दुई जिल्लामा कोरा साइकिलिङ


कर्णालीका युवाहरूले सुर्खेत र जुम्लामा कोरा साइकिलिङ गरेका छन् । साइकिलिङ संस्कृति बढाउन युवाहरूले कोरा साइकिलिङ यात्रा गरेका हुन् । जुम्लामा यस्तो यात्रा दोस्रो पटक गरिएको हो । जुम्लाका युवाहरूले लाम्रा गाउँको तिला उपत्यका आसपास ऐरेनीबाट हाकुँसाघुँ, हाँकुँगाउँ, गाडापारी, खल्लासाँघु, तलिउम, श्रीनगर, लाम्रासम्म कोरा राईड गरेका हुन् । यसको अगुवाई युवा कपिल चौलागाईँले गरेका थिए ।

यसैगरी डा. भूमेश काफ्लेको समूहले जुम्लाबजार, चन्दननाथ मन्दिर, तिलानदीको पुल, बोहरागाउँ, गैरागाउँ आसपासको साइकल राईड गरेका छन् । त्यस्तै, कर्णाली राइडर्सको नेतृत्वमा सुर्खेतमा काँक्रेविहार कोरा च्यालेन्ज भएको छ । २० जना राईडर्सले सुर्खेतको मंगलगढीबाट देउतीबज्यै मन्दिर, शिवमन्दिर, काँक्रेविहारको परिक्रमा गरेका छन् ।

कोराको अर्थ पवित्रस्थलको परिक्रमा गर्नु हो । काठमाडौं उपत्यकाका सबै तीर्थस्थललाई केन्द्रमा राखेर उपत्यका आसपासका बस्ती हुँदै साइकल यात्रा गर्ने गरी सुरू गरिएको कोरा च्यालेन्ज पछिल्लो केही वर्ष यता देशका विभिन्न स्थानमा लोकप्रिय छ । कोरा साइकिलिङले मानिसहरूमा मनोरञ्जन गर्ने, सद्भाव बढाउने, सञ्जाल निर्माण गर्ने र पर्यटकीय प्रचार–प्रसार तथा नयाँ गन्तव्यको पहिचान समेत गर्छ । हिमाली जिल्ला जुम्लामा साइकल र माउण्टेन बाइकको सम्भावनालाई उजागर गर्न गत वर्षदेखि यही दिनमा पहिलो कोरा साइकिलिङ च्यालेन्ज गरिएको थियो । सुर्खेतमा दैनिक कामकाजमा साइकलको प्रयोग बढाउन सके वातावरण प्रदूषण न्यून गर्न सकिने साइकल राइडरहरूको भनाइ छ । हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिवार आयोजना हुने कोरा साइकिलिङको अवसरमा सुर्खेत र जुम्लाका युवाहरूले कोरा साइकिलिङ गरेका हुन् ।

प्रकाशित मितिः   ४ श्रावण २०७८, सोमबार ०५:००