संसद् बैठक फेरि स्थगित

कर्णाली प्रदेशसभाको शुक्रवारको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध पारेको हो । बैठकको सुरूमा धारणा राख्दै एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले तीन जना मन्त्रीले राजीनामा दिनुपर्ने विषय उठाएपछि एमालेका सांसदले उठेर संसद् चल्न नदिएका हुन् । संसद् अवरुद्ध भएपछि कर्णाली सरकारले असार १ गते ल्याएको बजेटमाथिको छलफल हुन सकेको छैन । नेकपा एमालेको आन्तरिक कलहले प्रदेशसभा अवरुद्ध हुँदै आएको हो । यसअघि असार ४ र असार ८ गते आह्वान गरिएको बैठक पनि स्थगित भएको थियो ।

सर्वोच्चको अन्तरिम आदेशले पुनर्वहाली भएका एमालेका तीन जना सांसद् मन्त्री छन् । दलीय ह्वीपविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमाले माधव समूहका चार जना सांसदलाई पार्टीले पदमुक्त गरेको थियो । तीमध्ये तीन जना माओवादी नेतृत्वको सरकारका मन्त्री छन् । पुनर्वाहलीसँगै उनीहरू एमालेका सांसद भएकाले अब मन्त्री पदमा बस्न नमिल्ने एमालेको अडान छ ।

पार्टी प्रतिपक्षमा भएका बेला केही व्यक्तिहरू सरकारमा सहभागि हुनु अस्वाभाविक भएको भन्दै एमालेले उनीहरूको राजीनामा माग गर्दै आएको छ । ‘सरकारलाई साथ दिने/नदिने विषय पार्टीले निर्णय गर्ने कुरा हो,’ प्रमुख सचेतक शाहले भने, ‘कोही व्यक्तिको इच्छाले सरकारमा सहभागि हुन पाइँदैन ।’

पहिलेदेखि नै माग गर्दै आएको विषय सुनुवाइ नभएकाले सदन अगाडि बढ्न नदिने एमालेले बताएको छ । विगतमा अर्कै परिस्थितबाट मन्त्री भएकाहरू आज परिस्थिति फेरिँदा पनि उही पदमा रहन र सामेल गराइराख्न नमिल्ने एमालेका सांसदहरूले बताएका छन् । मुख्यमन्त्री शाही संसद् बैठक सञ्चालन गर्ने विषयमा छलफलमा बस्न तयार नभएको र बजेटको ‘ब्रेक डाउन’ नहुँदै योजना गाउँ पुगिसकेको आरोप पनि एमालेले लगाएको छ ।

गएको वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसदीय दलको निर्देशनविपरीत विश्वासको मत दिएका एमाले सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पदमुक्त गरिएको थियो । त्यसलगत्तै वैशाख ४ गते ज्वालाबाहेक तीन जना स्वतन्त्र हैसियतमा सरकारमा सहभागी बनेका थिए । सर्वोच्च अदालतले जेठ २७ गते पदमुक्त भएका चारै जनालाई एमाले सांसदको रूपमा पुनर्वाहली गरेको थियो । त्यसपछि एमाले संसदीय दलले मन्त्रीबाट फिर्ता आउन उनीहरूलाई निर्देशन दिएको थियो ।

शुक्रवारको बैठकमा प्रतिपक्षी दल एमालेका सांसदहरूलाई बजेटको छलफल अगाडि बढाउन सभामुख राजबहादुर शाहीले आग्रह गरेपनि आफ्नो अडान नछाडेपछि आगामी बजेटमाथिको छलफल सुरू हुन सकेन । कर्णाली प्रदेशसभाको आगामी बैठक आइतवार दिउँसो २ बजेसम्म स्थगित गरिएको छ । प्रतिपक्ष र सरकारबीच सहमति नजुट्दा संसद् बैठक अनिश्चित बनेको छ ।

प्रकाशित मितिः   १२ असार २०७८, शनिबार ०५:०४