राउटे समुदायमा स्वास्थ्य परीक्षण

लोपोउन्मुख राउटे समुदायमा स्वास्थ्य परीक्षण गरिएको छ । राउटे, लोपोउन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपाल, कर्णाली प्रदेशको आयोजनामा सोमवार ५० जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।

हाल सल्यानको कालिमाटी गाउँपालिका–५ स्थित काल्चेको चिसापानीमा बस्दै आएका छन् । एक महिनाको अवधिमा सो समुदायका तीन जनाको मृत्यु भएपछि स्वास्थ्य परीक्षणका लागि शिविर सञ्चालन गरिएको बताइएको छ । प्रतिष्ठान प्रदेशका अध्यक्ष कृष्णा रेग्मी ओलीले स्वास्थ्यकर्मीको टिम लिएर राउटे समुदायमा स्वास्थ्य परीक्षण गरिएको जनाइन् । उनका अनुसार राउटेको जनसंख्या एक सय ४० रहेको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेसहितको चिकित्सकहरूको टोलीले राउटे समुदायमा पुगेर स्वास्थ्य परीक्षण गरेको हो ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत वाग्लेले स्वास्थ्य परीक्षणको क्रममा छालाको समस्या, आँखा पाक्ने, ढाड दुख्ने, बालबालिकाहरूमा कुपोषण र घाउ तथा चोटपटक लागेको पाइएको बताए । ‘हामीले करिब ५० जनाको स्वास्थ्य परीक्षण गर्‍यौं । उहाँहरू धेरैजसोमा दीर्घरोगको समस्या छ,’ उनले भने, ‘आवश्यक औषधि र स्वास्थ्य सावधानीबारे सचेत हुन सुझाएर फर्कियौं ।’

प्रकाशित मितिः   २६ श्रावण २०७८, मंगलवार ०५:००