संसद् बिहीवार पनि अवरुद्ध

कर्णाली प्रदेशसभाको बिहीवारको बैठक पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आठौं अधिवेशनको पन्ध्रौ बैठक पनि अवरुद्ध पारेको हो । बैठकको सुरूमा बोल्दै एमाले सांसद दल रावलले सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप लगाए । सांसद रावलले एमालेले प्रदेशसभामा नैतिक ढंगले राजनीतिक तथा संवैधानिक प्रश्न गरेकोमा सरकारले यसतर्फ बेवास्ता गर्दै आएको बताए । ‘लोकतन्त्र भनेको बहुमतले अल्पमतमाथि शासन गर्ने प्रणाली हो,’ उनले भने, ‘कर्णालीमा त्यसको विपरीत अल्पमतले सरकार चलाइरहेको छ । यो लाजमर्दो अवस्था भयो ।’

सांसद रावलले लोकतन्त्रलाई नै मार्गदर्शन बनाएको कांग्रेससमेत सरकारमा रहेकाले लोकतन्त्र बलियो बनाउतर्फ लाग्न आग्रह गरे । उनले अल्पमतमाथि बहुमतले शासन गर्ने व्यवस्था कहाँ छ ? भन्दै सरकारलाई प्रश्न गरे । सरकारले यसको जवाफ नदिएसम्म आफूहरूले बैठकको कारबाही अगाडि बढाउन नदिने अडान राखेर एमाले सासदहरूले विरोध जनाए । एमालेको अवरोधका कारण बिहीवारको बैठक पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो । सभामुख राजबहादुर शाहीले आगामी आइतवार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए ।

निरन्तर संसद् अवरोध भइरहँदा आगामी वर्षका लागि सरकारले ल्याएको बजेटमाथिको छलफल सुरू हुन सकेको छैन । बजेट सार्वजनिक भएको २४ दिनसम्म पनि प्रदेशसभामा बजेटमाथि दफावार छलफल हुन नसकेको हो । दल प्रतिपक्षमा भएका बेला एमालेकै तीन जना सांसद भने माओवादी केन्द्र नेतृत्वको सरकारमा मन्त्री छन् । उनीहरूको भूमिकामा प्रश्न उठाउँदै एमालेले संसद् अवरुद्ध पार्दै आएको छ ।

प्रकाशित मितिः   २५ असार २०७८, शुक्रबार ०५:००