घोषणाको ढाई महिनापछि मिल्यो राहत

कोरोना संक्रमणबाट मृत्यु भएका एक सय ३२ व्यक्तिका आश्रित परिवारलाई कर्णाली प्रदेश सरकारले राहत स्वरूप प्रतिपरिवार एक लाख रूपैयाँ दिएको हो ।

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । राहत दिने घोषणा गरेको ढाई महिनापछि रकम दिइएको हो । गत वैशाख १७ गते बसेको कर्णाली मन्त्रिपरिषद् बैठकले कोभिड संक्रमणबाट ज्यान गुमाउनेका आश्रित परिवारलाई राहत दिने निर्णय गरेको थियो ।

कोभिड संक्रमणबाट मृत्यु भएका एक सय ३२ व्यक्तिका आश्रित परिवारलाई राहत प्रदान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले राहत स्वरूप प्रतिपरिवार एक लाख रूपैयाँ दिएको हो । मन्त्रालयका अनुसार पहिलो चरणमा सो संख्याले राहत पाएका हुन् । सुर्खेत, दैलेख, सल्यान र कालीकोटका मृतकका परिवारलाई राहत उपलब्ध गराइएको छ । ढिला गरि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरेको सरकारले मंलगवार राहत वितरण गरेको जनाएको छ । सरकारले विपद् व्यवस्थापन कोषमार्फत मृतकका आश्रित परिवारलाई राहत उपलब्ध गराएको हो ।

कर्णालीमा हालसम्म कोरोना संक्रमणका कारण तीन सय ४२ जनाको मृत्यु भएको छ । मंगलवार थप एक जनाको मृत्यु भएको हो । मृतकमध्ये सय ४५ जनाका परिवारले राहत माग दाबी गरि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा निवेदन दिएका छन् । पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको पत्र, हकवालाको नाता प्रमाणित, मृत्यु दर्ता प्रमाण–पत्रको प्रतिलिपि, रकम दाबीकर्ताको नागरिकताको प्रतिलिपि लगायतका कागजातको आधारमा मन्त्रालयले राहत रकम उलब्ध गराएको मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् ।

प्रकाशित मितिः   ३० असार २०७८, बुधबार ०५:०२