नाम मात्रको निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार अहिले सुर्खेतमा निषेधाज्ञा छ । कोरोना भाइरसको चेनब्रेक गर्ने उद्देश्यले वैशाख दोस्रो सातायता निरन्तर लम्ब्याउँदै लगिएको निषेधाज्ञा साउन २२ गतेसम्म पु¥याइएको छ । प्रशासनले निषेधाज्ञा कायमै रहेको बताए पनि सार्वजनिक स्थानमा भने त्यसको कुनै छनक देखिँदैन । मानिसहरूका गतिविधि सामान्य अवस्थामा झै छन् । स्थानीय प्रशासनले केही क्षेत्र खुलाएर निषेधाज्ञा खुकुलो बनाएको जनाएको छ । प्रशासन कार्यालयद्वारा जारी आदेशमा कतिपय व्यवसाय र गतिविधि गर्न पूर्णरूपमा रोक लगाइएको छ । तर, प्रशासनले सञ्चालन नगर्न भनेका व्यवसाय र भिडभाडजन्य गतिविधि निर्वाध रूपमा चलिरहेका छन् । निषेधाज्ञा जारी गर्ने तर त्यसको कार्यान्वयन तथा नियमनमा बेवास्ता गर्दा सुर्खेतमा पनि निषेधाज्ञा छ र ? भन्ने अवस्था देखिएको हो ।

वीरेन्द्रनगर–७ का अखिलेश शर्मा यस्तो नाम मात्रको निषेधाज्ञाको औचित्य नभएको बताउँछन् । ‘बजारमा दैनिकजसो स्वास्थ्य मापदण्ड नअपनाई जुलस र सभाहरू भइरहेका छन् । निषेधाज्ञा नियमन गर्ने निकायले उल्टै उनीहरूको सुरक्षा दिइरहेको छ’, उनले भने, ‘यसरी गरिएको निषेधाज्ञाको अर्थ के नै भयो र ?’ प्रशासनले जारी गरेको आदेशमा सबै प्रकारका सभा, सम्मेलन, तालिम, गोष्ठी, सेमिनार, पार्टी, खेलकुद, रंगशाला, पार्लर, सैलुन लगायतका व्यवसायमा रोक लगाइएको छ तर, यी सबै व्यवसाय र क्रियाकलाप सञ्चालन भइरहेकै छन् । प्रशासन र प्रहरी भने मुकदर्शक बनेको छ ।

त्यस्तै, प्रशासनले खुल्ला स्थानमा मानिसहरू भेला भएर भिडभाड हुने क्रियाकलाप गर्न नपाउने भनेको छ । फुटपाथ तथा खुला स्थानमा व्यापार गर्न, विवाह, व्रतबन्ध तथा सामूहिक रूपमा गरिने धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सीमित व्यक्तिको उपस्थितिमा गर्नुपर्ने प्रशासनको आादेश छ । तर यस्ता खालका क्रियाकलापहरू आदेशविपरीत धमाधम चलिरहेका छन् । आम सर्वसाधारणलाई निषेधाज्ञा जारी गरिएको जानकारी भए पनि प्रशासनले अनुगमनमा कडाइ नगर्दा अवज्ञा बढेको हो ।

वैशाख १४ गतेदेखि सुरू गरिएको निषेधाज्ञा असारमसान्त लागेसँगै खुकुलो गरिएको थियो । संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा कायमै राखिएको प्रशासन कार्यालयले जनाएको छ । आदेशको पूर्णरूपमा अवज्ञा भइरहँदा पनि प्रशासन कार्यालय भने मौन बसेको नागरिकहरूको गुनासो छ ।


बढ्यो संक्रमण

कर्णालीमा पछिल्ला दिनमा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण दर बढेको छ । शनिवार कोरोना परीक्षण गरिएका मध्ये ४२ प्रतिशतमा संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार एक सय ९६ जनाको परीक्षण गर्दा ८४ अर्थात ४२ दशलमव ८५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन शुक्रवार १४ प्रतिशत संक्रमण दर देखिएको थियो । प्रदेशमा एकैदिन संक्रमण दर २८ प्रतिशतले बढेको पाइएको हो । साउन लागेयता दैनिक २२÷२५ प्रतिशत हाराहारीमा संक्रमण देखिने गरेकोमा शनिवार भने ठूलो संख्यामा संक्रमति भेटिएका हुन् । शनिवार जुम्लामा २४, सुर्खेतमा २२, रुकुम–पश्चिममा १७, मुगुमा आठ, कालीकोटमा पाँच, हुम्लामा र दैलेखमा तीन÷तीन तथा अन्य प्रदेशका कर्णालीमा रहेका दुई जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो समय संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । सार्वजनिक स्थानहरूमा भिडभाड बढ्दो छ । जसले गर्दा संक्रमणको जोखिम बढ्नुका साथै संक्रमण दर पनि उकालो लागको हो । कोरोनाको दोस्रो लहर सुुरू भएसँगै वैशाख मध्यतिरबाट कर्णालीका सबैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । त्यसबेला संक्रमण दर ९० प्रतिशतभन्दा माथि पुगेको थियो । निषेधाज्ञाले चहलपहल कम भएपछि घट्दै गएको संक्रमण फेरि बढेको हो । भिडभाड र जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा जोखिम पुनः बढ्दो क्रममा रहेको जनस्वास्थ्यकर्मीहरूले बताएका छन् ।

कर्णालीमा अहिलेसम्म ३० हजार दुुई सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २८ हजार दुुई सय ४४ जना निको भएका छन् । निर्देशनालयका अनुसार शनिवार ७७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशमा कोरोना संक्रमणका कारण मृत्युु हुनेको संख्या तीन सय ५२ पुगेको छ । पछिल्लो तथ्याङ्कअनुसार एक हजार ६ सय ७८ जना सक्रिय संक्रमित छन् । संक्रमण बढ्दो क्रममा देखिएपनि सिकिस्त बिरामीको संख्या भने न्यून रहेको कोरोना विशेष अस्पतालहरूले जनाएका छन् । कर्णालीमा अहिले कोरोनाबाट भइरहेको मृत्युदर समेत घटेको छ ।

यस्तै, देशभर थप तीन हजार एक सय ६ जनामा संक्रमण पुष्टि भएको छ । शनिवार १३ हजार पाँच सय १९ जनाको परीक्षण गर्दा तीन हजार एक सय ६ जना संक्रमित भेटिएका हुन् । यो कूल परीक्षण संख्याको झन्डै २३ प्रतिशत हो । योसँगै नेपालमा संक्रमित हुनेको संख्या सात लाख ५६ हजार सात सय ३९ पुगेको छ । तीमध्ये ६ लाख ५४ हजार एक सय ७७ जना संक्रमणमुक्त भएका छन् । शनिवार एक हजार नौ सय १६ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर थप २३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित नौ हजार आठ सय ५७ जनाको ज्यान गएको छ ।

प्रकाशित मितिः   १७ श्रावण २०७८, आईतवार ०८:२४