आय–व्यय सार्वजनिक

सुर्खेतमा कोभिड–१९ सेल्फ हेल्प समूहको नामबाट सञ्चालित अभियानमा जम्मा भएको रकमको आय–व्यय सार्वजनिक गरिएको छ । कोरोना भाइरसको दोस्रो लहर सुरू भएपछि मेडिकल अक्सिजन सिलिन्डर खरिदका लागि लागि ‘मेरो एक हजार अभियान’ सञ्चालन गरिएको थियो ।

उक्त समूहले मंगलवार पत्रकार सम्मेलन गरेर अभियानमा संकलन भएको रकम र खर्चबारे जानकारी गराएको हो । अभियानमा देश तथा विदेशबाट विभिन्न व्यक्ति एवम् संस्थाले गरी १२ लाख ६१ हजार चार सय ३५ रूपैयाँ संकलन भएको अभियानका संयोजक सुदीप पुरीले बताए ।

कर्णाली प्रदेश अस्पतालमा अक्सिजन सिलिण्डरको चरम अभाव भएपछि केही युवाहरूको समूहले उक्त अभियान सञ्चालन गरेको थियो ।

अभियान अन्तर्गत अभियानकर्ताहरू सुदीप पुरीको बैंक खातामा तीन लाख ९४ हजार चार सय ९५, मिलन श्रेष्ठको खातामा पाँच लाख ४६ हजार नौ सय ५१, धर्मराज आचार्यको खातामा ७७ हजार आठ सय २२ रूपैयाँ र टिमले सुरुवात गरेको सनराईज बैंकको खातामा दुई लाख ४२ हजार एक सय ६७ रूपैयाँ जम्मा भएको बताइएको छ ।

सो रकममध्ये कर्णाली प्रदेश अस्पतालमा आठ दिनसम्म दैनिक एक सय रूपैयाँका दरले एक सय ५० जना बिरामी कुरुवा र स्वास्थ्यकर्मीलाई एक लाख २० हजार बराबरको पोषिलो खाजा वितरण गरिएको अभियानकर्ताले बताएका छन् । त्यस्तै, अक्सिजन सिलिण्डर रिफिल खर्च ७६ हजार आठ सय ४२, एक थान अक्सिजन सिलिण्डर खरिदमा २५ हजार, सेनिटाइजर खरिदमा ४५ हजार ६ सय र ६ वटा शव व्यवस्थापनका लागि मृतकका आफन्तलाई समूहले सहयोग स्वरूप ३० हजार रूपैयाँ दिएको छ ।

यसैगरी एम्बुलेन्स सञ्चालन गर्न ५५ हजार सात सय रूपैयाँ खर्च भएको जनाइएको छ । खरिद गरिएको एक थान सिलिण्डर र १० थान अक्सिमिटर बचेको भन्दै अभियानकर्ताले कोरोना जोखिम पुनः बढेकाले सहयोग स्वरूप वितरण गर्ने तयारी गरिएको बताएका छन् । अभियानमा संकलित कूल रकममध्ये तीन लाख ५५ हजार तीन सय ४२ रूपैयाँ खर्च भएको तथा आठ लाख ८४ हजार चार सय १८ रूपैयाँ समूहको खातामा जम्मा गरिएको बताइएको छ । उक्त रकमसहित अन्य आर्थिक स्रोत जुटाएर एम्बुलेन्स किन्ने तयारी गरेको अभियानकर्ताले
बताएका छन् ।

प्रकाशित मितिः   २७ श्रावण २०७८, बुधबार ०४:५८