सडक सुधार गर

पूर्वाधार विकासका दृष्टिले पश्चिम सुर्खेत पछाडि परेको छ । विकासका आधारभूत पूर्वाधार नै निर्माण भएका छैनन् । निर्माण भएका पूर्वाधार पनि गुणस्तरीय छैनन् । यस्तैमध्येको एक हो, सडक । सडक विकासको प्राथमिक पूर्वाधार हो । यसकारण पनि राज्यको प्राथमिकतामा पर्ने गरेको छ । तर पश्चिम सुर्खेतका लागि भने सडक सुविधा पाउनु पनि मुस्किल छ । एक त पर्याप्त सडक छैनन्, भएका सडक पनि सुविधाभन्दा सास्ती हुनेखालका छन् । सिङ्गो पश्चिम क्षेत्रलाई जोड्ने मूल मार्ग नै जीर्ण छ । वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा छ । चुनावताका राजनीतिक एजेण्डा बन्ने गरेको सडक चुनाव सकिएसँगै सेलाउँछ । यो तीन दशकयताकै नियति हो ।

सदरमुकाम वीरेन्द्रनगरदेखि पश्चिमका तीन वटा स्थानीय तह नै सडक पूर्वाधारमा पछि परेका छन् । पक्कि सडकको अभाव छ । सदरमुकामसँगै जोडिएको बराहताल गाउँपालिका होस् या पञ्चपुरी नगरपालिका र सबैभन्दा पश्चिमको चौकुने गाउँपालिका, जहाँका नागरिकले यातायातको सहज सेवा लिन पाउँदैनन् । यस क्षेत्रमा धेरैजसो सडक पुरानै छन् । मर्मत–सम्भार नहुँदा नागरिकहरू बाह्रै महिना कष्टकर यात्रा गर्न बाध्य भएका हुन् । सडक सुधारमा तीनै तहका सरकारले चासो नदिएको स्थानीयको गुनासो छ । विकास ओसार्ने मुख्य माध्यम सडककै हालत बिजोग भएपछि पश्चिम सुर्खेतको समग्र विकासमा बाधा भइरहेको छ । सडक पूर्वाधार भरपर्दो नहुँदा अरु विकास निर्माणमा पनि असर पुगेको हो । सडक स्तरोन्नतिमा ध्यान नदिँदा यस क्षेत्रका नागरिकले वर्षाैंदेखि सास्ती भोग्नु परिरहेको छ । यहाँका सबैजसो सडक कच्ची छन् । जसले गर्दा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन् । अधिकांश सडक खण्डमा वर्षात्को समयमा गाडि नै चल्दैनन् । एम्बुलेन्ससमेत चल्ने अवस्था नभएपछि बिरामीलाई बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । पश्चिमको सडक समस्या नयाँ होइन । हरेक तहका निर्वाचनमा नेताहरूका लागि यिनै सडक प्रमुख एजेण्डा बन्छन् । झन्डै तीन दशकदेखि यस क्षेत्रमा सडक राजनीति चलिरहेकै छ । चुनावताका खुबै चर्चा हुने सडक सुधार भने कहिल्यै हुँदैन । भोट माग्दा प्राथमिकताका साथ प्रतिवद्धता जनाइए पनि त्यसपछि यो विषय विस्तारै ओझेल पर्छ । नागरिकका सास्ती भने बल्झिरहन्छन् ।

वि.सं. २०५० सालमा बड्डिचौर–बेनिघाट सडक निर्माणको काम थालिएको थियो । यो सडक निर्माण सुरू गरेकै २८ वर्ष भइसकेको छ । तर, त्यस क्षेत्रका बासिन्दा अझै यातायातको सहज पहुँचमा छैनन् । ग्राभेल मात्र गरिएको उक्त सडकमा नियमित गाडि गुड्दैनन् । यात्रुले डोरी लगाएर गाडि तान्नुपर्ने, धकेल्नुपर्ने र ढुङ्गा हालेर पास गराउनुपर्ने हैरानी छ । खोलामा पानीको बहाव बढ्दा घण्टौंसम्म कुर्नुपर्छ । अहिले त्यही सडक मदन भण्डारी राजमार्ग परेको छ । राजमार्गमा परेपनि सडक सुधार–विस्तारको कामले गति लिन सकेको छैन । बहाना बनाएरै दशक बिते । अब पनि बहानाबाजी गर्नु हुँदैन । ठूलो क्षेत्र र ठूलै संख्याका नागरिकलाई समेट्ने सडक योजना विकास, सुधार र स्तरोन्नितलाई स्थानीय, प्रदेश र संघीय तीनै सरकारले प्राथमिकता दिन अपरिहार्य छ ।

प्रकाशित मितिः   १४ भाद्र २०७८, सोमबार ०५:००