एक शिक्षक, एक ल्यापटप

प्रविधिमैत्री शिक्षण सिकाइलाई जोड दिँदै वीरेन्द्रनगर–६ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत आइतवार विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक–कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक गणेशकुमार न्यौपानेले शिक्षण सिकाइलाई अझ सहज र गुणस्तरीय बनाउन प्रविधिको प्रयोग अपरिहार्य भएकोले सबै शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको जनाए । उनले प्रविधिको प्रयोगले शिक्षक र विद्यार्थी दुवैलाई फाइदा हुने विश्वास व्यक्त गरे ।

कक्षा एकदेखि १२ सम्म पढाई हुने उक्त विद्यालयमा सीटिइभीटीतर्फको तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ’ समेत पढाई हुने गरेको छ । अध्यापनलाई थप व्यवस्थित बनाउन स्मार्ट बोर्ड र इन्ट्रयाक्टिम बोर्डको समेत प्रयोग गरिएको जानकारी दिँदै प्रधानाध्यापक न्यौपानले अब ल्यापटपको पनि उपयोग गरिने जनाए ।

शिक्षकहरूलाई ल्यापटपका साथसाथै स्कुल व्याग, डायरीलगायतका सामग्री पनि वितरण गरिएको छ । ल्यापटप खरिदमा आधा रकम विद्यालयले अनुदान दिएको हो भने बाँकी शिक्षकहरूले नै थप गरेको जनाइएको छ । वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधिका थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   ३२ श्रावण २०७८, सोमबार ०५:००