खोपको व्यवस्थापन

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणदर घटबढ भइरहेको छ । कहिले घट्छ, फेरि बढ्छ । जोखिम यथावत छ । त्रास कायमै छ । केही समय घटेको संक्रमण पछिल्ला दिनहरूमा पुनः बढ्न थालेको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारले लामो लकडाउनदेखि निषेधाज्ञालगायतका विधि अवलम्बन गरिसकेको छ । तर यसले पनि कोरोना नियन्त्रण हुन सकेको छैन । एकातर्फ संक्रमण नियन्त्रणमा आएको छैन, अर्कोतर्फ नागरिकले पर्याप्त खोप पाएका छैनन् । ठूलो हिस्सा खोपबाट वञ्चित छ । यद्यपि केही मात्रामा भने लगाइएको छ ।

पछिल्ला दिनहरूमा खोपको आयात तथा व्यवस्थापन राम्रो हुँदै गएको देखिन्छ । जसका कारण खोप लगाउन पाउनेहरूको संख्या पनि बढ्दै गएको छ । सुर्खेतमा यतिबेला पाँचौँ चरणको खोप अभियान चलिरहेको छ । यहाँ खोप लगाउनुपर्ने लक्षित जनसंख्याको १८ प्रतिशतले खोप लगाइसकेका छन् । जसमा खोपको पहिलो डोज मात्रै १४ प्रतिशतले लगाएका छन् । दुवै मात्रा खोप प्राप्त गर्ने ४ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । खोपको पहिलो मात्रा ५९ हजार बढीले लगाएका हुन् भने दोस्रो डोज लगाउनको संख्या १४ हजार हाराहारी रहेको छ । विगतमा भन्दा पछिल्लो समय सहज उपलब्धतासँगै आधारभूत तहसम्म खोपको पहुँच पुग्न थालेको हो । अहिले सुर्खेतका सबैजसो स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जोखिम समूहको प्राथमिकीकरण गरी सोही आधारमा खोप दिइँदै आएको छ । सुर्खेतमा कूल जनसंख्याको ७० प्रतिशत खोप दिनुपर्ने लक्षित वर्ग छ । त्यसमध्ये हालसम्म १८ प्रतिशतले खोप पाएका हुन् । १८ वर्षमुनीको उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने गरिएको छैन । अहिले भेरोसेल र जेनसेन खोप लगाउने अभियान चलिरहेको छ । भेरोसेल चीन र जेनसेन अमेरिकी कम्पनीको खोप हो । त्यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाइएको थियो । कोभिशिल्डको पहिलो डोज २७ हजार दुई सय ९६ जनाले लगाएका थिए । दोस्रो मात्रा भने आठ हजार पाँच सय ८९ जनाले मात्रै पाएका हुन् । त्यसयता उक्त खोप आपूर्ति नहँुदा झन्डै पाँच महिनादेखि ठूलो संख्या दोस्रो डोजको पर्खाइमा छ । त्यो खोप लगाएका अधिकांश ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

महामारी नियन्त्रण नभएको समयमा खोप नै सबैभन्दा प्रभावकारी उपचार हो । तर नेपालमा आवश्यक मात्रामा खोप उपलब्ध हुन सकेको छैन । विगतको होस् या वर्तमान सरकारले खोपलाई उच्च प्राथमिकतामा राखेको भए पनि प्रतिबद्धताअनुसार आयात गर्न र जनतालाई उपलब्ध गराउन भने चुकेको देखिन्छ । अहिले सरकारको पहिलो प्राथमिकता नागरिकलाई कोरोना महामारीबाट बचाउनु हो । यसका लागि खोप अनिवार्य र अपरिहार्य छ । सरकारको विशेष ध्यान र जोड यसैमा हुन जरुरी छ ।

प्रकाशित मितिः   १७ श्रावण २०७८, आईतवार ०५:००