असुरक्षित सडक

लामो समयदेखि जीर्ण अवस्थामा रहेको वीरेन्द्रनगरभित्रका सडक सुधार गर्न थालिएको छ । सडक विस्तार, नाला सरसफाई, खाल्डाखुल्टी पुर्ने, भत्किएका सडक मर्मत गर्ने, कालोपत्रे गर्नेलगायतका काम धमाधम भइरहेका छन् । पुनर्निर्माणले पहिलेभन्दा यहाँका सडक व्यवस्थित र केही फराकिला बनेका छन् । साँघुरा र खाल्डाखुल्टी सडकले वर्षौंदेखि वीरेन्द्रनगरका बासिन्दाले हैरानी खेप्दै आएका थिए । गत वर्षसम्म निकै कुरूप देखिने अधिकांश सडक स्तरोन्नतिपछि फराकिला बनेका हुन् । जसले गर्दा आवागमन सहज मात्र भएको छैन प्रदेश राजधानीको सौन्दर्य समेत बढाएको छ । प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले राजधानीका सडक निर्माणमा प्राथमिकता दिएपछि अहिले वीरेन्द्रनगर सडक पूर्वाधारका दृष्टिकोणबाट सम्पन्न भएको छ । वीरेन्द्रनगरका मुख्य तथा सहायक गरी ३६ भन्दा बढी सडक स्तरोन्नति गरिएका भइरहेका छन् । तर सडक व्यवस्थित बनाउने नाममा निर्माण गरिएका संरचनालाई भने थप असुरक्षित बनाएको छ । जोखिम बढाएको छ ।

अहिले वीरेन्द्रनगरका विभिन्न स्थानमा ट्राफिक आइलाइन निर्माण गरिएको छ । भर्खरै कालोपत्रे गरिएका ती सडकका मुख्यचोकमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राखिएका त्यस्ता संरचनाले उल्टै जोखिम बढाएको पाइएको छ । मापदण्डअनुसार नबनाउँदा सडक सुरक्षाका संरचना नै असुरक्षाको कारण बनेका हुन् । अधिकांश आइलाइनहरू मापदण्डअनुसार जडान नभएको इन्जिनियरहरूले नै बताएका छन् । आवश्यक नपर्ने ठाउँमा पनि आइलाइन राख्दा यसले दुर्घटनाको जोखिम झनै बढाएको उनीहरूको तर्क छ । वीरेन्द्रनगरमा हालसालै निर्माण सम्पन्न भएका धेरैजसो सडक सातदेखि २१ मिटरसम्मका चौडा छन् । चौडाइ कम भएका ठाउँमा पनि अनावश्यक ट्राफिक सिग्नलहरू राखिएको सडक निर्माणका अनुभवी तथा जानकारहरू बताउँछन् । सवारी साधन घुमाउनै नमिल्ने गरी सडकमा आइलाइन राखिँदा समस्या हुने गरेको चालकहरूको पनि गुनासो छ । ठूला सवारी साधन त के कतिपय ठाउँमा साना सवारी पनि पास हुन मुस्किल छ । यसले एकातिर सडकलाई साँघुरो बनाएको छ भने अर्कोतिर दुर्घटना हुने खतरा पनि उत्तिकै छ ।

सडक व्यवस्थित गर्नु राज्यको दायित्व हो । यो नागरिकको सुविधाकै लागि बनाइने संरचना हो । सँगसँगै त्यसको सुधार र मर्मतमा पनि ध्यान दिनुपर्दछ । यसकै लागि ट्राफिक नियम पालना गराउन र जोखिम घटाउन विभिन्न संरचना निर्माण गर्नु अन्यथा हुँदै होइन । तर वीरेन्द्रनगरका केही स्थानमा मापदण्ड विपरीत साँघुरो सडकमा आइलाइन राखिएको छ । यसले दुर्घटना घट्नुको साटो बढ्ने जोखिम बढी हुन्छ । सडकमा ट्राफिक आइलाइन राख्नु राम्रो हो । तर सवारी साधन नै छिर्न नमिल्ने गरी संरचना बनाइँदा आइलाइनले दुर्घटना बढ्ने देखिन्छ । इन्जिनियरिङ्ग मापदण्ड विपरीत राखिएका आइलाइन तत्काल नसारे यसले दुर्घटना निम्तिन सक्दछ । यसतर्फ समयमै सचेत हुन जरुरी छ । साथै निर्माण गरिएका संरचनालाई सुधार गर्न आवश्यक छ । साँघुरो सडकमा त्यस्ता संरचना बनाउँदा सडक थप साँघुरो हुने र जोखिम बढाउने मात्रै हुन्छ ।

प्रकाशित मितिः   ३२ श्रावण २०७८, सोमबार ०५:००