हट्यो यातायातमा जोर–बिजोर

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सवारी साधन सञ्चालनका लागि लागू गरेको जोर–बिजोर प्रणाली हटाएको छ । प्रशासनले मंगलवारदेखि सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन दैनिक सञ्चालन गर्न पाइने बताएको हो । झन्डै ढाई महिनादेखि जारी निषेधाज्ञा भने कायमै छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा पछिल्ला दिनमा खुकुलो बनाउँदै लगिएको छ ।

जोर–बिजोर प्रणाली हटाई जिल्लाभित्र मात्र यातायात सेवा सञ्चालन गर्न पाइने भएको छ । सवारी साधनहरूले बढी भाडा लिएको गुनासो सुनिएकाले तोकिएको भाडा मात्र लिने र भाडादर सबै यातायात व्यवसायी कम्पनीले आ–आफ्नो काउण्टर तथा सवारी साधनमा स्पष्ट राख्नुपर्ने प्रशासनले जनाएको छ । व्यवसायी कम्पनीहरूले सवारी साधनमा मास्क र सेनिटाइजको व्यवस्था गरि यात्रुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न÷गराउन लगाउन समेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

लामो समयदेखि बन्द रहेका सार्वजनिक यातायात गएको शुक्रवारदेखि जोर–बिजोर प्रणालीअनुसार जिल्लाभित्र सञ्चालन गर्न अनुमति दिइएको थियो । गत वैशाख १४ गतेदेखि जारी निषेधाज्ञा भने यसअघि नै असार २५ सम्म लम्ब्याइएको छ ।

प्रकाशित मितिः   २३ असार २०७८, बुधबार ०७:०७