घटेन कोरोना जोखिम

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम घटेको छैन । प्रदेशमा दैनिक नयाँ संक्रमित भेटिने क्रम नरोकिएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शुक्रवार थप ३५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय संक्रमण दरमा केही कमी आए पनि जोखिम उस्तै रहेको निर्देशनालयले जनाएको छ । केही दिनयता सिकिस्त बिरामीको संख्या र मृत्युदरमा कमी आएको छ । कोरोना दोस्रो लहरको सुरूमा संक्रमण दर अत्यधिक हुँदा अस्पतालहरूमा संक्रमितको चाप अधिक थियो भने दैनिक १०–१२ जनासम्मको ज्यान जानेको गरेको थियो ।

निर्देशनालयको तथ्याङ्क अनुसार अहिले प्रदेशभर सात सय ५१ संक्रमित छन् । तीमध्ये अधिकांश होम आइसोलेसनमै छन् । असार दोस्रो सातायता जटिल समस्या देखिएर अस्पताल भर्ना हुने संक्रमितको संख्या न्यून छ । शुक्रवार नै ५२ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कर्णालीमा २७ हजार दुई सय तीन जनाले कोरोना जितेका हुन् । प्रदेशभर २९ हजारभन्दा बढीलाई संक्रमण देखिएको छ । तीमध्ये तीन सय ४४ जनाको मृत्यु भएको छ । हाल संक्रमण पुष्टि हुने संख्या थोरै भए पनि जोखिम टरिनसकेको निर्देशनालयका प्रमुख डा. रविन खड्काले बताए ।

कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न जारी गरिएको निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । अहिले प्रदेशका सबै जिल्लामा निषेधाज्ञा खुकुलो पारिएको हो । जसका कारण बजार, व्यवसाय र सार्वजनिक स्थलहरूमा भिडभाड बढेको छ । निषेधाज्ञा खुकुलो भएसँगै बजार तथा सार्वजनिक क्षेत्रहरूमा चहलपहल बढेको छ । संक्रमणको जोखिम रहँदै स्वास्थ्य सुरक्षामा फेरि बेवास्ता गर्न थालिएको छ । सार्वजनिक स्थलको भिडभाड र हेलचक्य्राइँ हेर्दा संक्रमण पुनः बढ्ने जोखिम रहेको जनस्वास्थ्यकर्मीहरू बताउँछन् । जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने उनीहरूले सुझाएका छन् ।

प्रकाशित मितिः   २ श्रावण २०७८, शनिबार ०५:००