संरक्षणको सवाल

राउटेको जीवनशैली गैर–राउटे समुदायकोभन्दा भिन्न छ । फिरन्ते जीवन बिताउने नेपालको एक मात्र लोपोन्मुख समुदाय हो, यो । एकै ठाउँमा नबस्ने, घुमफिर गर्न रुचाउने तथा आफ्नै भाषा र भेषभूषा यो समुदायका विशेषता हुन् । राउटेहरू खासगरी कर्णालीका विभिन्न ठाउँमा बसाइँ सरिरहन्छन् । यतिबेला राउटे सल्यानमा छन् । केही दिन पहिले उनीहरू सुर्खेतको गुर्भाकोटमा थिए । सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, सल्यान र रुकुमलगायतका जिल्लामा डुलिहिँड्ने उनीहरूको बसाइँ निकै असुरक्षित छ । लामो समय एकै स्थानमा बस्न नरूचाउने हुँदा ठाउँ फेरिरहन्छन् । खेतीपाती गर्दैनन् । व्यवस्थित बसोबास, खानपान र स्वास्थ्यमा ध्यान नदिँदा अहिले समुदाय नै सङ्कटमा परेको छ । डेढ सयभन्दा पनि कम सङ्ख्यामा रहेका राउटे अन्य समुदायबाट समेत असुरक्षित छन् । यिनीहरूको सङ्ख्या बर्सेनी घट्दो छ । यसप्रति राज्यको चासो भने कमै गएको छ । सुरक्षा र सामाजिकीकरणबारे सरकार व्यवहारतः गम्भीर देखिँदैन । राउटे आदिवासी जनजाति क्षेत्रका अगुवा र संघसंस्थाको बहसबाट पनि अलग्गै छन् । केही वर्षयता बाह्य समुदायसँगको बढ्दो घुलमिलले सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी परेको छ । राउटे मदिराको लतमा फसेका छन् ।

सीप बेचेर जीविकोपार्जन गर्दै आएको समुदाय विस्तारै परनिर्भर बन्दै छ । काठका घरायसी सामग्री बनाएर त्यसैसँग अन्न साटेर गुजरा चलाउने परम्परा थियो । हस्तकलाको सीप पछिल्लो पुस्ताले बिर्सिएका छन् । संस्कार र संस्कृति समेत लोप हुँदैछ । उनीहरूलाई अस्तित्व जोगाउनै मुस्किल छ । आफूलाई जङ्गलको राजा ठान्ने राउटे जीविकोपार्जनकै लागि जङ्गली जनावरको सिकार गर्छन् । राज्यको कानुन मान्दैनन् । महामुखियाले गर्ने निर्णय नै राउटेको कानुन हो । नेपालको आदिवासी समुदाय भए पनि गैरनागरिक जस्तै छन् । नागरिकता लिएका छैनन् । न राउटेहरूको स्थायी ठाउँ–ठेगाना नै छ । यद्यपि सरकारले नागरिकताविना पनि उनीहरूलाई सामाजिक सुरक्षा भत्ता भने उपलब्ध गराउँदै आएको छ ।

कर्णाली प्रदेश सरकाले अहिले राउटे समुदायको संरक्षणमा चासो देखाएको छ । सामाजिक विकास मन्त्रालयले एकीकृत नीति बनाएर विभिन्न कार्यक्रममार्फत मूल प्रवाहीकरणमा ल्याउने प्रयास गरेको हो । नीतिको मस्यौदामा राउटेको स्थायी बसोबासदेखि नागरिकता वितरण गर्नेसम्मका कार्यक्रमहरू समावेश छन् । घट्दो सङ्ख्या र संस्कार तथा संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेका बेला उनीहरूको अस्तित्व बचाउन नीति बनाइनु सराहनीय काम हो । तर, उनीहरूका परम्परागत संस्कृति, संस्कार र मान्यतालाई भने उत्तिकै ख्याल गरिनु पर्छ । राउटेसम्बन्धी नीतिले यी सवाल आत्मसात् गर्न सक्नुपर्छ । केही समय पहिले दुई जना राउटे युवतीमाथि गैरराउटे समुदायका युवाहरूले यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि सरकारले यो समुदायको संरक्षण गर्ने उपाय खोज्न थालेको छ । एकीकृत नीतिमा सुरक्षासँगै शिक्षा, स्वास्थ्यजस्ता विषय समेटेर लैजाने सरकारी अधिकारीहरूले बताएका छन् । घुमन्ते समुदाय भएकाले यिनीहरूको प्रमुख चुनौती सुरक्षा नै हो । राउटेलाई स्थायी बसोबास गराउन त्यति सहज पक्कै छैन । त्यसैले राउटे सम्बन्धी गहन अध्ययन गरेर कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै उनीहरूको संरक्षण गर्न जरुरी छ ।

प्रकाशित मितिः   १ श्रावण २०७८, शुक्रबार ०६:००