निषेधाज्ञा खुुकुलो पारेर निरन्तरता

मालपोत कार्यालय खुल्ने, प्रशासनले नागरिकता दिने

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुर्खेतमा जारी निषेधाज्ञा थप गरिएको छ । झन्डै दुई महिनादेखि जारी निषेधाज्ञा असार १७ गतेसम्मका लागि लम्ब्याइएको हो । निषेधाज्ञालाई थप खुकुलो बनाएर निरन्तरता दिइएको छ । कोरोना संक्रमणको दोस्रो लहर आएसँगै वैशाख १४ गतेबाट गरिएको निषेधाज्ञा स्थानीय प्रशासनले खुकुलो बनाउँदै लगेको हो । असार १ गतेदेखि बिहान ६ बजेदेखि ११ बजेसम्म बजार सञ्चालन गर्न दिएको प्रशासनले अब भने दिउँसो दुई बजेसम्म पसलहरू खोल्न दिने भएको छ ।

कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै लगेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । ‘केही क्षेत्र खुकुुलो पारेर निषेधाज्ञा थप गरिएको छ,’ उनले भने । थपिएको निषेधाज्ञामा पनि सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालनमा भने रोक लगाइएको छ । सरकारी कर्मचारीहरूले बिहान ९ देखि साढे १० बजेसम्म र साँझ ५ देखि साढे ५ बजेसम्म सवारी साधन चलाउन पाउने छन् ।

कोरोना संक्रमणले निम्तिएको संकटका कारण लामो समयदेखि बन्द रहेको मालपोत कार्यालय खुल्ने भएको छ । मालपोत कार्यालय सुर्खेतले आज (शुक्रवार) देखि नियमित सेवा सुरू गर्ने भएको हो । निषेधाज्ञासँगै जिल्लामा अत्यावश्यकबाहेकका कार्यालयहरू समेत बन्द थिए ।

मालपोतले अब प्रत्येक हप्ताको आइतवारदेखि सोमवारसम्म वीरेन्द्रनगरबाहेकका पालिकाको काम गर्ने छ भने वीरेन्द्रनगरका लागि मंगलवारदेखि शुक्रवारसम्म सेवा सञ्चालन हुनेछ । कार्यालय प्रमुख जनकबहादुर हमालका अनुसार मंगलवार र बुधवार रोक्का फुकुवा र प्रशासन सम्बन्धी सेवा तथा बिहीवार र शुक्रवार राजीनामा, अंशबण्डा, अंश भरपाई र मुद्दा प्रशासनसम्बन्धी सेवा प्रवाह हुनेछन् ।

यस्तै, जिल्ला प्रशासन कार्यालयले पनि आजदेखि नागरिकता दिन सुरू गर्ने भएको छ । हप्ताकोे तीन दिन आइतवार, मंगलवार र बिहीवार नयाँ नागरिकता दिइने छ भने प्रतिलिपि लिनका लागि सोमवार, बुधवार र शुुक्रवार प्रशासनमा जानुपर्ने छ । प्रशासनका अन्य प्रशासनिक सेवा तथा कार्यहरू भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ । कोरोना संक्रमण दरमा कमी आए पनि जोखिम कायम रहिरहेकाले भिडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रशासनले अनुरोध गरेको छ । सुर्खेतमा अझै कोरोनाका चार सय बढी सक्रिय संक्रमित छन् । जिल्लामा कोरोना संक्रमणका कारण एक सय ७५ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मितिः   ११ असार २०७८, शुक्रबार ०५:०१