देउवासामू चुनौतीका चाङ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट सोमवार भएको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । योसहित देउवाले पाँचौं पटक देशको कार्यकारी पद प्रधानमन्त्री बन्ने अवसर पाएका छन् । विगतका कार्यकालमा विवादित र अक्षम प्रधानमन्त्रीको परिचय बनाउन पुगेका देउवाले यसपटक कस्तो काम गर्नेछन् ? त्यो आगामी दिनमा देखिने नै छ । तर अहिले हेर्दा उनका लागि आगामी दिन सजिलो भने छैनन् । थुप्रै चुनौतीका चाङ पन्छाउनुपर्ने छ ।

संविधान निर्माणपछि वि.सं. २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनले कांग्रेसलाई प्रतिपक्षमा पु¥याएको थियो । शासन चलाउने गरि जनमत पाएन । नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर एमालेले बहुमत ल्यायो । र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने । त्यसबीचमा चुनावी गठबन्धन गरेका देशका दुई ठूला दल एमाले र माओवादीबीच पार्टी एकीकरण भयो, नेकपा बन्यो । तर नेकपाले निरन्तरता पाउन सकेन । तीन वर्षमै विभाजित हुन पुग्यो । यसबीचको राजनीतिक घटनाक्रम उथलपुथलपूर्ण रहे । सत्ता संकटमा पर्दा ओलीले प्रतिनिधिसभा नै विघटन गरिदिए । ६ महिनाको अवधिमा दुई पटक संसद् विघटन भयो । यद्यपि दुवै पटक सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिदियो । दोस्रो पटक असार २८ को फैसलाले संसद् पुनस्र्थापना मात्रै गरेन देउवालाई प्रधानमन्त्री बनाउन परमादेश नै जारी गरिदियो । अब ओलीको हातबाट मुलुकको शासन देउवाको काँधमा पुगेको छ । ओलीले नेतृत्व गरेको एमालेकै सांसदहरूको बलमा सत्तारोहण गरेका देउवाको सत्तायात्रामा भने निकै कठिनाई छन् । देउवाका लागि पहिलो चुनौती हो, विश्वासको मत पाउनु । प्रधानमन्त्री नियुक्त भइसकेपछि ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अबको एक महिनाभित्र उनले विश्वासको मत लिनुपर्ने हुन्छ । तर के उनले विश्वासको मत पाउँछन् ? सजिलो छैन । किनभने आन्तरिक कलहले विभाजित एमाले यतिबेला एकतानजिक पुगेको छ । दुवै पक्षका प्रतिनिधि रहेको कार्यदलले सहमति गरिसकेको छ । असन्तुष्ट पक्षका माधवकुमार नेपालले पनि अब पार्टी एकतामै जोड दिने बताइसकेका छन् । यदी एमाले एक भएमा देउवालाई विश्वासको मत दिने सम्भावना न्यून रहन्छ । आफ्नै नेतृत्वको सरकार बहिर्गमन भएर प्रतिपक्षमा पुग्दा एमालेका केही सांसदले देउवालाई मत दिन सजिलो हुने छैन ।

राजनीतिक समस्या समाधानका अप्ठ्यारा मात्रै होइन देशलाई महामारी, अव्यवस्था र प्राकृतिक विपत्तिको पीडाबाट मुक्त गर्ने ठूलो चुनौती पनि देउवासामूह छन् । फेरि उनी निर्वाचन जितेर वा भनौं जनमत पाएर सत्तामा पुगेका पनि हैनन् । सत्तारूढ दल एमालेका आन्तरिक लडाइँ र माओवादीको साथले निर्माण गरेर परिस्थितिको लाभ उठाएका मात्रै हुन् । यसकारण उनलाई सत्तामा पु¥याउनेहरूको चाहना र अपेक्षालाई समेत सम्बोधन गर्नुपर्ने चुनौतीसँग जुध्नुपर्ने छ । त्यसो त देउवाको छबि पनि विवादरहित छैन । ओलीको उपयुक्त विकल्प म हुँ भनेर पुष्टि गर्नु नै देउवाको सबैभन्दा ठूलो चुनौती हो ।

प्रकाशित मितिः   ३० असार २०७८, बुधबार ०५:००