सहज बन्दै खोप

सुर्खेतमा अहिलेसम्म १८ प्रतिशत लक्षित वर्गले खोप लगाएका छन् । कोरोना भाइरसविरुद्धको पाँचौ“ चरणको खोप अभियान चलिरहेको छ ।

सुर्खेतमा अहिलेसम्म १८ प्रतिशत लक्षित वर्गले खोप लगाएका छन् । कोरोना भाइरसविरुद्धको पाँचौ“ चरणको खोप अभियान चलिरहेको छ ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सहज बन्दै गएको छ । पछिल्ला दिनहरूमा खोपको आयात तथा व्यवस्थापन राम्रो हुँदै गएको हो । जसका कारण खोप लगाउन पाउनेहरूको संख्या पनि बढ्दै गएको छ । सुर्खेतमा यतिबेला पाँचौँ चरणको खोप अभियान चलिरहेको छ । यहाँ खोप लगाउनुपर्ने लक्षित जनसंख्याको १८ प्रतिशतले खोप लगाइसकेका छन् । जसमा खोपको पहिलो डोज मात्रै १४ प्रतिशतले लगाएका छन् । दुवै मात्रा खोप प्राप्त गर्ने ४ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।

खोपको पहिलो मात्रा ५९ हजार चार सय १२ जनाले लगाएका हुन् भने दोस्रो डोज लगाउनको संख्या १४ हजार दुई सय ७९ रहेको छ । विगतमा भन्दा पछिल्लो समय सहज उपलब्धतासँगै आधारभूत तहसम्म खोपको पहुँच पुग्न थालेको हो । अहिले सुर्खेतका सबैजसो स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जोखिम समूहको प्राथमिकीकरण गरी सोही आधारमा खोप दिइँदै आएको छ । सुर्खेतमा कूल जनसंख्याको ७० प्रतिशत खोप दिनुपर्ने लक्षित वर्ग छ । त्यसमध्ये हालसम्म १८ प्रतिशतले खोप पाएका हुन् । १८ वर्षमुनीको उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने गरिएको छैन ।

जनस्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लामा हाल चार लाख २३ हजार हाराहारी जनसंख्या छ । हरेक वर्ष जनसंख्या अध्यावधिक गरी स्वास्थ्य सेवा दिने गरिएको सरकारी अधिकारीहरूले बताएका छन् । यद्यपि २०६८ सालको जनगणना अनुसार सुर्खेतमा तीन लाख ५० हजार चार सय आठ जनसंख्या थियो । अहिले भेरोसेल र जेनसेन खोप लगाउने अभियान चलिरहेको छ । भेरोसेल चीन र जेनसेन अमेरिकी कम्पनीको खोप हो । त्यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाइएको थियो ।

कोभिशिल्डको दोस्रो डोज छुटेकालाई एक्स्ट्राजेनिका लगाइने

कोभिशिल्डको पहिलो डोज २७ हजार दुई सय ९६ जनाले लगाएका थिए । दोस्रो मात्रा भने आठ हजार पाँच सय ८९ जनाले मात्रै पाएका हुन् । त्यसयता उक्त खोप आपूर्ति नहँुदा झन्डै पाँच महिनादेखि ठूलो संख्या दोस्रो डोजको पर्खाइमा छ । त्यो खोप लगाएका अधिकांश ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले कोभिशिल्डको दोस्रो डोज लगाउन बाँकी १८ हजार सात सय सात जना नागरिकलाई सरकारले जापानबाट ल्याउने तयारी गरेको एक्स्ट्राजेनिका नामको खोप दिने तयारी भइरहेको छ । जापानबाट १६ लाख मात्रा एक्स्ट्राजेनिका खोप भदौको पहिलो साता नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिशिल्ड भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप हो । उक्त कम्पनीलाई खोप निर्यातमा रोक लगाएपछि हजारौं नागरिक दोस्रो डोज लगाउनबाट वञ्चित भएका हुन् ।

अभियान जारी

जिल्लामा जेनसेन खोपको २३ हजार डोज दुई चरणमा गरी लगाइँदै छ । पाँच वटा स्थानीय तहमा शुक्रवारदेखि अभियान थालि सकिएको छ । वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, बराहताल र चिङ्गाड गाउँपालिकामा उक्त खोप लगाउन थालिएको हो । साउन २१ र २२ गते बाँकी चार वटा स्थानीय तह सिम्ता र चौकुने गाउँपालिका तथा गुर्भाकोट र पञ्चपुरी नगरपालिकामा दिइने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्लामा भेरोसेलको पहिलो मात्रा ३२ हजार एक सय १६ र दोस्रो मात्रा पाँच हजार ६ सय ९० जनाले लगाइसकेको वरिष्ठ जनस्वास्थ्य अधिकृत वाग्लेले बताए । सुरूको चरणमा ६ हजार एक सय ५३ जनाले तथा गएको सोमवार र मंगलवार २५ हजार नौ सय ६३ जनाले भेरोसेल खोप लगाएका हुन् ।

जेनसेन खोपको एक डोज मात्र लगाए पुग्ने चिकित्सकहरूले बताएका छन् । क र ख वर्गका अपाङ्गता भएका नागरिक, ५० वर्षदेखि ५४ वर्ष उमेर समूह र विदेश जाने तयारीमा रहेका नागरिकहरूलाई प्राथमिकतामा राखेर खोप लगाइने छ । यसअघि खोप लगाउन छुटेका स्वास्थ्य र
सरसफाइका कर्मचारीहरूलाई पनि जेनसेन खोप दिइन लागिएको हो ।

शिक्षकले पाए, व्यवसायीको पनि माग

गएको माघ १४ गतेदेखि कर्णाली प्रदेशमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरू गरिएको थियो । सुरुदेखि नै आफूहरूलाई जोखिम समूहमा नसमेटेको भन्दै शिक्षकहरू रुष्ट थिए । सरकारले शिक्षकहरूको मूल्याङ्कन नगरेको उनीहरूको गुनासो थियो । शिक्षकहरूले माग गरेको लामो समयपछि गएको सोमवार र मंगलवार खोप लगाइएको छ । विश्वविद्यालय र सामुदायिक तथा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरू गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतका अनुसार जिल्ला भरका नौ वटा स्थानीय तहमा दुई हजार दुई सय नौ जना शिक्षकको दरबन्दी छ । जसमा माध्यमिक तहमा एक सय ५६ जना स्थायी र एक सय तीन जना राहत शिक्षक कार्यरत छन् । विश्वविद्यालय र निजी विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई पनि खोप दिइएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको । जिल्लाभर कति शिक्षकहरूले खोप लगाए भन्ने यकिन तथ्याङ्क भने संकलन भइ नसकेको जनाइएको छ ।

त्यस्तै, सुर्खेतमा होटल व्यवसाय गर्ने व्यवसायीहरूले आफूहरूलाई पनि खोप दिनुपर्ने माग गरेका छन् । प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई माग पत्र दिँदै होटल व्यवसायीहरूले खोप लगाउने व्यवस्था मिलाइ दिन अनुरोध गरेका हुन् । होटल व्यवसायी संघ सुर्खेतको टोलिले मन्त्री बुढाक्षेत्रीलाई मागपत्र बुझाएको हो । लामो समयदेखि होटल व्यवसाय चौपट भएको र आफूहरूलाई व्यवसाय सञ्चालन गर्दा संक्रमणको उच्च जोखिम रहेको भन्दै उनीहरूले खोपका लागि पहल गरिदिन प्रदेश सरकारलाई आग्रह गरेका हुन् । मन्त्री बुढाक्षेत्रीले केन्द्र सरकारसँगको समन्वयमा व्यवसायीलाई पनि खोप लगाउन प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतका अनुसार सुर्खेतमा साना ठूला गरी एक हजार दुई सय ५० होटलहरूमा पाँच हजार हाराहारी कर्मचारीहरू कार्यरत छन् ।

प्रकाशित मितिः   १६ श्रावण २०७८, शनिबार ०५:०५