राजनैतिक प्रक्रियामा युवा सहभागिता
नेपालको कानुनअनुसार १६ वर्ष उमेर पूरा गरेका र ४० वर्ष ननाँघेका व्यक्तिलाई युवा भनिन्छ । त्यस्तै संयुक्त राष्ट्र संघको परिभाषामा १५ वर्षदेखि २४ वर्ष उमेर समूहका सबै व्यक्तिहरू युवा हुन् । नेपालको सन्दर्भमा युवालाई राष्ट्रका खम्बा, देश निर्माणका अगुवा, आदि नामले पनि गुणगान गाएको पाइन्छ । हरेक वर्ष पर्ने विशेष दिनमा युवाका अनेक आयामको चर्चा गर्दै उनीहरूको सवाल र सहभागितामा खुब जोड दिइन्छ । तर लिखित कार्यक्रम र व्यावहारिक अभ्यासबीच अझैं पनि ठूलो अन्तर रहेको छ । यद्यपि त्यस सन्बन्धमा सार्थक कोसिस र अर्थपूर्ण प्रतिनिधित्वमा भने नेपालका राजनैतिक दलहरू विमुख देखिन्छन् । अर्को शब्दमा युवालाई नेपाली राजनैतिक नेतृत्वले बलियो र स्थायी भर्याङको रूपमा उपयोग गर्दै आएको छ । यदि कुनै चेतनाले वा बाह्य प्रभावले युवा शक्ति (भर्याङ) हलचल हुन लागेमा साइबर सेना जस्ता अनेक पद सिर्जना गरेर युवालाई तल्ला तहमै थन्काउने कार्य हुने गरेको छ । यसमा राजनैतिक दलहरूले संघीयतालाई नियमित राहात प्याकेजको रूपमा प्रयोग गरिरहेका छन् । किनकि यसले केन्द्रमा नेतृत्वमाथि चाप कम गर्न वरदानको भूमिका खेलेको छ ।
देशको मूल नीतिका रूपमा लिइने राजनीतिमा एकाध नयाँ सङ्गठनबाहेक कुनै पनि स्थानमा युवाको नेतृत्व छैन । नयाँ राजनैतिक दलको जन्म हुँदा बाहेक युवा पुस्ताले दलको अध्यक्षता गर्ने कुरा कल्पना गर्न सकिँदैन । किन कि जुन सङ्गठन नयाँ दलको रूपमा उदय हुन्छ, त्यो दल पहिलो अध्यक्षसँगै बुढो हुन्छ र कहिल्यै तन्नेरी हुन सक्दैन । हालसम्म भएका सबैजसो आमुल परिवर्तनमा युवाको सहभागिता निकै सबल र सशक्त मानिन्छ । यस्तै निजामती, सुरक्षा, खेलकुद लगायतका क्षेत्रहरू युवाविना खाली हुन्छन् । विकास निर्माणदेखि क्रान्तिसम्म यिनैका बलमा गर्न सम्भव छ भनि स्वीकार्ने राजनैतिक दलहरू नेतृत्व दिन भने चाहदैनन् । विडम्बना, नेपाली युवाहरू भने ती नेता र दलहरूको लागि मर्न–मार्न तयार देखिन्छन् । यो अपरिपक्व र स्वार्थी युवा नेतृत्वको परिणाम हो ।
नेतृत्वले आफु मातहतको ठूलो युवा जमातलाई शक्ति प्रदर्शन र स्वार्थ केन्द्रित आन्दोलनका कार्यक्रममा खुलेर उपयोग गर्दै आएको छ । २०५२ अघि नै अध्यक्ष बनेका प्रचण्डको दल माओवादी केन्द्रमा नेतृत्व नै बदलिन सकेको छैन । यस्तै नेपालमा दर्ता राजनैतिक दलहरूमध्ये कसैले पनि युवालाई नेतृत्व दिएर आफूले मार्गदर्शनका लागि सहयोगी भूमिका खेलेको पाइँदैन । पुराना पार्टीहरू नेपाली कांग्रेस, एमालेजस्ता दलहरूमा सपनामा पनि युवा नेतृत्व देखापरेको छैन । यसर्थमा नेपालका कुनै पनि दलहरूले राजनैतिक प्रक्रियामा ‘जसको सवाल उसकै नेतृत्व’ भन्ने मर्मको ठीक विपरित अभ्यास गरिरहेका छन् । किनभने यहाँ पुरातन सोच र त्यसको उपज अंकुश लगाउन बनाइएका कानुनी प्रावधान हाबि छन् । नतिजामा युवाको नेतृत्व पनि ४० कटेकाहरूले गरिरहेका छन् ।
देशको अधिकांश जनसंख्या ओगटेको युवा वर्ग नेताको चाकरी र स्वार्थको हितमा सिमित छ । त्यसबाट बचेको संख्या वैदेशिक श्रम बजारमा आफ्नो पसिना कौडिको मूल्यमा बेचेर भए पनि आफ्नो परिवार तथा देशका लागि पैसाको जोहो गर्न केन्द्रीत छ । चाकरी गर्ने र आफ्नो शक्ति देखाएर नेतृत्वको मन जित्न मात्रै युवालाई प्रेरित गर्ने गरिन्छ । अर्थात् नेपाली युवाहरू राजनैतिक सहभागिताको नाममा एक अर्काविरुद्ध लड्ने र अदुरदर्शी नेतृत्वकै भरणपोषणमा दत्तचित्त देखिन्छन् । यसको कारक युवा सङ्गठनको वर्तमान नेतृत्व हो । किन कि परिपक्व नेतृत्व निर्माणमा भूमिका खेल्नुको सट्टा युवा सङ्गठनहरूका मालिकहरू दलमा अर्को पद सुनिश्चित नहुञ्जेलसम्म त्यही पदबाटै आर्यघाट जान चाहान्छन् ।
नेपालमा युवा सहभागिता दुई ठाउँमा देख्न सकिन्छ; पहिलो वैदेशिक श्रम बजारमा र दोस्रो दलहरूको शक्ति प्रदर्शनका लागि । बाँचुञ्जेल उच्च पदमा रहिरहनुपर्छ भन्ने खराब मान्यता नेतृत्वले अङ्गाल्दा त्यसको प्रतिफल युवाहरूमा देखिनु स्वभाविकै हो । तर त्यसले पार्ने नकारात्मक प्रभाव झनै खतरनाक देखिन्छ । २०७३ मा भएको त्रि.वि. को स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २८ वर्षे उमेरहदका कारण आफूले नेतृत्व नपाउने देखेपछि केही व्यक्तिहरूको निजी स्वार्थले केन्द्रीय क्याम्पस लगायत क्याम्पसहरूमा निर्वाचन नै हुन सकेन । हाल कांग्रेसको महाधिवेशन पनि पाको पुस्ताबाट नेतृत्व खोसिने होकि भन्ने चिन्ताले ब्याकुल छ । ने.क.पा. एमालेका अध्यक्ष केपि शर्मा ओलीले आफु ७० वर्ष पुगेपछि नेतृत्वमा रहिरहन ७० वर्षीय अनिवार्य उमेरहद संशोधनको लागि विधान अधिवेशन गर्न लागेको बताइन्छ ।
हुन त प्रजातन्त्रका मालिकदेखि गणतन्त्रका कथित प्रवर्तकसम्म कसैले युवाका लागि आफ्नो कुर्सी खालि गर्न सकेका छैनन् । आफ्नो अनुकुल परिचालन गर्न र युवाले गरेका असल कामको जस लिने हेतुले युवाको पक्षमा चिच्याउन पनि छोडेका छैनन् । यसर्थमा देश विकासका खम्बा मानिने युवालाई स्वस्थ प्रतिस्पर्धाको आधारमा हरेक क्षेत्रमा उचित सहभागिताको अवसर प्रदान गर्नु हालको आवश्यकता हो । दलहरूले कार्यकर्ताहरूलाई तरुण दल, वाइसीएल र युथफोर्स जस्ता स्थानमा नेतृत्व सिकाउनु पर्छ तर अलमलाउने नीति त्याग्नुको विकल्प छैन ।
राज्यमा हुने हरेक सामाजिक र कानुनी परिवर्तन राजनैतिक इच्छाबाट निर्देशित हुन्छ । यसर्थमा युवाका लागि गरिएका कानुनी व्यवस्थाको श्रेय पनि राजनैतिक दल र त्यसको नेतृत्वलाई जान्छ । युवा दिवसमा राज्यको साँचो थमाएझैं गरी युवाका सवालहरू उठाइन्छ । युवा सहभागिताको प्रत्याभूति गरेको भनि भाषण गर्ने दलहरूको सहमतिमा बनाइएका कानुनमा भने अंकुशको कमी छैन । कानुनले पनि नछेके वरिष्ठताको अस्त्रले कतिपय युवाहरूलाई नेतृत्वको पंक्तिबाट अलग गरिन्छ । यदि त्यो पनि अपर्याप्त भएमा भने अरूबाट परिचालित भएको आरोपमा युवाको दलीय धरातल कमजोर बनाउने र आफ्नै पछि कुदाइरहने प्रवृति सबैजसो दलका शीर्ष नेतामा विद्यमान छ ।
नेपालको संविधान–२०७२ अनुसार मतदान गर्न १८ वर्ष पुगेको हुनुपर्छ । यस्तै गाउँ तथा नगरसभाको उम्मेदवार बन्न कम्तीमा २१ वर्ष र सांसद बन्न २५ वर्ष उमेर पुग्नुपर्ने कानुनी व्यवस्था छ । त्यति मात्र नभइ राष्ट्रिय सभाको सदस्य बन्न कम्तीमा ३५ वर्ष र राष्ट्रपति लगायत संवैधानिक आयोगहरूमा काम गर्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ । यस प्रकार नेपालमा राष्ट्रपति, संवैधानिक आयोगको सदस्य र राज्यका माथिल्ला श्रेणीमा काम गर्न युवाहरू पाउँदैनन् । सरकार प्रमुख प्रधानमन्त्री रहने हाम्रो देशमा प्रधानमन्त्री बन्न कम्तीमा प्रतिनिधिसभाको सांसद, सम्बन्धित दलको अध्यक्ष, संसदीय दलको नेता र संसद्का सदस्यहरूको बहुमत प्राप्त गर्नुपर्छ । यसरी चार वटा तह पार गर्दा कुनै पनि व्यक्तिलाई युवा अवस्थामा शतप्रतिशत अवसरबाट वञ्चित हुनुपर्ने बाध्यता छ । किन कि दलको अध्यक्ष हुन कम्तीमा ५० कटेको हुनुप¥यो; हडपेर बस्न सक्ने तागत अनि जिन्दावाद भन्नेको जमात पनि चाहियो । अर्कोतिर १८ वर्षदेखि नै कुनै दलको पछि लागेपनि चाकरी नपुग्दा समय मात्रै खेर जाने सम्भावना पनि रहन्छ । सांसद जित्न २५ वर्षको उमेर कुर्ने र त्यसपछि दलका हरेक गतिविधिको सतर्कतापूर्वक उग्र बचाऊमा उत्रिएन भने त्यही स्थानबाट खेल सकिन्छ ।
पाको पुस्ता पनि सैद्धान्तिक विचलनका कारण समूहमा विभाजित हुने हुँदा युवाका लागि अर्को काम पनि थपिन्छ । आफ्नो बाटो छेक्नेको खुट्टा तान्ने, आवश्यक पर्दा छिमेकि र दाजुभाइसँग पानी बाराबार गर्ने तथा शीर्ष नेताको मन जित्ने गरी उनीहरूकै वरीपरी घुमिरहनु वास्तवमै चुनौतिपूर्ण काम हो । त्यसमा पनि आफ्नो प्यानल कमजोर परेमा खेल सेमिफाइनलमै टुङ्गिन सक्छ । यति लामो संघर्ष गर्दा युवाहरू उत्तरवयस्क अवस्थामा प्रवेश गर्दछन् । यस्तो कठिन र भाग्यमानी बाटोबाट अगाडि बढेपछि मात्रै ‘म दलको अध्यक्षमा उठ्छु’ भन्ने वाक्य उच्चारण गर्न पाइन्छ । अतः नेपालमा युवाको राजनैतिक सहभागिताबारे मौखिक रूपमा जतिसुकै शब्दजाल बुनेर प्रस्तुत गरेपनि व्यवहारमा युवा छान्ने फिल्टर उत्तरवयस्कभन्दा कम उमेरकालाई छिर्न नदिने संयन्त्रको रूपमा काम गरिरहेको छ । आफू सत्तामा पुग्दा यिनै युवाहरू हिजोका दिनमा हाम्रै कारण सडकमा थिए भन्ने कुरा बिर्सिनाले युवाको भावना र योगदानको ठूलो अवमूल्यन भएको छ ।
जहानियाँ राणा शासन सकिएको सात दशक र लोकतान्त्रिक गणतन्त्र आएको पनि १३ वर्षभन्दा बढी भएको छ । यसअवधिमा आधा दर्जन प्रधानमन्त्रीका अनुहार देखिए । तर तीमध्ये कोही पनि ५० वर्ष उमेरभन्दा कम समूहका छैनन् । हाल संघीय संसद्मा १३%, प्रदेश सभामा २३% र स्थानीय तहमार्फत ३९% युवाहरू मात्र नीति निर्माण र राज्य सञ्चालनका निकायमा पुगेका छन् । संघको तुलनामा स्थानीय निकायमा प्रतिनिधित्व सन्तोषजनक मानिए पनि देशको कुल जनसंख्याको ४०% बढी स्थान ओगटेको वर्गको औशत प्रतिनिधित्व करिब २५% मात्रै देखिन्छ । यसले पनि पुष्टि हुन्छकी, नेपालमा युवाको राजनीतिमा सहभागिता ‘हात्तिका देखाउने दाँत’ जस्तै छ । सोझो भाषामा उल्लेख गर्दा नेपालमा राजनैतिक दलका नेतृत्वबाट युवालाई विभिन्न आशा देखाएर आफ्नो शक्ति आर्जन गर्ने हतियारको रूपमा व्यवहार गर्ने गरिएको पाइन्छ ।
युवाहरू हरेक पक्षमा आशातित परिवर्तनका सम्बाहक हुन् । त्यसैले उनीहरूमा भएको परिकल्पनालाई साकार पार्ने अवसर प्रदान गर्नु युवा सङ्गठनको नेतृत्व गरेकाहरूको परम् कर्तव्य हो । राजनैतिक दलका वृद्ध नेताहरूले आफ्नो विकल्पमा उनीहरूलाई उचित व्यवस्थापन गर्ने हो भने नविन चेतनासहित सक्षम र प्रगतिशील नेतृत्व प्रदान गर्न पनि सक्छन् । त्यसैले ‘एक पद एक व्यक्ति’को कुरालाई दलगत विधान मार्फत् सङ्गठनमा कार्यान्वयन गर्नुपर्छ । देशको कार्यकारी पदमा पनि एकै व्यक्तिलाई दोहो¥याइरहने हो भने युवामा राष्ट्रियताको भावना कमजोर बन्न सक्नेतर्फ सबै राजनैतिक दलहरूको ध्यान जानुपर्दछ । हाल विद्यमान कानुनी प्रावधानलाई युवामैत्री बनाउँदै सामाजिक पुरातन सोच पनि त्याग्नु जरुरी छ । युवा सङ्गठनको नेतृत्व गरिरहेकाहरूले आफ्नो कार्यकालपछि अरूलाई परिपक्व नेतृत्व गर्न सघाउनुपर्छ । यो नै सही अर्थमा युवाको राजनैतिक कदर र सहभागितामा आधारित युवा जागरण हो ।
हरेक राजनैतिक नेताले आफ्नो विकल्प पनि तयार पार्दै जाने र आफुबाहेक विकल्प कोही छैन भन्ने सोच त्यागेर अघि बढ्नु आजको महŒवपूर्ण आवश्यकता हो । राजनैतिक बाहेक अन्य क्षेत्रमा युवाले अवसर पाएकै कारण आज उनीहरू सक्षम भएका हुन् भन्ने सत्यलाई मनन् गर्दै उचित राजनैतिक प्रतिनिधित्व गराउन दलहरूले अब चुक्नु हुँदैन । नत्र भने यसपछिको पुस्ता पनि आफ्नो बाहेक विकल्प नसोची आउने छ र त्यसले राजनैतिक गतिविधिलाई आजको जस्तै अन्योलमय बनाइरहनेछ । तसर्थ अर्थपूर्ण राजनैतिक सहभागिता मार्फत युवा प्रतिनिधित्वको अभ्यास गर्ने र भावि समयका लागि कुशल नेतृत्व तयार गर्ने काममा युवालाई पर्याप्त भूमिका दिइनुपर्दछ ।
प्रकाशित मितिः २७ श्रावण २०७८, बुधबार ०५:००
साझा बिसौनी ।