फेरि थपियो निषेधाज्ञा

जिल्लामा साढे तीन महिनादेखि जारी निषेधाज्ञा फेरि थप गरिएको छ । निषेधाज्ञा अरू १० दिन थपिएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतले गएको वैशाख १४ देखि लागू गरेको निषेधाज्ञा साउन ३२ गतेसम्म लम्ब्याइएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो समय सबै क्षेत्र खुकुलो बनाउँदै लगिए पनि निषेधाज्ञा भने कायमै राखिएको छ ।

बिहान ८ देखि साँझ ७ बजेसम्म बजार खोल्न पाइने

जिल्ला प्रशासन कार्यालयले कोरोना जोखिम रहिरहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको जनाएको छ । जोखिमजन्य गतिविधि रोक्न तथा संक्रमण नियन्त्रण, रोकथाम, निदान र उपचारलाई सहज बनाउन निषेधाज्ञा कायमै राखिएको हो । लामो समय बन्द भएका सबैजसो क्षेत्र अहिले सञ्चालनमा आइसकेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै बजार तथा सार्वजनिक स्थानहरूमा बढेको भिडभाड व्यवस्थापन गर्न प्रशासन कार्यालयले निश्चित मापदण्ड बनाइ सोहीअनुसार गर्न÷गराउन आदेश जारी गरेको छ । यसअघि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म बजार सञ्चालन हुँदै आएको थियो । प्रशासनले अबदेखि भने बिहान ८ देखि साँझ ७ बजेसम्म बजार खोल्न पाइने जनाएको छ । बजार खुल्ने समय बिहान र बेलुका एक–एक घण्टा थप गरिएको हो ।

प्रशासन कार्यालयले जारी गरेको आदेशमा सभा, सम्मेलन, तालिम, गोष्ठी, सेमिनार, फुटसल, जिमखाना, सिनेमा हल, सैलुन, ब्यूटीपार्लरलगायतका व्यवसाय सञ्चालन गर्न अझैं रोक लगाइको छ । आदेशको अवज्ञा गरे कोभिड संकट व्यवस्थापन अध्यादेश तथा स्थानीय प्रशासन ऐन बमोजिम सजाय गरिने प्रशासन कार्यालयले जनाएको छ । यद्यपि सुर्खेतमा यी मध्ये अधिकांश व्यवसाय निर्वाध रूपमा सञ्चालन हुँदै आएका छन् । जारी निषेधाज्ञाको अवज्ञा भइरहँदा पनि त्यस्ता व्यवसाय सञ्चालनमा प्रशासनले रोक लगाउन सकेको छैन । आदेशमा फुटपाथ तथा खुल्ला स्थानमा गरिने व्यवसायमा समेत रोक लगाइएको छ । तर, ती व्यवसाय पनि सञ्चालन भइरहेका छन् । निषेधाज्ञाको पालना भए÷नभएको अनुगमन तथा नियमन गर्ने निकाय यसमा चुकेको छ ।

प्रकाशित मितिः   २३ श्रावण २०७८, शनिबार ०५:००