वीरेन्द्रनगरका ट्राफिक आइलाइनः सडक सुरक्षा कि झन् जोखिम ?
पछिल्लो समय वीरेन्द्रनगरका सडक सुधार विस्तार गरिएका छन् । पहिलेभन्दा यहाँका सडक व्यवस्थित र केही फराकिला बनेका छन् । साँघुरा र खाल्डाखुल्टी सडकले वर्षौंदेखि वीरेन्द्रनगरका बासिन्दाले हैरानी खेप्दै आएका थिए । गत वर्षसम्म निकै कुरूप देखिने अधिकांश सडक स्तरोन्नतिपछि फराकिला बनेका हुन् । जसले गर्दा आवागमन सहज मात्र भएको छैन प्रदेश राजधानीको सौन्दर्य समेत बढाएको छ । प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले राजधानीका सडक निर्माणमा प्राथमिकता दिएपछि अहिले वीरेन्द्रनगर सडक पूर्वाधारका दृष्टिकोणबाट सम्पन्न भएको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले गरी यी सडक सुधारमा ४० करोडभन्दा बढी रकम खर्चिएका छन् । वीरेन्द्रनगरका मुख्य तथा सहायक गरी ३६ भन्दा बढी सडक स्तरोन्नति गरिएका हुन् ।
जीर्ण सडक पक्की र फराकिला त बने । तर, सडक दुर्घटनाको जोखिम भने घटेको छैन । भर्खरै कालोपत्रे गरिएका ती सडकका मुख्यचोकमा अहिले ट्राफिक आइलाइन जडान गरिएका छन् । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राखिएका भए पनि त्यस्ता संरचनाले उल्टै जोखिम बढाएको पाइएको छ । यी आइलाइनहरू इन्जिनियरिङ्ग मापदण्डअनुसार जडान नभएको इन्जिनियरहरूले नै बताएका छन् । आवश्यक नपर्ने ठाउँमा पनि आइलाइन राख्दा यसले दुर्घटनाको जोखिम झनै बढाएको उनीहरूको तर्क छ । वीरेन्द्रनगरमा हालसालै निर्माण सम्पन्न भएका धेरैजसो सडक सातदेखि २१ मिटरसम्मका चौडा छन् । चौडाइ कम भएका ठाउँमा पनि अनावश्यक ट्राफिक सिग्नलहरू राखिएको सडक निर्माणका अनुभवी तथा जानकारहरू बताउँछन् ।
सवारी साधन घुमाउनै नमिल्ने गरी सडकमा आइलाइन राखिँदा समस्या हुने गरेको चालकहरूको पनि गुनासो छ । ‘ठूला सवारी साधन त के कतिपय ठाउँमा साना सवारी पनि पास हुन मुस्किल छ,’ एक जना चालकले भने, ‘यसले एकातिर सडकलाई साँघुरो बनाएको छ भने अर्कोतिर दुर्घटना हुने खतरा पनि उत्तिकै छ ।’ सडकमा दैनिक ओेहोर–दोहोर गर्ने सर्वसाधारणको गुनासो पनि यस्तै छ, सडकमा राखिएका आइलाइनले झुक्काउँछन्, सवारी साधन पास गर्नै गाह्रो हुन्छ ।
सरकारी सेवानिवृत्त इन्जिनियर चेत अधिकारीले वीरेन्द्रनगरका केही स्थानमा मापदण्ड विपरीत साँघुरो सडकमा आइलाइन राखिएको बताए । यसले दुर्घटना घट्नुको साटो बढ्ने उनले जनाए । ‘सडकमा ट्राफिक आइलाइन राख्नु राम्रो हो,’ उनी भन्छन्, ‘सवारी साधन नै छिर्न नमिल्ने गरी संरचना बनाइँदा आइलाइनले दुर्घटना बढ्ने देखिन्छ ।’ उनले बीचमा राखिएका गोलो आइलाइन ठिकै भए पनि अन्य त्रिभूज आकारका आइलाइन भने हटाउनुपर्ने सुझाए । इत्राम स्कुलचोक र टेलिकम कार्यालय अगाडिका आइलाइन तत्कालै व्यवस्थित बनाइनुपर्ने इन्जिनियर अधिकारीले बताए । इन्जिनियरिङ्ग मापदण्ड विपरीत राखिएका आइलाइन तत्काल नसारे यसले दुर्घटना निम्तिने उनको भनाइ छ ।
वीरेन्द्रनगर–७ को शितल टोलदेखि सिटी बसपार्कचोकसम्म करिब ११ वटा चोक पर्छन् । गएको आर्थिक वर्षमा मुख्यगरी यीनै चोक भएर आउजाउ हुने सडकहरू स्तरोन्नति गरिएका थिए । शितल टोलचोक, गुरूङचोक, मुख्यमन्त्री निवासचोक, प्रदेशसभाचोक, डीआइजी कार्यालय अगाडिको चोक, शिवालयचोक, इत्राम स्कुलचोक, घण्टाघर, अख्तियार कार्यालय अगाडि एमाले पार्टी कार्यालयचोक र बसपार्कचोकलगायतमा पुग्ने सडकहरू फराकिला र कालोपत्रे गरिएका हुन् । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले गत आर्थिक वर्ष २०७७/०७८ मा यही क्षेत्रमा नालासहित सडक विस्तार र कालोपत्रेका लागि टेण्डर आह्वान गरेको थियो । सोही बमोजिमको काम ठेकेदार कम्पनीले सम्पन्न गरिसकेका छन् । सम्झौताअनुसार ती सडकका कतिपय ठाउँमा निर्माण गरिएका आइलाइन बनाउने जिम्मा भने ठेकेदार कम्पनीको थिएन । उक्त काम निर्देशनालय आफैले गरेको हो । सडक स्तरोन्नति गर्दा विभिन्न खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो ।
नवनिर्मित सडकका चार वटा चोकमा ट्राफिक आइलाइन बनाइएका छन् । श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय अगाडिको सडकमा चार वटा आइलाइन सिग्नल छन् । बिचमा एउटा गोलो आइलाइन छ । बाँकी तीन ठाउँमा त्रिभुज आकारका संरचना बनाइएको छ । त्यसले झन् सडक साँघुरो बनेको र दुर्घटनाको जोखिम निम्तने स्थानीयको गुनासो छ । मंगलगढीचोकमा बाटो फराकिलो भएका कारण सवारी चालकहरूले सहजै आवतजावत गर्न सक्छन् । तर, एमाले पार्टी कार्यालय अगाडि, इत्राम स्कुलचोक र टेलिकम कार्यालय अगाडिका आइलाइनको कारण दुर्घटना हुनसक्ने स्थानीयहरू बताउँछन् ।
पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालले विशेषज्ञको सुझाव र डिजाइनका आधारमा नै सडकमा आइलाइन निर्माण गरिएको बताए । सडक सुरक्षाका दृष्टिले आइलाइन निर्माण गर्नुपर्ने भएरै बनाइएको भन्दै उनले नागरिकहरूको गुनासोलाई सम्बोधन गर्न यसो गरिएको जनाए । यस्तै, साँघुरो बाटो भएपछि गति सीमित हुने र दुर्घटनाको जोखिम पनि कम हुने उनको तर्क छ । यदि ट्राफिक नियमविपरीत र सवारी चालकहरूलाई असजिलो भएको खण्डमा यसलाई सार्न सकिने भन्दै उनले पिचको भागभन्दा माथि नै आइलाइन राखिएकोले सडक नबिगारेरै सार्न सकिने बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आचार्य साँघुरो सडकमा त्यस्ता संरचना बनाइनु उपयुक्त नहुने बताउँछन् । अधिकांश सवारी चालक तथा व्यवसायीहरूले ती आइलाइनका कारण दुर्घटना बढ्न सक्ने गुनासो गरेको उनले सुनाए । ‘ठूला सवारी साधन छिर्दैनन्,’ उनले भने, ‘मझौला सवारीलाई समेत पास हुन धौ–धौ हुन्छ ।’ बीचमा राखिएको गोलो सिग्नल आइलाइन ठिकै भए पनि अन्य त्रिभुज आकारकालाई भने व्यवस्थित गरिनुपर्ने उनले बताए ।
यातायात इन्जिनियर हेमन्त तिवारीले ट्राफिक आइलाइन निर्माण गर्दा ट्राफिक काउन्ट गर्नुपर्ने बताए । उनले सडक सुरक्षाका लागि निर्माण गरिने आइलाइनमा रोटरी (बिचको गोलो भाग) राउण्ड अबाउट राख्दा सवारी साधन घुम्नुपर्ने र गति सुस्त हुँदा दुर्घटना कम हुने जनाए । उनका अनुसार आइलाइन कम्तीमा सात मिटरको दूरीमा हुनुपर्छ । यस्तै, ट्राफिक काउन्ट गरी कति सवारी साधन गुड्छन्, कति गतिमा कुद्छन् वा कति सवारी साधनले कुन टर्न लिन्छन् समेत अनुगमन गरेर मात्र यस्ता संरचना निर्माण गर्नुपर्ने हुन्छ ।
वीरेन्द्रनगरका चोकहरूमा हाल निर्माण गरिएका आइलाइनहरूको मापदण्ड र डिजाइन उनैले दिएका हुन् । साँघुरो सडक भएको र ठेक्का सम्झौता भइसकेपछि डिजाइन माग भएकाले कस्तो निर्माण भएको छ भन्नेबारे आफूलाई खासै जानकारी नभएको इन्जिनियर तिवारी बताउँछन् । नेपालमा आइलाइनको विषयमा कुनैपनि मापदण्डको विकास नभइसकेको अवस्थामा इन्डियन गाइडलाइनको आधारमा उक्त डिजाइन दिइएको उनले बताए ।
प्रकाशित मितिः ३१ श्रावण २०७८, आईतवार ०५:००
साझा बिसौनी ।