सक्रिय संक्रमित नौ सय बढी

कर्णाली प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण बढ्दो क्रममा छ । प्रदेशमा संक्रमण दर बढेसँगै दिनहँु नयाँ संक्रमित थपिने गरेका छन् । केही दिनयता सक्रिय संक्रमितको संख्या पनि बढेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बुधवार थप ६३ जनामा संक्रमण पुष्टि भएको छ । दुई सय ६३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन । निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार योसहित सक्रिय संक्रमितको संख्या नौ सय ३२ पुगेको हो । प्रदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित सुर्खेतका छन् ।

बुधवार सुर्खेतमा ३८, रुकुम–पश्चिममा आठ, मुगुमा पाँच, कालीकोट र दैलेखमा चार÷चार, जुम्लामा दुई र अन्य प्रदेशका तर कर्णालीमै रहेका दुई जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्म कर्णालीमा ३१ हजार एक सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार थप ५९ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या २८ हजार आठ सय ४३ पुगेको छ । अहिलेसम्म प्रदेशमा कोरोना संक्रमणका कारण तीन सय ५६ जनाको मृत्यु भएको छ ।

यस्तै, नेपालमा बुधवार तीन हजार चार सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५६ जनाको नमुना परीक्षण गर्दा तीन हजार चार सय ८१ मा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर सात लाख ९५ हजार तीन सय ९१ जनामा संक्रमण भएको छ । तीमध्ये ६ लाख ७५ हजार ८३ संक्रमणमुक्त भएका छन् भने १० हजार एक सय ८० जनाको ज्यान गएको छ । अहिले ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितमध्ये सात सय ९६ जनाको आईसीयू र एक सय ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः   २८ श्रावण २०७८, बिहीबार ०८:०५