विधुत नियमितको माग गर्दै अल्टिमेटम

विधुत अनियमितले आजित भएका सुर्खेतका व्यवसायि तथा उपभोक्ताहरूले पटके लोडसेडिङ्ग अन्त्य गर्न अल्टिमेटम दिएका छन् । व्यवसायीहरूले अनियमित विधुतले व्यवसाय नै चौपट भएको भन्दै नेपाल विधुत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयमा अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् । सुर्खेत उद्योग बाणिज्य संघका पदाधिकारी सहितका व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरूको टोलिले बुधवार प्रादेशिक कार्यालयको ध्यानाकर्षण गराएको हो ।

पटके लोडसेडिङ्गले सबैजसो व्यवसाय तथा उद्योग कलकारखाना मारमा परेको उनीहरूको गुनासो छ । सधैजसो अनियमित भइरहने विधुतको समस्या अन्त्यका लागि प्रादेशिक कार्यालयको ध्यानाकर्षण गरिएको संघका अध्यक्ष धनबहादुर रावतले बताए । उनकाअनुसार दुई दिनको समय दिएर सुर्खेतमा पटके लोडसेडिङको अन्त्य गर्न माग गरिएको छ । आफूहरूले राखेको समस्याको सम्बोधन नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुने उनले जनाए । कहिले बढी भोल्टेज र कहिले कम भोल्टेजका कारण पटक–पटक बत्ती जाने गरेको छ । छिनछिनमै घटबढ हुने भोेल्टेजले विधुतीय उपकरण तथा औजारहरू बिग्रिएर ठूलो नोक्सानी व्यहोर्नु परेको व्यवसायीहरूको गुनासो छ । सुर्खेतमा लामो समयदेखि विधुत अनियमित हुँदा उद्योगी व्यवसायीसँगै आमउपभोक्ता हैरानीमा परेका छन् ।

प्रकाशित मितिः   २४ असार २०७८, बिहीबार ०५:००