महाधिवेशनमा होमियो कांग्रेस

सुर्खेतबाट १२ हजार क्रियाशील सदस्यका लागि केन्द्रमा सिफारिस
सुर्खेतको गुटुमा महाधिवेशन केन्द्रीत कार्यकर्ता भेटघाट गर्दै कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानी ।

नेपाली कांग्रेस यतिबेला १४औं महाधिवेशनको तयारीमा होमिएको छ । महाधिवेशन नजिकिदै गर्दा नेता तथा अगुवा कार्यकर्ता आ–आफ्नो क्षेत्रमा भेटघाट र घरदैलो गर्न थालेका छन् । वडादेखि केन्द्रसम्म नयाँ नेतृत्व छान्न तयारीमा जुटेको हो । त्यसका लागि अहिले क्रियाशील सदस्यहरूको संख्या टुंग्याउन लागिरहेको छ । २० असारसम्म क्रियाशील सदस्यता छानबिन गरिसक्ने भनिए पनि जिम्मेवारी पाएको छानबिन समितिले हालसम्म ३० जिल्लाको काम सम्पन्न गरेको छ । अधिकांश जिल्लाको क्रियाशील सदस्यता विवाद भने कायमै छ ।

सुर्खेत कांग्रेसमा पनि आसन्न महाधिवेशनको सरगर्मी बढेको छ । यहाँबाट केन्द्रमा प्रतिनिधित्व गर्नेदेखि तल्लो तहका नेताहरूसम्म अगुवा कार्यकर्ता भेटघाट र आ–आफ्नो टिमको ‘लबिङ्’मा लागेका छन् । यहाँ कांग्रेसको केन्द्रीय राजनीतिमा स्थापित नेताहरू पनि छन् । उनीहरू यसपटक फेरि केन्द्रीय पदाधिकारी र सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । ती नेताहरूले संघारमा आएको महाधिवेशनको माहोल बुझ्न तल्लो तहका नेतालाई गाउँ–गाउँमा खटाउन थालेका छन् भने कतिपय ठाउँमा आफै पुग्ने गरेका हुन् ।

सुर्खेत कांग्रेसले जिल्लाका क्रियाशील सदस्यहरूको संख्या केन्द्रमा पठाइसकेको छ । जिल्ला समिति सभापति कमलराज रेग्मीले केन्द्रले सदस्यता टुङ्गो भने लगाइ नसकेको बताए । उनका अनुसार भदौ १६ देखि १९ गतेसम्मका लागि तय भएको केन्द्रीय महाधिवेशनअघि प्रदेश, जिल्ला र स्थानीय तहको निर्वाचनहरू सम्पन्न भइसक्ने छन् । राष्ट्रिय महाधिवेशन हुनुअघि वडा, गाउँ तथा नगर, क्षेत्र, जिल्ला र प्रदेशस्तरमा अधिवेशन हुने उनले बताए ।

यी सबै तहको देशैभर एकै पटक अधिवेशन गर्ने कार्यतालिका छ । वडा, गाउँ तथा नगर, क्षेत्र, जिल्ला र प्रदेशमा अधिवेशन सकिए पछि मात्र राष्ट्रिय महाधिवेशन हुन्छ । सबैभन्दा पहिले वडाको नेतृत्व चयन गर्न निर्वाचन हुने भएको हो । साउन १२ गते वडास्तरमा निर्वाचन हुने सभापति रेग्मीले बताए । उनकाअनुसार गाउँ तथा नगर अधिवेशन साउन १६ गते, प्रदेश क्षेत्रीय अधिवेशन साउन २० गते, प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन साउन २३ गते र जिल्लाको अधिवेशन २६ गते हुनेछ । प्रदेशको अधिवेशन भदौ १ र २ गते हुने सभापति रेग्मीले जनाए ।

कांग्रेसमा आन्तरिक नेतृत्व छनोटका लागि चुनावी सरगर्मी बढे पनि उम्मेदवारको चर्चा भने सुरू भइसकेको छैन । केन्द्रीय नेतृत्वका लागि उम्मेदवार दाबी हुन थालेपनि जिल्ला तथा तल्लो पार्टी कमिटीहरूमा नेतृत्वको चर्चा सुरू नभएको हो । क्रियाशील सदस्यको संख्या टुङ्गो हुनासाथ नेतृत्वका लागि धमाधम दाबीहरू आउने नेताहरू बताउँछन् ।

यद्यपि, वडादेखि जिल्ला तहसम्मका नेतृत्वका आकांक्षीहरू आफ्नो बलियो प्रभाव पार्न कार्यकर्ता भेटघाटनमा व्यस्त देखिन्छन् । केन्द्रले क्रियाशील सदस्यता टुंग्याएपछि अधिवेशनका प्रक्रिया सुरू हुने कांग्रेस सुर्खेतले बताएको छ । सुर्खेतका सभापति रेग्मी आफूहरू यतिबेला अधिवेशनको तयारीमा जुटिरहेको बताउँछन् । उनका अनुसार सुर्खेतबाट १२ हजार जनाको क्रियाशील सदस्यताका लागि केन्द्रमा सिफारिस गरिएको छ । ‘सदस्यता फाइनल भएपछि बल्ल अधिवेशनको खास रौंनक सुरू होला,’ रेग्मीले भने ।

मुलुक संघीयतामा गएको लामो समय भइसकेपछि कांग्रेस आउँदो महाधिवेशनबाट संघीय ढाँचामा जाँदै छ । कांग्रेसले प्रदेश समितिलाई बढी स्वायत्त बनाउने तयारी गरेको नेताहरू बताउँछन् । कांग्रेसले प्रदेश कार्यसमितिलाई बढी स्वायत्तता प्रदान गर्ने भएको हो । प्रदेश कार्यसमितिले अब प्रदेश अन्तर्गतका जिल्लाबाट आएका क्रियाशील सदस्य नवीकरण गर्ने र अभिलेख गरि केन्द्रमा पठाउन पाउनेछ । पार्टीका सबै तहका कार्यसमितिहरूसँग समन्वय गरि काम गर्ने अवसरसमेत विधानले प्रदेशलाई दिएको छ । प्रदेशका सम्मेलन, अधिवेशन र कार्यसमितिका निर्णयहरू कार्यान्वयन गर्ने तथा विभागहरू गठन गर्न पाउने अधिकार पनि दिइएको छ ।

पार्टीको विधानले वडादेखि केन्द्रसम्म विभिन्न आठ वटा तह हुने व्यवस्था गरेको छ । कांग्रेसले पहिलो पटक प्रदेश कार्यसमितिको अधिवेशन गर्दैछ । १३औं महाधिवेशनपछि संघीय ढाँचा अन्तर्गत तदर्थ समितिको अभ्यास थालेको कांग्रेसले अब वैधानिक रूपमै आफ्नो प्रादेशिक संरचना निर्माण गर्न लागेको हो ।

प्रत्येक तहमा कुनै पनि लिङ्ग, वर्ग, भूगोल र समुदायको प्रतिनिधित्व अनिवार्य गराउनुपर्ने नयाँ विधानको व्यवस्था छ । समावेशी सिद्धान्तका आधारमा कार्यसमितिको कुल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्न सक्ने व्यवस्था गरिएको छ । विधानले महिला र अन्य समूदायलाई पनि प्राथमिकता दिंदै कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । कांग्रेसले नेपालको संविधान र पार्टीको विधानलाई आधार मानेर सात सय ५३ स्थानीय तह, सात प्रदेश, एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र तीन सय ३० प्रादेशिक क्षेत्रसँगै सबै वडातहमा १४औं महाधिवेशनमार्फत सांगठनिक संरचना खडा गर्दैछ ।

प्रकाशित मितिः   २२ असार २०७८, मंगलवार ०५:००