान्ट जडानमा जोड दिएका छन् । दोस्रो लहर जस्तो आगामी दिनमा समस्या नहोस् भनेर प्लान्ट निर्माणमा प्राथमिकता दिइएको सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार नयाँ जडानको प्रक्रिया थालिएका र पुराना दुई वटा अक्सिजन प्लान्टसहित कर्णालीमा हाल ११ वटा ठूला तथा नौ वटा साना प्लान्ट हुनुपर्ने हो । ठूला ११ वटा अक्सिजन प्लान्ट मध्ये रुकुमपश्चिम र कालीकोटमा मात्र नयाँ प्लान्ट जडान भएर सञ्चालमा ल्याइएको छ । यी प्लान्ट २४ घण्टामा ४० वटा अक्सिजन सिलिण्डर भर्न सकिने क्षमताका हुन । अन्य क्षेत्रमा भने प्लान्ट जडानको काम भइरहेको छ । वीरेन्द्रनगर नगरपालिकामा प्लान्टको संरचना निर्माण र मेसिन जडानको काम सकिएको नगरप्रमुख देवकुमार सुवेदीले बताए । वीरेन्द्रनगर–७ स्थित कटकुवा नगर अस्पतालमा प्लान्ट जडान गरिएको हो । अहिले जडान सम्पन्न गरेर परीक्षणको काम भइरहेको छ । प्रमुख सुवेदीकाअनुसार उक्त प्लान्टबाट २४ घण्टामा एक सय ५० देखि एक सय ७० वटा सिलिण्डरसम्म भर्न सकिने छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रक अधिकृत श्याम आचार्यले प्रदेशका अधिकांश जिल्ला अस्पतालहरूमा अक्सिजन प्लान्ट निर्माणको काम भइरहेको जनाए । प्लान्ट जडानका लागि संघीय र प्रदेश सरकारसँगै स्थानीय तह, विभिन्न संघ–संस्था तथा दातृ निकायको सहयोगमा पनि कामहरू अघि बढाइएको हो । अधिकृत आचार्यले प्रदेशमा हाल तीन हजार एक सय ४७ वटा अक्सिजन सिलिण्डर रहेको बताए । त्यस्तै, अक्सिजन कन्सन्ट्रेटर एक हजार १९, एचडियू बेड एक सय ८५, आईसीयू २७, एनआईसीयू १८ र पिआईसीयू बेड आठ वटा रहेको निर्देशनलालयले जनाएको छ । निर्देशनालयका अनुसार डोल्पा र जाजरकोटमा भने अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढाइएको छैन ।

प्रदेश अस्पतालमा थप दुई वटा अक्सिजन प्लान्ट निर्माणको तयारी गरिएको छ । उक्त अस्पतालमा अहिले एउटा प्लान्ट मात्र सञ्चालमा छ । अस्पताल निर्देशक डा. डम्बर खड्का पहिलेको तुलनामा अक्सिजन व्यवस्थापन सहज भइरहेको बताउँछन् । कोरोनाको दोस्रो लहरमा जसरी अब अक्सिजनको अभाव नहुुने उनले जनाए । ‘हामीसँग कम क्षमताको एउटा मात्रै अक्सिजन प्लान्ट थियो । चरम अभाव भएपछि प्रदेश सरकारको सहयोगमा त्यसलाई सञ्चालनमा ल्याएका थियौं,’ उनले भने, ‘अब थप दुई वटा प्लान्ट बन्दैछन् ।’ दोस्रो लहरको सुरुआतमा प्रदेश अस्पतालामा खाली सिलिण्डरको पनि अभाव थियो । त्यसबेला ४० वटा सिलिण्डर मात्र रहेको अस्पतालमा अहिले दुई सय बढी सिलिण्डर व्यवस्थापन गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा एउटा मिनी अक्सिजन प्लान्ट छ । उक्त प्लान्टले दैनिक आठ वटासम्म सिलिण्डर भर्न मिल्छ । अस्पतालका ३२ वटा बेडमा पाइपलाइनमार्फत नै अक्सिजन सप्लाई गरिएको छ । त्यहाँ थप अक्सिजन आवश्यक परे नेपालगञ्जबाट ल्याउने गरिएको छ । परमिनेट एक हजार लिटर अक्सिजन उत्पादन हुने ठूलो क्षमताको प्लान्ट जडानको प्रक्रिया थालिएको अस्पतालले जनाएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका निर्देशक डा. राजिब शाहले उक्त प्लान्टका लागि डेण्डर प्रक्रिया भइसकेको बताए । अबको तीन महिनाभित्र प्लान्ट निर्माण सम्पन्न हुने उनको भनाइ छ ।

सुर्खेतको मेहेलकुना अस्पतालमा पनि प्लान्ट जडानको काम अघि बढाइएको छ । यस्तै, रुकुम–पश्चिमको चौरजहारी अस्पतालमा जडान भएको प्लान्टले दैनिक ३० देखि ४० वटा सिलिण्डर अक्सिजन उत्पादन गर्छ । नगर स्वास्थ्य शाखा प्रमुख डण्डप्रसाद शर्माले दुई हप्तादेखि प्लान्ट सञ्चालना ल्याइएको बताए । अहिले रुकुम–पश्चिममा मेडिकल अक्सिजनको अभाव नरहेको उनी बताउँछन् । त्यहाँ थप एउटा मिनी प्लान्ट बनाउने योजनासमेत रहेको शर्माले जानकारी दिए ।

यसैगरी, दैलेख जिल्ला अस्पतालमा प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको त्यहाँस्थित स्वास्थ्य सेवा कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए । ‘अबको एक हप्तामा सञ्चालन हुने देखिएको छ,’ उनले भने, ‘दैनिक ४० वटा सिलिण्डर भर्ने क्षमताको प्लान्ट जडान भइरहेको छ ।’

प्रकाशित मितिः   १६ भाद्र २०७८, बुधबार ०५:००