नागरिक समाज सशक्त बन्नुपर्नेमा जोड

सीमान्तकृत समुदायको आवाज उठाउन नागरिक समाजको महŒवपूर्ण भूमिका रहने सरोकारवालाहरूले बताएका छन् । बुधवार समता फाउण्डेशनले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशमा नागरिक समाजको भूमिका, चुनौती र अवसर विषयक अन्तरक्रियामा सहभागीहरूले यस्तो बताएका हुन् । नागरिक समाजले राजनीतिसमेत नगर्न उनीहरूले आग्रह गरेका छन् । यसले गर्दा नागरिक समाजप्रति विश्वास घट्ने र राजनीतिक दलको ट्याग लाग्ने भएकाले यसतर्फ गम्भीर बन्नुपर्ने सरोकारवालाहरूको मत छ ।

विकासका हरेक क्षेत्रमा पछि परेको कर्णाली प्रदेशमा नागरिक सकाजको भूमिका थप सशक्त हुनुपर्ने समता फाउण्डेशनका कार्यकारी अध्यक्ष प्रदीप परियारले बताए । सीमान्तकृतको आवाज बाहिर ल्याउने भूमिकाले उक्त वर्ग र समुदायलाई ठूलो सहयोग पुग्ने उनी बताउँछन् । अध्यक्ष परियारले नागरिक समाजले आफ्ना भूमिकाहरूलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने भन्दै यसमा सबैको ध्यान जान जरूरी रहेको औंल्याए ।

टिपिओ नेपालका मनोविमर्शकर्ता तथा अधिकारकर्मी शर्मीला बिसीले नागरिक समाजमा राजनीतिक गन्ध आउनु विडम्बना भएको बताइन् । उनले भनिन्, ‘अहिले स्वतन्त्र नागरिक समाज भेटाउनै मुस्किल छ । कसैले स्वतन्त्र रूपमा नागरिक समाजको भूमिका निर्वाह गर्दा पनि राजनीतिक दलको ट्याग लाग्ने गरेको छ । जसले गर्दा भूमिका नै प्रभावकारी देखिँदैन ।’ आवाज संस्थाका सदस्य पुष्पा नेपालीले कर्णालीमा जातीय विभेदको विरुद्धमा पनि नागरिक समाजले आफ्नो भूमिकालाई सक्रिय बनाउन नसकेको बताइन् ।

त्यस्तै, किर्डाक नेपालका प्रदीप बोहोराले भ्रष्टाचारविरुद्धको कार्यक्रम र सीमान्तकृत वर्गका आवाज उठाउने सवालमा नागरिक समाज सशक्त भूमिकामा देखिनुपर्ने जनाए ।

प्रकाशित मितिः   २८ श्रावण २०७८, बिहीबार ०८:०५