आफन्तबाटै असुरक्षित छन् छोरी

सुर्खेतकी १२ वर्षीया काबिया ‐नाम परिवर्तित) की आमाले दोस्रो विवाह गरिन् । आमाले छोडेपछि ती बालिका बुवाको रेखदेख र सहारामा थिइन् । एक भाइ र बहिनीसहित बुवासँगै बस्दै आएकी काबिया नौ वर्षको उमेरदेखि यौन शोषणमा परिन् । त्यो पनि बुवाबाट ।

काबियाले जन्मदाताबाटै भइरहेको यौन अत्याचार तीन वर्षदेखि सहेरै बसिन् । बुवाको आपराधिक क्रियाकलाप नरोकिएपछि पीडित बालिकाले गत वैशाखमा मात्र आफूमाथि भइरहेको उक्त घटनाबारे हजुरआमालाई जानकारी गराइन् । हजुरआमाले यसबारे नजिकका नातेदार र छिमेकीलाई बताइन् । यो घटना गुपचुप राख्ने र गाउँमै मिलाउने सहमति भयो । कसैलाई नभन्नु भन्दै उल्टै ती बालिकालाई आफन्त र बुवाले धम्की दिए ।

यौनशोषण गरिरहेका बुवाको डरले काबिया भागेर ठूलीआमाको घरमा पुगिन् । बुवाले आफूमाथि वर्षौदेखि गरिरहेको यौनशोषणको पीडा उनले ठूलीआमालाई सुनाइन् । ठूलीआमाले प्रहरीलाई जानकारी गराइन् । जाहेरीका आधारमा प्रहरीले काबियाका बुवालाई नियन्त्रणमा लियो । प्रहरीले अहिले उक्त घटनाको अनुसन्धान गरेर कानुनी प्रक्रिया अघि बढाएको छ । गएको वैशाख २८ गते काबियालाई आवाज संस्था सुर्खेतले प्रहरीको सहायतामा उद्धार गरेर बाल हेल्पलाइनमा संरक्षण गरिरहेको छ ।

१५ वर्षीया नम्रता (नाम परिवर्तित) १० कक्षामा पढ्दै थिइन् । डडेलधुरा घर भएकी ती किशोरी पनि एक हप्तादेखि आवाज संस्थाको संरक्षणमा छन् । उनी संस्थाको बाल हेल्पलाइन अन्तर्गत सञ्चालित सुरक्षित घरमा बसिरहेकी हुन् । दाइले घरमा दिनहुँ कुटपिट र हिंसा गर्ने गरेपछि नम्रता घर छोडेर सुर्खेत आएको बताउँछिन् । उनको नेपाल आर्मी बन्ने इच्छा छ । गाउँकै ठूलोबुवा नाता पर्नेले आर्मी बनाइदिन्छु भनेका थिए । नम्रताका अनुसार उनी नेपाली सेनाका क्याप्टेन हुन् । सुर्खेतमै कार्यरत छन् । ‘बसिनसक्नु भएपछि घरबाट भागेर आएकी हुँ,’ नम्रताले भनिन्, ‘उहाँले सुर्खेत आऊँ भन्नु भएको थियो । यहाँ आउँदा भेट भएन । अलपत्र परियो ।’ घरबाट निस्किएकी उनको पुग्नु पर्ने ठाउँ, भेट्नुपर्ने मान्छे तथा बस्ने र खाने केही टुङ्गो थिएन । बसपार्कमा अलपत्र परेकी उनलाई वीरेन्द्रनगरस्थित सिटी बसपार्कबाट प्रहरीको सहारामा उद्धार गरिएको थियो । संरक्षण गरिरहेको संस्थाकाअनुसार उनी यो अवस्थामा पुग्नुको खास कारण अझै पत्ता लागेको छैन । आफन्तहरूले उनको खोजतलास र संस्थासँग सम्पर्क गरेका छैनन् ।

जाजरकोटकी ९ वर्षिया बालिका सरु (नाम परिवर्तित) आमासँगै सुर्खेत आइन् । बुवाको मृत्यु भएपछि सरुकी आमाले दोस्रो विवाह गरेर सुर्खेत आएकी थिइन् । आमा र कान्छो बुवाको आश्रयमा बसेकी उनी तीनै बुवाबाट यौनशोषणमा परिन् । छोरीमाथि श्रीमान्ले गरेको यौनदुव्र्यवहारबारे उनकी आमाले प्रहरीमा खबर गरिन् । अहिले पीडित बालिका उनकी आमा र भाइलाई आवाज संस्थाले संरक्षण गरिरहेको छ ।

उल्लेखित घटना छोरीहरूमाथि भइरहेका यौन अपराध र हिंसाका केही प्रतिनिधिमूलक मात्र हुन् । महिलालाई आफन्तबाटै र घरभित्रै कतिसम्म जोखिम छ भन्ने बुझ्न यिनै दृष्टान्त पर्याप्त छन् । बालिका तथा किशोरीहरू परिवार, भरोसा गरेका आफन्त र चिनेजानेका व्यक्तिबाटै असुरक्षित बनेका घटना दैनिकजसो सार्वजनिक भइरहेका छन् । यौन दुव्र्यवहार, मानव बेचबिखन तथा ओसार–पसार लगायतका हिंसामा बालिका र किशोरीहरू पर्ने गरेका हुन् । महिला तथा बालबालिकाका क्षेत्रमा पैरवी गर्दै आएको आवाज संस्थाकी वरिष्ठ मनोविमर्शकर्ता निशा पौडेल भन्छिन्, ‘अधिकांश बालिकाहरूमाथि आफन्तबाटै जघन्य अपराधका घटना भइरहेका छन् ।’ न्यायका लागि संघसंस्था, प्रहरी र अदालतसम्म आउनेहरूको संख्या हेर्दा पनि समाजमा बलात्कार र अन्य यौनजन्य हिंसा पीडितहरूको संख्या ठूलो रहेको प्रष्ट हुने उनी बताउँछिन् । ‘यसले समग्रमा महिलामाथि भइरहेका हिंसाको अवस्था देखाउँछ,’ उनले भनिन्, ‘पछिल्लो समय जघन्य अपराधको सिकार हुने महिला र बालिकाहरूको संख्या झन् बढ्दो छ ।’

गएको आर्थिक वर्ष २०७७÷०७८ मा सुर्खेतमा मात्र यौन हिंसाका ६८ वटा घटना प्रहरीकोमा दर्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीका अनुसार गएको वर्ष जबरजस्ती करणीका ४७ र जबरजस्ती उद्योगमा २१ वटा उजुरी परेका हुन् । अघिल्ला वर्षहरूमा यही संख्या हाराहारीमा महिलाहरू बलात्कार र यौन दुव्र्यवहारमा पर्ने गरेका थिए । प्रहरीका अनुसार बलात्कार तथा अन्य खालका यौनजन्य हिंसामा पर्ने किशोरीहरूको संख्या अन्य उमेर समूहभन्दा बढी छ ।

समाजमा बलात्कारका घटना डरलाग्दो रूपमा देखिएका छन् । यस्ता बहुसंख्यक घटनामा पीडित पक्ष अर्थात् महिलालाई नै दोष दिइन्छ । समाजको यही डरले उनीहरू खुलेर आफूमाथि भइरहेको अपराध लुकाएर बस्न बाध्य छन् । कानुनी उपचार पनि सहज नभएकाले कतिपय घटना प्रहरी र अदालतसम्म पनि आइपुग्दैनन् । आफन्तबाटै बलात्कारजस्ता आपराधिक घटना हुने र त्यसपछि घटना लुकाउन पीडितलाई नै हत्या गर्ने गरेकोसम्म पाइन्छ । यस्ता घटनामा पीडित भएकालाई परिवार र समाजको पनि असहयोग रहदै आएको छ ।