कोरोना जोखिम कायमै

कर्णालीमा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण अझैं धेरै छ । पछिल्ला दिनमा संक्रमण दरमा केही कमी आएपनि दैनिक एक सयको हाराहारीमा संक्रमित पुष्टि हुने गरेका हुन् । सोमवार मात्र प्रदेशमा एक सय ११ नयाँ संक्रमित भेटिएका छन् । चार सय ४७ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । सुर्खेतमा २६, कालीकोटमा २४, रुकुम–पश्चिममा १८, दैलेखमा १०, मुगुमा नौ, हुम्लामा सात, सल्यान र जुम्लामा ६/६, जाजरकोटमा तीन, डोल्पा एक र अन्य प्रदेशका तर कर्णालीमा रहेका एक जनालाई संक्रमण पुष्टि भएको हो ।

सोमवार एक सय ११ जनामा संक्रमण पुष्टि

यस्तै, सोमवार नै प्रदेशभर एक सय १० जना संक्रमणमुक्त भएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५ हजार पाँच सय ५३ पुगेको छ । अहिलेसम्म संक्रमण भएकामध्ये ९१ प्रतिशत निको भएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म झन्डै २८ हजार बढी संक्रमित भएका छन् भने कोरोना संक्रमणका कारण तीन सय १२ जनाको ज्यान गएको छ । संक्रमण र मृत्युदरमा कमी आएपनि जोखिम भने कायमै रहेको जन स्वास्थ्यकर्मीहरूले बताएका छन् । पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा एक हजार दुई सय बढी सक्रिय संक्रमित छन् ।

यसैबीच, सोमवार देशभर दुई हजार चार सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार एक सय ५७ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । सोही दिन तीन हजार आठ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर कोरोना जित्नेको संख्या पाँच लाख ८८ हजार एक सय ८७ पुगेको छ । अहिले नेपालमा ३७ हजार नौ सय ५० जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमित नौ हजार ५१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   १५ असार २०७८, मंगलवार ०५:००