पर्याप्त छ मल

असार लागेसँगै धान रोपाइँ सुरु हुन्छ । कतै अलिक छिटो हुन्छ भने कतै ढिलो । यस वर्ष पनि रोपाइँ सुरु भइसकेको छ । मनसुन चाँडै भित्रिएका कारण पनि यो वर्ष रोपाइँ केही छिटो सुरु भएको हो । सबै ठाउँमा सिँचाइको सुविधा छैन । आकाशे पानीको भर पर्नुपर्ने हुन्छ । समयमै पानी परेपछि कृषकह पनि हर्षित बनेका छन् । त्यसमाथि यो वर्ष मलको अभाव पनि नहुने भएको छ । कृषकले सहजै रासायनिक मल पाउनेछन् । कर्णालीमा विशेषगरी सुर्खेत र दैलेखमा रासायनिक मलको खपत धेरै छ । जाजरकोट र कालीकोटलगायतका जिल्लामा न्यून मात्रामा मल जाने गरेको छ । जुम्ला, हुम्ला, मुगु र डोल्पाका स्थानीय तहमा डिपो छैनन् । ती जिल्लामा रासायनिक मलको प्रयोग समेत नहुने गरेको जनाइएको छ ।

कर्णाली प्रदेशमा रासायनिक मलको माग बढ्दै गएको छ । बाली सप्रिने र उत्पादन बढ्ने हुँदा पछिल्ला वर्षहरूमा रासायनिक मलप्रति किसानहरूको आकर्षण बढेको हो । बस्तुभाउ पालेर खेतबारीका लागि प्राङ्गारिक मल बनाउने किसानहरूले पनि अहिले रासायनिक मलको प्रयोग गर्न थालेका हुन् । हरेक वर्ष धानबालीमा हाल्ने युरियालगायत अन्य रासायनिक मलको माग बढ्दो छ । कर्णालीमा साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेड शाखा सुर्खेत र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले मल वितरण गर्दै आएका छन् । नेपाल सरकारले रासायनिक मलका लागि विनियोजन गरेको बजेटमध्ये साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडले ३० प्रतिशत र कृषि सामग्री कम्पनी लिमिटेड ७० प्रतिशत बजेट प्राप्त गर्छन् । सरकारबाट प्राप्त अनुदानमार्फत मल खरिद गरी कृषकलाई वितरण गरिँदै आएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले यो वर्ष मात्र १७ हजार क्वीन्टल रासायनिक मल कृषकलाई वितरण गर्ने लक्ष्य लिएको छ । धान रोपाइँ सुरू नहुँदै ११ हजार तीन सय आठ क्वीन्टल मल वितरण गरिसकिएको कार्यालयले जनाएको छ । गतवर्ष मल आपूर्तिमा समस्या भए पनि यो वर्ष भने सहज रूपमा उपलब्ध भइरहेको छ ।

तुलनात्मक रूपमा कर्णालीमा अन्य प्रदेशभन्दा कम रासायनिक मल खपत हुन्छ । देशभर वितरण हुने रासायनिक मलको झन्डै १ प्रतिशत मात्रै कर्णालीमा खपत हुने गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले कर्णालीलाई ‘अर्गानिक प्रदेश’ बनाउने अवधारणा ल्याएको छ । त्यसका लागि सरकारले थुप्रै प्राङ्गारिक कृषि प्रवद्र्धन कार्यक्रमहरूसमेत सञ्चालन गर्दै आएको छ । तर, अर्गानिक प्रदेशका नामले समेत चिनिन थालेको कर्णालीमा रासायनिक मलको प्रयोग भने बढ्दो छ । सरकारको लक्ष्य र कृषकबीच तालमेल मिल्न सकेको छैन । अर्गानिक प्रदेश बनाउने लक्ष्य हासिल गर्न सरकारले कृषकलाई प्रोत्साहित गर्न सकेको छैन । जसका कारण रासायनिक मलको प्रयोग बढेको छ । यसलाई नियन्त्रण गर्नेगरी योजना र कार्यक्रम ल्याउन आवश्यक छ ।

प्रकाशित मितिः   ६ असार २०७८, आईतवार १०:२७