फेरि बढ्यो संक्रमण

तीन सय १७ जनाको परीक्षण गर्दा एक सय सात जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा कोरोना संक्रमण दर पुनः बढेको छ । मंगलवार प्रदेशमा एक सय सात जनामा संक्रमण देखिएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार तीन सय १७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् । यो संक्रमण दर ३४ प्रतिशत हो । अघिल्लो दिन सोमवारसम्म प्रदेशमा संक्रमण दर २५ प्रतिशतभन्दा तल थियो । मंगलवार एकै दिन संक्रमण दर १७ प्रतिशतले उकालो लागेको हो ।

निर्देशनालयले दिएको जानकारी अनुसार मंगलवार सबैभन्दा बढी मुगुमा ३७ र जुम्लामा २५ जनामा कोरोना पुष्टि भएको छ । रुकुम–पश्चिममा १५, कालीकोटमा १३, सुर्खेतमा ६, हुम्लामा चार, सल्यानमा तीन र दैलेखमा दुई जनामा संक्रमण देखिएको छ । यस्तै, कर्णालीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्युु भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या तीन सय ४८ पुुगेको छ । संक्रमणको दोस्रो लहरको सुरूमा ह्वातै बढेको कोरोना संक्रमण दर असार महिनामा स्थिर थियो । साउन लागेयता संक्रमण बढ्दो क्रममा देखिएको छ । निषेधाज्ञा खुकुलो भएपछि संक्रमणको जोखिम पनि बढेको जनस्वास्थ्यकर्मीहरूले बताएका छन् ।

यस्तै, देशभर थप तीन हजार एक सय आठ जनामा संक्रमण देखिएको छ । १३ हजार एक सय ३५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा हालसम्म कोरोना संक्रमण पुुष्टि हुनेको संख्या सात लाख २१ हजार ६ सय १७ पुगेको छ । त्यसमध्य ६ लाख ३४ हजार नौ सय २७ जना संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार चार सय १९ रहेको छ । यस्तै, मंगलवार २५ जनाको मृत्युु भएसँगै कोरोना संक्रमणका कारण मृत्युु हुनेको संख्या नौ हजार ६ सय सात पुगेको छ ।

प्रकाशित मितिः   ६ श्रावण २०७८, बुधबार १२:४९