९० जनामा संक्रमण पुष्टि

पछिल्ला दिनमा कर्णाली प्रदेश कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण पुनः बढ्न थालेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बिहीवार थप ९० जनामा संक्रमण पुष्टि भएको छ । दुई सय २७ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण भेटिएको छ । यो संक्रमण दर ४२ प्रतिशत हो ।

बिहीवार सुर्खेतमा ३६, जुम्लामा १६, कालीकोटमा १०, हुम्लामा नौ, दैलेखमा पाँच, मुगुमा चार र सल्यान एक तथा कर्णालीमै रहेका अन्य प्रदेशका चार जनामा कोरोना पुष्टि भएको छ । सोही दिन ३३ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३० हजार ६ सय ६२ पुगेको छ । तीमध्ये २८ हजार चार सय ७१ जना निको भएका छन् । तीन सय ५३ जनाको कोरोनाका कारण ज्यान
गएको छ ।

अहिले फेरि संक्रमणको दर बढ्दै गएको निर्देशनालयले जनाएको छ । खुकुलो बनाउँदै लगिएको निषेधाज्ञामा पुनः कडाइ गरिएको छ । संक्रमणको जोखिम बढेसँगै जारी निषेधाज्ञामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् । निषेधाज्ञा खुकुलो पारिएपछि भिडभाडजन्य गतिविधि बढेका थिए । संक्रमणदर बढेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र सतर्कता अपनाउन चिकित्सकहरूले सुझाएका छन् ।

यस्तै, देशभर थप तीन हजार नौ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार चार सय आठ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण फेला परेको हो । परीक्षण गरिएकामध्ये २१ दशमलव ३९ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा हालसम्म संक्रमित हुने संख्या सात लाख ७३ हजार आठ सय ६० पुगेको छ । त्यसमध्ये ६ लाख ६३ हजार ६ सय ६३ जना निको भएका छन् । कोरोना संक्रमित नौ हजार नौ सय ९४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   २२ श्रावण २०७८, शुक्रबार १०:३८