बढ्यो संक्रमणको ग्राफ

कर्णाली प्रदेशमा केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशको संक्रमणदर ४२ प्रतिशत पुगेको हो । अघिल्लो दिन शनिवार कर्णालीको कोरोना संक्रमणदर ३२ प्रतिशत थियो । आइतवार एकैदिन दश प्रतिशतले संक्रमण बढेको पाइएको हो । निर्देशनालयका अनुसार आइतवार परीक्षण गरिएका ४९ मध्ये २१ जना संक्रमित भेटिएका हुन् । दैलेखमा १३, हुम्लामा ५, जाजरकोटमा दुई र सल्यानमा एक जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमणको दोस्रो लहर सुरू हुँदा प्रदेशमा संक्रमण दर अत्यधिक थियो । असार अन्तिम सातातिर २० प्रतिशतमा झरेको संक्रमण फेरि बढ्को हो । वैशाख मध्यतिर यहाँको संक्रमण दर ९० प्रतिशतभन्दा माथि पुगेको थियो । निषेधाज्ञा खुकुलो पारिएसँगै संक्रमणदर उकालो लाग्न थालेको छ । बढ्दो चहलपहल र स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा संक्रमणको दर बढ्दै जान थालेको जनस्वास्थ्यकर्मीहरूले बताएका छन् ।

प्रदेशमा हालसम्म २९ हजार आठ सय २४ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये २७ हजार सात सय ६७ जना निको भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन सय ५१ पुगेको छ । अहिले पनि कर्णालीमा एक हजार सात सय ६ जना सक्रिय संक्रमित छन् ।

लापरवाहीले जोखिम

जुम्लामा पनि कोरोना भाइरस‐कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएको छ । जिल्लामा लापरवाहीका कारण संक्रमण बढेको हो । स्वास्थ्य मापदण्डको पालना नगरेर खेलाँची ठान्नुले दैनिक संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । गएको शुक्रवार मात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ५८ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको थियो । एकै पटक धेरै जनामा कोरोना संक्रमण देखिएकोले उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।

वैशाख पहिलो सातादेखि हालसम्म जुम्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक हजार एक सय ७६ पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंका अनुसार संक्रमणमुक्त हुनेको संख्या झन्डै साढे नौ सय छ । अहिले पनि जुम्लामा करिब दुई सय सक्रिय संक्रमित छन । संक्रमणका कारण जिल्लाका पाँच जना ज्येष्ठ नागरिकसहित आठ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । जिल्लाबाहिरका अस्पतालमा उपचार गराइरहेका चार जनाको मृत्यु भएको छ । जुम्लामा केही दिनयता निषेधाज्ञा खुकुलो पारिएको छ । निषेधाज्ञा खुकुलो भएपछि भिडभाडजन्य गतिविधिका कारण संक्रमणको जोखिम बढेको छ ।

प्रकाशित मितिः   ११ श्रावण २०७८, सोमबार ०५:००