३३ प्रतिशत खर्च वृद्धि

कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा ३३ दशमलव ३३ प्रतिशत खर्च वृद्धि गरेको जनाएको छ । बजेट खर्चमा वृद्धि भएको प्रतिवेदन मंगलवार सार्वजनिक गरिएको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठक र प्रदेश सरकारको वार्षिक समीक्षा कार्यक्रम संयुक्त रूपमा आयोजना गरेको सरकारले आफ्नो प्रगति सार्वजनिक गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेका हुन् । गत आवमा सरकारले ६५ दशमलव ५२ प्रतिशत खर्च गरेको छ । कर्णाली सरकारले असार मसान्तमा मात्रै ३९ प्रतिशतभन्दा बढी रकम खर्च गरेको थियो । कूल विनियोजित ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रूपैयाँ मध्ये २२ अर्ब १० करोड ८६ लाख ९६ हजार रकम खर्च भएको हो ।

गत आर्थिक वर्षमा ३२ करोड राजस्वको लक्ष्य राखेको सरकारले ५० करोड संकलन गरेको छ । समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै मुख्यमन्त्री शाहीले गएको वर्ष २१ किलोमिटर सडक कालोपत्रे गरिएको, एक सय १३ दशमलव ६ किलोमिटर ग्राभेल तथा सात सय ५८ दशमलव २ किलोमिटर कच्ची सडक निर्माण गरेको सरकारले जनाएको छ । त्यस्तै, ११ वटा झोलुङ्गेपुल, सात वटा सडकमा पुल निर्माण, जनताआवास कार्यक्रम अन्तरगत सात सय ६७ वटा घर निर्माण, दुई हजार एक सय ४५ हेक्टर जमिनमा सिँचाइ सुविधा र १८ दशमलव ७७ किलोमिटर नदी तटबन्धन गरिएको सरकारको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । साथै प्रदेश सरकारले तीन हजार पाँच सय ४० घरधुरीमा सौर्यउर्जा जडान गरिएको जनाइएको छ ।

प्रकाशित मितिः   १३ श्रावण २०७८, बुधबार ०५:००