अस्पताल निर्माणमै बेवास्ता

शिलान्यास भएको दश महिनासम्म प्रक्रियामै अल्झिए स्थानीय तह

गएको मंसिर १५ गते कर्णाली प्रदेशका विभिन्न स्थानीय तहका गरी ४२ वटा स्थानमा आधारभूत अस्पताल भवनको शिलान्यास गरियो । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) विनै हतारमा अस्पताल भवनको शिलान्यास भयो । भौतिक संरचना बनाउनु अघि डीपीआरलगायतका पूर्वतयारी नगरिँदा शिलान्यास भएको लामो समयसम्म पनि भवन निर्माण कार्य थालिएको छैन । शिलान्यास गरिएको झण्डै १० महिना भएको छ । यो अवधिसम्म केही पालिकाबाहेक धेरैजसोले टेण्डर प्रक्रिया नै सुरू नगरेका हुन् । धेरैजसो भवनको अहिलेसम्म डीपीआर समेत बनेको छैन । निर्माण गर्ने भनिएका आधारभूत अस्पताल पाँचदेखि १५ शैड्ढयासम्मका हुन् । शिलान्यास गर्न संघीय सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेशका मुख्यमन्त्री र सांसदहरू स्थानीय तहमा पुगेका थिए ।

शिलान्यास भएको दश महिनासम्म प्रक्रियामै अल्झिए स्थानीय तह

सोही समयमा कालीकोटको नरहरिनाथ गाउँपालिका–३ स्थित कुमालगाउँमा १५ शैड्ढयाको अस्पताल भवनको शिलान्यास गरिएको थियो । उक्त स्थानमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको छैन । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गलाल न्यौपानेले शिलान्यास गरिएको स्थानमा अस्पताल भवन निर्माणका लागि जग्गा नपुग्ने देखिएको बताए । ‘जमिन कम भएका कारण अस्पताल निर्माणको काम अघि बढाइएको छैन,’ उनले भने, ‘अहिले डीपीआर रिभिउ गर्ने काम गरिरहेका छौं ।’ उनका अनुसार शिलान्यास गरिएको भन्दा अर्काे ठाउँमा भवन निर्माणको तयारी थालिएको छ । जग्गाको टुङ्गो लागिसकेकाले यही आर्थिक वर्षमा निर्माण थालिने न्यौपाने बताउँछन् । अस्पताल निर्माणका लागि १८ करोड बजेटमध्ये गत आर्थिक वर्षमा तीन करोड रकम गाउँपालिकाले निकासा गरिसकेको उनले जनाए ।

यस्तै, सुर्खेतको चौकुने गाउँपालिका–४ बिजौरामा अस्पताल भवन निर्माणको प्रक्रिया बल्ल सुरू गरिएको छ । १८ महिनामा काम सक्ने गरी ठेकेदार कम्पनीसँग भवन निर्माणको सम्झौता भएको हो । १५ शैड्ढयाको अस्पताल निर्माणका लागि १२ करोड १६ हजार बजेट रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकेन्द्रबहादुर बुढाले बताए । दैलेखको गुराँस गाउँपालिका–४ मा समेत मंसिर १५ गते नै १५ शैड्ढयाको अस्पताल निर्माणको शिलान्यास भएको हो । उक्त पालिकामा पनि भवन निर्माणको काम हालसम्म थालिएको छैन । वडा नं. ४ का अध्यक्ष खड्कबहादुर शाहीले शिलान्यास भएको बाहेक भवन निर्माणका विषयमा आफूलाई कुनै जानकारी नभएको जनाए ।

गत कार्तिक २५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर ५, १० र १५ शैड्ढयाका अस्पताल निर्माण गर्न सम्बन्धित स्थानीय तहलाई पत्र पठाइसकेको र अर्थ मन्त्रालयमार्फत जग्गा प्राप्तिका लागि रकम समेत पठाइसकेको अवस्थामा पनि स्थानीय तहले डीपीआर तयार गरेका थिएनन् । कार्तिक २८ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवस्तरीय बैठकले देशभरका तीन सय ९६ वटा स्थानमा एकैसाथ अस्पताल भवन शिलान्यास गर्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो । सोही बैठकको निर्णय बमोजिम कर्णालीका ४२ वटा स्थानमा अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको थियो । तर, तीमध्ये अधिकांश पालिकाहरूमा अहिलेसम्म भवन निर्माणको कामले गति नलिएको हो । कर्णालीका ती आधारभूत अस्पताल निर्माण तथा स्तरोन्नतिका लागि संघीय सरकारले पहिलो चरणमा ५२ करोड ७६ लाख २० हजार बजेट विनियोजन गरेको थियो । पाँच शैड्ढयाका लागि ७० लाख, १० शैड्ढयाका लागि ८५ लाख र १५ शैड्ढयाका अस्पतालका लागि एक करोड बजेट सम्बन्धित पालिकामा पठाइएको हो ।

रुकुम–पश्चिममा तीन वटा स्थानीय तह आठबिसकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी गाउँपालिकामा १५÷१५ शैड्ढयाको अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो । जसका लागि संघीय सरकारले प्रत्येक अस्पताललाई एक÷एक करोड गरी तीन करोड रकम विनियोजन गरेको थियो । सल्यानका आठवटा तह वनगाड कुपिण्डे नगरपालिका, कपुरकोट गाउँपालिकामा, कुमाख गाउँपालिका, सिद्धकुमाख गाउँपालिका, छत्रेश्वरी गाउँपालिकामा, कालिमाटी गाउँपालिका, दार्मा गाउँपालिका र बागचौर नगरपालिकामा अस्पताल निर्माणका लागि जम्मा नौ करोड ७८ लाख ३० हजार बजेट विनियोजन गरिएको थियो । सल्यानका दुई वटा स्थानीय तह सिद्धकुमाख गाउँपालिका र बागचौर नगरपालिकामा दश÷दश शैड्ढया र अन्य स्थानीय तहमा १५÷१५ शैयाको अस्पताल निर्माण गर्ने गरी शिलान्यास भएको हो । उतिबेला हतारमा शिलान्यास गरिएका ती अस्पताल भवनहरू कतिपय स्थानीय तहले अझै निर्माणको प्रक्रिया समेत सुरू नगरेको पाइएको छ ।

त्यस्तै, डोल्पाका तीन वटा पालिकामा अस्पताल निर्माणका लागि सरकारले दुई करोड २८ लाख बजेट दिएको थियाो । जुम्लाको तिला गाउँपालिकामा १० र कनकासुन्दरी गाउँपालिकामा १५ शैड्ढयाको अस्पतालका लागि चार करोड आठ लाख ३० हजार रूपैयाँ विनियोजन भएको थियो । त्यहाँ पनि भवन निर्माणका काम सुरू भएका छैनन् ।

यसैगरी, सुर्खेतका सातवटा स्थानीय तह पञ्चपुरी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, चिङ्गाड गाउँपालिका, बराहताल गाउँपालिका, सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका र लेकवेशी नगरपालिकामा अस्पताल भवनका लागि जम्मा १० करोड दुई लाख बजेट दिइएको थियो । दैलेखका सात वटा स्थानीय तह नौमूले गाउँपालिका, चामुण्डा–विन्द्रासैनी नगरपालिका, गुराँस गाउँपालिका, आठबीस नगरपालिका, ठाटीकाँध गाउँपालिका र भैरबी गाउँपालिकामा १५÷१५ र महाबु गाउँपालिकाले १० शैड्ढयाको अस्पताल निर्माण गर्नेगरी नौ करोड ९६ लाख ३० हजार बजेट पाएका थिए । स्थानीय तहहरूले पर्याप्त तयारीविनै शिलान्यास गरिएकाले डीपीआर, जग्गा प्राप्तिलगायतका अन्य प्रक्रियाका कारण भवन निर्माणको काममा ढिलाइ भएको बताएका छन् ।

प्रकाशित मितिः   ९ भाद्र २०७८, बुधबार ०५:००