बेथिति नियन्त्रण गर

करिब दुई महिना लामो निषेधाज्ञा पूर्ण रूपमा खुलिसकेको छैन । केही मात्रामा खुकुलो पारिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै बजार पनि सञ्चालनमा आएका छन् । चहलपल बढेको छ । किनमेल चलिरहेको छ । त्यसो त दैनिक उपभोग्य खाद्य सामग्री यसअघि पनि खरिद बिक्री भइरहेका थिए । अत्यावश्यक सामग्री खरिदका लागि बिहानको केही समय खोल्ने अनुमति स्थानीय प्रशासनले दिएको थियो । तर यसबीचमा सामग्रीको आपूर्तिमा भने समस्या थियो । निषेधाज्ञाअघि नै ल्याएर राखिएका सामग्री नै बिक्री वितरण भए । अहिले पनि त्यसै भइरहेको छ । लामो समयदेखि भण्डारण गरिराखिएका खाद्य सामग्रीको म्याद गुज्रिसक्दा पनि बिक्री वितरण भइरहेको छ । तर कर्णाली प्रदेशका सबैजसो जिल्लामा गुणस्तरहीन र अखाद्य वस्तु बिक्री गर्ने गरिएको पाइएको छ ।

ग्रामीण भेगका बजार मात्र होइन प्रदेश राजधानी वीरेन्द्रनगरमा सञ्चालित ठूलो लगानीका व्यवसायमा पनि बेथिति छ । नियमनकारी निकायको उदासीनताले बजारमा मनोमानी गर्ने व्यापारीहरू उम्कदै आएका छन् । सरकारी निकायको सिजनेबल अनुगमनले बजारको विकृति रोक्न नसकेको हो । कर्मकाण्डी अनुगमनका कारण न बजार व्यवस्थित हुन सकेको छ न त त्यस्ता व्यक्ति तथा फर्महरूलाई कारबाही नै हुने गरेको छ । नियमन गर्ने निकायको कमजोर उपस्थितिले बजारमा महङ्गी, कृत्रिम अभाव र कालो बजारी बढ्दो छ । अखाद्य वस्तु बिक्री गरेर जनस्वास्थ्यमा खेलवाड गर्नेहरूसमेत कानुनी दायरामा आउन सकेका छैनन् । बजारमा जस्तोसुकै कैफियत भेटिएपनि अनुगमन टोली भने आगामी दिनमा सुधार गर्न सुझाव दिँदै फर्कने गरेको छ । प्रदेशको राजधानी सहर वीरेन्द्रनगरदेखि हिमाली जिल्लाका बजाहरूसम्म छ्याप्छ्याप्ती अखाद्य सामग्री पाइने गरेको छ । संरचना र जनशक्तिको अभावका कारण बजारको नियमित अनुगमन हुन सकेको छैन । स्थानीय प्रशासनले गर्ने अनुगमन झारो टार्नका लागि मात्रै गरेजस्तो देखिन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले प्रदेशका ६ जिल्ला हेर्छ । उक्त कार्यालयमा तीन वर्षदेखि कार्यालय प्रमुख थापा एक्ला कर्मचारी छन् ।

निषेधाज्ञाको समयमा मात्रै होइन अन्य समयमा पनि बजारमा गुणस्तरहीन खाद्यवस्तु बिक्री वितरण भइरहेका छन् । तर यसलाई नियन्त्रण गर्न सम्बन्धित निकाय असफल छन् । चाडपर्व नजिकिदा केही स्थानमा बजार अनुगमन गर्ने गरिएपनि अन्य समयमा निरन्तरता पाउन सकेको छैन । जसले गर्दा गुणस्तरहीन वस्तुको व्यापार गर्नेहरू कानुनी कारबाहीको दायरामा आउन सकेका छैनन् । अनुगमनका क्रममा पनि अखाद्य वस्तु भेटिएमा सचेत गराउने गरिन्छ । सामग्री जफत हुन्छ । प्रशासनले अखाद्य वस्तु नष्ट गरेर आइन्दा यसो नगर्न सचेत मात्रै गर्ने गरेको छ । अनुगमनकर्ताले प्रत्येक पटक सुझाव दिने तर सम्बन्धित व्यवसायीले अटेर गर्नाले उपभोक्ताहरू ठगिएका छन् । यसरी उपभोक्ता ठगिनबाट रोक्न नियमित अनुगमन जरुरी छ । साथै नियम मिच्नेहरूलाई कारबाही गरि फेरि गल्ती नदोहो¥याउन र अरुलाई पनि सचेत हुने अवस्थाको निर्माण गरेमा मात्रै बेथिति नियन्त्रण हुनसक्दछ ।

प्रकाशित मितिः   २१ असार २०७८, सोमबार ०५:००