विदेश मोह : मातृभूमिलाइ धोका ?

p

कसैको लागि सौख बनेको छ, कोही रहर तथा कोही बाध्यताले । वर्तमान समयमा हाम्रो समाजमा चलिरहेको एउटा परम्परा भनौ या अरु नै केही, विदेश । युवाहरूको लागि सबैभन्दा सजिलो पक्ष । पढाइमा सफलता भएन, व्यापार तथा अन्य क्षेत्रमा आफुले सोचेअनुरूप नभएमा अन्तिम विकल्पको रूपमा विदेश । चलनचल्तीको भाषामा रहेको यो शब्दको अर्थ शिशु स्याहार छाएको बच्चादेखि बुढापाखा सबैले सरलै बुझ्ने गर्छन् । समाजमा विस्तारै विदेशिनु एउटा फेसनको रूपमा लिइदैंछ भन्ने सोच्नुुमा सायद मुर्खता ठर्हदैन ।

पारिवारिक आर्थिक अवस्थामा रहेको कमजोरीलाई निराकरण तथा न्यूनीकरणका लागि पनि वर्तमान युवा तथा उनका अभिभावक छोराछोरीलाई विदेश धकल्छन् । उनीहरूको सोचाइमा सरल तथा सुलभ छ विदेश । भारत, मलेसिया, कतार, दुबई तथा अन्य मुलुक । एक, दुई तथा चार लाख अहिले सामान्य बन्दैछ । परिवार चर्को ब्याजमा भए पनि त्यति पैसा साहुबाट ऋण माग्न सक्छन् । साहुलाई पनि ऋण दिनुमा कुनै सङ्कोच रहँदैन । कारण भविष्यको कमाई । पैसा असुल हुन्छ भन्नेमा साहुहरू विश्वस्त रहेका छन् । तर विदेशिनुको पीडा एउटा विदेशिएकोलाई मात्र छ यहाँ । उ आफ्नो पीडा परिवारसँग साट्न पनि सक्दैन, किनकी उ खुशी लिन गएको हो, पीडा दिन होइन ।

अठार घण्टासम्म कामको अनुभव उ समाजमा बाँड्न सक्दैन । बसाइँ तथा खानाका कुरा उ साथीभाइलाई सुनाउन सक्दैन । मानवताको वेवास्ता गर्दै अन्यद्वारा गरिएको व्यवहारको झझल्को उ समाजका भावी पुस्तालाई देखाउन सक्दैन । कारण उ खुशी ल्याउन गएको हो, अधिकतम श्रमसँग पारिवारिक ओठको हाँसो साट्न गएको । यसैलाई मध्यनजर गर्दै उ बेलाबेलामा चिटिक्क कपडा लगाएर, कुनै पार्कमा खिचेको फोटो फेसबुकमा अपलोड गरिदिन्छ । उसको जीवनशैलीको बनावटी रूपमा उसैका साथीभाइले ईष्या गरेकोमा उ सन्तुष्टी लिन चाहन्छ ।

हामी कोही युवा, समाजमा आफूलाई अलि सम्भ्रान्त कहलाउनेहरू विकासको तुलनामा अग्रस्थानमा रहेका मुलुकमा श्रमका लागि जान रुचाउँछौं । पश्चिमी समाजको रहनसहन तथा रूपमा लठ्ठिएका हामीलाई के थाहा ? त्यहाँको वातावरणको बारेमा । समाजका बौद्धिक जनशक्ति पाश्चात्य समाजको रहनसहन तथा सुख सुविधाको लोभमा विदेशिरहेका छन् । कोही शिक्षादिक्षाको लागि भौतारिरहेका छन् । कोही धन सम्पत्तिको लागि तथा कोही नेपाली नागरिक भन्दा अन्तैको नागरिक बन्न चाहन्छन् । विदेशिनु सोचाई एक हदसम्म त राम्रो हो तर ? तर, सायद यो पनि एक अदृश्य आतंकवाद नै हो । आफ्नो जन्मभूमि तथा आफूविरुद्धको ।

विघौविघा सम्भावना बोकेका खेतहरू बाँझो भएका छन् । देशमा शिक्षित व्यक्तिको कमी हुन्छ कि, भन्ने खालका प्रश्नहरू सकारात्मक समाज सोच्ने व्यक्तिहरूको मानसपटलमा छाउन थालिसक्यो । आखिर के नै छ विदेशिनुमा ? केही आर्थिक आम्दानी पनि होला ? सायद हुन्छ नै, नेपालमा धेरै परिवारहरू छन् जो नेपालमा पारिवारिक खर्चको भर विदेशी रूपैयाँमा परेका छन् । परिवारका सदस्यद्वारा आर्जन गरिएको रकममा आफ्ना आधारभूत आवश्यकताहरू परिपूर्ति गरिरहेका छन् ।

तर विदेशिनुको पीडा कसले बुझ्ने ? परिवार, समाज तथा राष्ट्र ? वा, मानवअधिकारकर्मीहरूले ? सुन्दर सपना बोकेर डिभीबाट अमेरिका छिरेका नेपालीहरूमा गर्ने भेदभाव कसले बुझ्ने ? पहिले उनका सुन्दर सपनाहरू माथि भएको बलात्कारको जिम्मा कसले लिने । नेपालमा अझै पनि विद्यमान रहेको वर्गीय तथा जातीय भेदभाव झै अमेरिकाका शहरहरूमा छाएको डीभी भेदभावका बारेमा सबै नेपालीहरूलाई जानकारी भएको भने छैन । डीभी परेर अहिले अमेरिकामा बसोबास गरिरहेका नेपालीहरूले यो बारेमा पनि बताउँदैनन् । अनि कामको कुरा, श्रम तथा अन्य । नेपालमा जत्तिको स्वतन्त्रता उनीहरूले गुमाउँदाको पीडा उनीहरू देखाउँदैनन् ।

शिक्षित हुन विदेशिएका नेपालीहरूले शिक्षा पश्चात हाम्रो समाजलाई के दिए ? आफ्नो जन्मभूमिलाई के दिए ? अधिकांश शिक्षित नेपाली नेपाल फर्किदैंनन्, यसमा उनीहरूको पनि आफ्नै बाध्यता छ । ती मध्ये औलामा गन्न सकिने व्यक्तिहरू मात्र छन् जसले नेपाली समाज परिवर्तनका लागि काम गरिरहेका छन् । तर अधिकांश शिक्षित व्यक्तिहरू समाजका लागि निष्क्रिय रहेको हामी हाम्रो समाजमा पाउन सक्छौं । उनीहरू परिवर्तन त भए, आफू शिक्षित भए तर अरुलाई शिक्षित बनाउन सकेनन् । सामाजिक योगदानप्रति उनीहरूको क्रियाशीलतामा कमी पक्कै आएको छ । हामी हामीलाई बुझ्न सकिरहेका छैनौं । अभिभावक छोराछोरीलाई बुभ्mन सकिरहेका छैनन् । छोराछोरी अभिभावकलाई । नेपालमा केही गर्न नसके वा सफलता हासिल गर्न नसके तथा अन्य कुनै पनि कारण विदेशिनुप्रतिको हाम्रो आस्थाले देशलाई धोका दिइरहेको छ । हामीले हामीलाई नै धोका दिइरहेका छौं । विदेशमा रहेका सकारात्मक पक्षको नेपालमा हामीले समयमा नै प्रयोग गर्न नसक्नु हाम्रो मूल कमजोरी हो ।

प्रकाशित मितिः   १९ मंसिर २०७३, आईतवार ११:२२