यस्तो छ, प्रदेश ६ लाई समृद्ध बनाउने एमालेको योजना, प्रारम्भिक घोषणापत्र सार्वजनिक

uml

नेकपा एमालेले प्रदेश नं. ६ को समग्र विकास तथा समृद्धिको प्रारम्भिक घोषणापत्र सार्वजनिक गरेको छ । शनिवार सुर्खेतमा सम्पन्न प्रदेश भेलाले पारित गरेको प्रारम्भिक घोषणापत्र आइतवार सार्वजनिक गरिएको छ ।

घोषणा पत्रमा एमालेले प्रदेश नं. ६ को नाम ‘कर्णाली प्रदेश’ राख्ने र त्यसको राजधानी सुर्खेतलाई बनाउने प्रस्ताव गरेको छ । यस प्रदेशको भौगोलिक अवस्था र सबै जिल्लाहरुको सहजतालाई ध्यानमा राखेर सुर्खेतलाई राजधानी प्रस्ताव गरिएको एमालेले जनाएको छ ।

‘नेकपा एमालेको उद्घोष : सुन्दर र समृद्ध ६ नम्बर प्रदेश, आफ्नो प्रदेश आफै बनाऔं, विकास र समृद्धिको ढोका खोलौं’ भन्ने शीर्ष नारासहित एमालेले सार्वजनिक गरेको घोषणपत्रमा एक दर्जनभन्दा बढी नारा अघि सारेको छ ।

‘आर्थिक सामाजिक विकास, प्रदेश ६ को एकमात्र निकास’, ‘आफ्नो प्रदेश आफै बनाऔं’, ‘समृद्धिको आधार, भौतिक पूर्वाधार’, ‘व्यवस्थित, स्वच्छ र सुन्दर शहर : प्रदेश ६ का नागरिकको नैसर्गिक अधिकार’, ‘स्थानीय साधन र स्रोतमा आधारित उद्योगको स्थापना : प्रदेश ६ को चाहना’, ‘समृद्धि र दिगो विकासको आधार : पर्यटन क्षेत्रको प्रवद्र्धन र विस्तार’, ‘जलविधुतको उत्पादन र विकास : प्रदेश ६ को आर्थिक समृद्धिको आधार’, ‘खाद्य सम्प्रभुतासहितको खाद्यअधिकार : कृषि र वनस्रोत समृद्धिको पूर्वाधार’, ‘विकासमा सिर्जनशिलता : सबै क्षेत्रमा आत्मनिर्भरता’, ‘कृषिमा सम्मानजनक रोजगारी : अन्त्य गरौं चरम भोकमरी’, ‘प्रदेश ६ को गौरव : जडिबुटी, जलस्रोत, कृषि र पर्यटनको हव’, ‘प्रदेशको दृढ आकांक्षा : गुणस्तरीय र व्यवसाहिक शिक्षा’, ‘भाषा, साहित्य, कला र संस्कृति : प्रदेश ६ को समृद्धि’, ‘समृद्ध ६ नम्बर प्रदेशको आधार : पारदर्शी, व्यवसायिक, जवाफदेही र भ्रष्टाचारमुक्त प्रदेश तथा स्थानीय सरकार’ लगायतका नारा अघि सारेको छ ।
प्रदेश नं. ६ का चुनौती र सम्भावनालाई पनि घोषणा पत्रमा केलाइएको छ ।

चुनौतीहरु :
–सबै जिल्लाहरुमा पक्की सडक नहुनु । हुम्ला र डोल्पामा अझैसम्म पनि सडक मार्ग विस्तार नहुनु ।
–भौगोलिक विकटता र छरिएको वस्ती ।
–शिक्षा र स्वास्थ्यजस्ता सामाजिक क्षेत्रको विकासको दयनीय अवस्था ।
–भोकमारी, महामारी, कुपोषण ।
–खाद्यान्नमा परनिर्भरता ।
–दक्षिणतर्फको छिमेकी राष्ट्र भारतसँगको निकास नहुनु ।
–उत्तरतर्फका नाका नखुल्नु ।
–परम्परागत कृषि प्रर्णाली ।
उल्लेखित लगायत यस क्षेत्रका थुप्रै चुनौतीहरुलाई घोषणपत्रमा समावेश गरिएको छ । यद्यपी अनेकौं चुनौतीहरुका बावजुद यस प्रदेशमा विराट सम्भावनाहरु रहेको पनि औंल्याइएको छ । तिनीहरुको अध्ययन, विश्लेषण, पहिचान र सही सदुपयोग गर्न सकेमा सबै चुनौतीहरुलाई सहजै निराकरण गरेर विकास र समृद्ध बनाउन सकिने सम्भावना रहेको जनाइएको छ ।

सम्भावनाहरु :
–अरु सबै प्रदेशको तुलनामा जलस्रोतमा धनी ।
–जलविधुतको अत्यधिक सम्भावना ।
–सिचाईको पर्याप्त सम्भावना ।
–पर्यटकीय स्थलहरुले सम्पन्न । पर्यटन विकासको सम्भावना ।
–जडिबुटीको राजधानी ।
–पशुपालन, कृषि, र फलफूल खेतीको प्रचुर सम्भावना ।
–जैविक विविधताको भण्डार ।
–कर्णाली कोरिडोर, भेरी कोरिडोर, मध्यपहाडि राजमार्ग, अपर कर्णाली, भेरी बबई आयोजना, नलसिंह गाड जलविधुत आयोजना, शारदा जलविधुत आयोजना, तिला जलविधुत आयोजना लगायतका ठूला र मझौला जलविधुत आयोजनाहरु ।
–प्रशस्त खानी र खनिज पदार्थको उपलब्धता ।
–फलाम, सुन, तामा, चुन ढुंगा, कोइला, काइनेट, स्टोन, स्लेट आदी खानीहरुको सम्भावना ।
–उत्तरी छिमेकी चिनसँग जोडिएका नाकाहरु हुम्लाको यारी, लाप्चा, चवाखोला र टाँके, डोल्पाको धो मोरिम्ला र मुगुको नाग्चे नाग्ला नाकाहरु खोल्न सकिने ।

एमालेका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश ६ का सयोजक युवाराज ज्ञवालीले प्रदेश कमिटीले समग्र प्रदेशको खाका बनाएको भन्दै यस क्षेत्रका सबै जिल्लाहरुले आ आफ्नो जिल्लाको समृद्धिको खाका बनाएर कार्यान्वयनका लागि लाग्ने जानकारी दिए ।

पोलिटब्युरो सदस्य एवम् सहसयोजक यामलाल क‌डेलले थप छलफल गरी प्राप्त सल्लाह र सुझावका अाधारमा प्रारम्भिक खाकालाइ अझ सुदृढ बनाउँदै लैजाने जानकारी दिए ।

प्रकाशित मितिः   १९ मंसिर २०७३, आईतवार ११:५१