अष्टिम्की पर्वबारे अन्तरक्रिया
अष्टिम्की पर्वसम्बन्धी अन्तरक्रिया गरिएको छ । लखागीन थारु उत्थान मञ्च वीरेन्द्रनगर सुर्खेतको आयोजनामा थारु समुदायको पर्व अष्टिम्कीबारे शुक्रवार अन्तरक्रिया गरिएको हो ।
थारु समुदायमा मनाइने अष्टिम्की पर्व सामान्य औपचारिकतामा सीमित हुँदै गएकोले यसको संरक्षण तथा संवद्र्धनका लागि अष्टिम्की चित्रकलाको महŒवबारे अन्तरक्रिया गरिएको हो । यो पर्व थारु समुदायमा भदौ महिनाको कृष्ण जन्माष्टमीका दिन मनाउने गरिन्छ ।
कार्यक्रमका प्रमुख अतिथि जागुराम थारुले आफ्नै समुदायको पर्वबारे युवा पुस्ता अनभिज्ञ रहेको बताए । अष्टिम्की पर्वको महत्व थारु समुदायमा निकै नै रहेको बताउँदै उनले परम्परागत मुल्य मान्यतालाई आत्मसाथ गर्दै यसको सामाजिक तथा साँस्कृतिक महत्व बचाइ राख्नुपर्नेमा जोड दिए । ‘यस पर्वले सामाजिक एकता, सद्भाव एवम् दिदीबहिनी र दाजुभाइमा प्रगाढ सम्बन्ध विकास गर्ने हुनाले युवापुस्ताहरूले यसलाई जोगाउन जरुरी छ’ उनले भने ।
थारु बुद्धिजीवि तथा संस्कृतिविद् मानबहादुर चौधरी ‘पन्ना’ले अष्टिम्की पर्व विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनका अनुसार गाउँभरिका महिलाहरू एकै ठाउँमा जम्मा भइ मनाउने यो पर्व पछिल्लो समय त्यसरी मनाउन छोडिएकोमा चिन्ता गरे । उनले आफ्नो परम्परागत मूल्य मान्यताअनुसार मनाउनका लागि युवा पुस्तालाई आग्रह गरे । अष्टिम्की पर्वमा कान्हा, जोन्ह्या, पाण्डो, कौराओ, रैनी मछरिया, रूख, बाँदर, बग्घ्वा, गंगटो आदिको पूजापाठ गर्ने गरिन्छ ।
समाजसेवी सनिसरा महतमले अष्टिम्की पर्व र चित्रकलाको महŒवबारे कार्यपत्रले प्रस्तुत गरिन् । थारु महिला सभाको अध्यक्ष राजकुमारी चौधरीले अष्टिम्की पर्वको सामाजिक तथा साँस्कृतिक महत्वबारे जानकारी गराएकी थिइन् । थारु अगुवा टेकबहादुर चौधरी, बाँधुराम थारु, शेरबहादुर थारु, जेवि डेमनडौरा, लोकबहादुर चौधरी, लगायतले पर्वको बारेमा आआफ्ना मत राख्दै स्थानीय सरकारले पनि कर्णाली प्रदेशमा अल्पसंख्यक थारुहरूकोे संस्कृति जोगाउने कुरामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । थारु अगुवा कालुराम थारुको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मितिः ११ भाद्र २०७८, शुक्रबार ०५:००
साझा बिसौनी ।