एमालेका चार सांसद पदमुक्त

प्रदेशसभामा एमाले थप कमजोर, माओवादी–कांग्रेस सत्ता समीकरण झनै बलियो

प्रदेशसभामा एमाले थप कमजोर, माओवादी–कांग्रेस सत्ता समीकरण झनै बलियो

कर्णाली प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिने नेकपा (एमाले)का चार सांसद पदमुक्त भएका छन् । ती सांसदहरूमाथि एमालेले गरेको कारबाही सर्वोच्च अदालतले सदर गरेको छ । एमालेको भ्याकेट सदर भएपछि कर्णाली प्रदेशसभाका सांसद प्रकाश ज्वाला, अम्मर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको पद गुमेको हो ।

दलको ह्वीप विपरीत एमालेमा चार सांसदले गएको वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसलगत्तै उनीहरूलाई पार्टीले कारबाही गरी एमालेको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको थियो । पार्टी निर्णयविरुद्ध ती सांसदहरू आफूहरूको पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।

सोमवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले संसदीय दलको निर्णय विपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल नभएको ठहर गरेको छ । यसअघिको २७ जेठमा सर्वोच्च अदालतले एमालेको १०औं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेपछि उनीहरूको पद केही समयका लागि जोगिएको थियो । एमालेले त्यसविरुद्ध भ्याकेटमा गएको थियो । एमालेबाट पदमुक्त भएका ज्वालाबाहेक अरू तीन जना मन्त्री छन् ।

सर्वोच्चको आदेशसँगै एमालेका चार सांसद घटेपछि कर्णालीमा माओवादी केन्द्र नेतृत्वको सरकार स्पष्ट बहुमतमा पुगेको छ । ४० सदस्यीय प्रदेशसभा अहिले ३५ मा झरेको हो । माओवादी केन्द्रले यसअघि नै आफ्ना एक जना सांसदलाई पदमुक्त गरिसकेको छ । अब कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । चार सांसद पदमुक्त भएपछि संसद्मा एमाले थप कमजोर बनेको छ भने माओवादी र कांग्रेसबीचको अहिलेको सत्ता समीकरण झनै बलियो भएको छ ।

प्रकाशित मितिः   १९ श्रावण २०७८, मंगलवार ०९:०९