पाँच ‘ज’ को प्रयोग र परिचालन गर्नसक्ने जनशक्ति उत्पादन गर्न प्रदेश प्रमुखको सुझाव
सुर्खेत : कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले समृद्ध प्रदेश निर्माणमा मध्यपश्चिम विश्वविद्यालयको पनि महत्वपूर्ण भूमिका रहने बताएका छन् । विहीवार भर्चूअल माध्यमबाट भएको विश्वविद्यालयको ११ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कलौनीले दक्ष जनशक्ति उत्पादनमार्फत विश्वविद्यालयले समृद्ध प्रदेश निर्माणको लागि महत्वपूर्ण कार्यभार पूरा गर्न सक्ने बताएका हुन् ।
उनले प्रदेशमा उपलब्ध प्राकृतिक स्रोत र साधनको प्रयोग तथा परिचालन गर्न सक्ने जनशक्ति उत्पादनमा ध्यान दिन सुझाव समेत दिए । संघीय सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ र प्रदेश सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’को उद्देश्य पूरा गर्नका लागि पनि कर्णालीमा उपलब्ध प्राकृतिक स्रोत र साधनको उपयोग अपरिहार्य रहेकोमा उनको जोड थियो । पाँच ‘ज’ अर्थात ‘जल, जङ्गल, जमिन, जडीबुटी र जैविक विविधतालाई प्रयोग र परिचालन गर्नसक्ने जनशक्ति उत्पादन गर्दै अध्ययन, अध्यापन र अनुसन्धानमार्फत विकास र समृद्धिको यात्रा तय गर्न सकिन्छ’ कलौनीले भने । मध्यपश्चिम विश्वविद्यालयले आफ्ना कार्यक्रमलाई समसामयिक रूपमा परिमार्जन गर्दै अध्ययन, अध्यापन र अनुसन्धानलाई यसतर्फ केन्द्रित गरेर उल्लेखित कार्यभारलाई परिपूर्ति गर्नतर्फ भूमिका निर्वाह गर्ने विश्वास प्रदेश प्रमुखले कलौनीले व्यक्त गरेका छन् ।
विश्वविद्यालयको भूमिका बृहत् रहेकोतर्फ संकेत गर्दै उनले यस क्षेत्रमा रहेका अनेकन् सम्भावना र लुकेर रहेका वैभवहरूलाई खोज, अन्वेषण र अनुसन्धानका माध्यमबाट प्रयोग गर्न सके सुन सिरानीमा राखेर नुनको अभावमा तड्पिरहेका हालका कर्णालीवासीलाई ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को पहिचान बनाउन धेरै समय कुर्न पर्ने जिकिर समेत गरे । ‘यसको लागि पनि योग्य र दक्ष जनशक्ति आवश्यक छ’ प्रमुख कलौनीले भने, ‘बाह्रौँ वर्ष प्रवेश गर्दै गरेको यस क्षेत्रको उच्च शिक्षाको केन्द्र मध्यपश्चिम विश्वविद्यालयको नेतृत्वलाई यसतर्फ आफ्ना कार्यक्रमहरू केन्द्रित गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रदेश प्रमुखज्यूको शुभकामना मन्तव्य जस्ताको त्यस्तै
सर्वप्रथम म उच्च शिक्षाको माध्यमबाट देशको समग्र विकासमा सबै क्षेत्र र वर्गका जनतालाई समान अवसर प्रदान गर्ने नेपाल सरकारको बहु-विश्वविद्यालय स्थापनाको योजना तथा यस क्षेत्रका जनताको चाहना र सक्रियताको परिणाम स्वरूप स्थापना भएको यस मध्यपश्चिम विश्वविद्यालयले आफ्नो स्थापनाको एघार वर्षको यात्रा कुशलतापूर्वक सम्पन्न गरेकोमा सम्बद्ध सबैमा हार्दिक बधाई ज्ञापन गर्दै यस विश्वविद्यालयले कर्णाली प्रदेशको उच्च शिक्षाको एक अग्रणी संस्थाको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अध्ययन, अध्यापन र अनुसन्धानको एक उत्कृष्ट शैक्षिक केन्द्रको रूपमा पहिचान बनाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
आजको यस सुखद् अवसरमा विश्वविद्यालय स्थापनाको परिकल्पना, सङ्घर्ष, सहयोग र सु-सञ्चालन सहित आजको अवस्थामा ल्याई पुर्याउन भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण क्षेत्र, तह र तप्काका नेतृत्व वर्ग लगायत सम्पूर्ण अभियन्ता, चन्दा दाताएवम् अभियानमा संलग्न सरोकारवाला सबैको योगदान प्रति उच्च सम्मान व्यक्त गर्दछु । आगामी दिनमा यस विश्वविद्यालयलाई अझै तीव्र गतिमा शैक्षिक उत्कृष्टताको गन्तव्यतर्फको सफल यात्रामा निरन्तर गतिशील बनाइ राख्न विश्वविद्यालयको हालको नेतृत्व, सम्पूर्ण विश्वविद्यालय परिवार र सरोकारवाला सबैलाई ऊर्जा प्राप्त भइरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
“समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा र “समृद्ध कर्णाली, सुखारी कर्णालीवासी” को प्रादेशिक दीर्घकालीन सोच हाँसिल गर्नको लागि उपयुक्त ज्ञान, सीप, दक्षता र इच्छाशक्ति भएका योग्य जनशक्ति उत्पादनमा मध्यपश्चिम विश्वविद्यालयका कार्यक्रम र गतिविधिहरू केन्द्रित हुनु आवश्यक छ । कर्णाली प्रदेशमा उपलब्ध प्राकृतिक स्रोत साधनहरू जल, जङ्गल, जमिन, जडीबुटी र जैविक विविधता जस्ता पाँच “ज” लाई प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्दै अध्ययन, अध्यापन र अनुसन्धानमार्फत विकास र समृद्धिको यात्रा तय गर्न सकिन्छ । यसको लागि मध्यपश्चिम विश्वविद्यालयले आफ्ना कार्यक्रमहरू निर्माण गरी समसामयिक रूपमा परिमार्जन गर्दै अध्ययन, अध्यापन र अनुसन्धानलाई यसतर्फ केन्द्रित गरेर यो कार्यभारलाई परिपूर्ति गर्नतर्फ भूमिका निर्वाह गर्नेविश्वास लिएको छु ।
प्राकृतिक श्रोतमा मात्रै नभई हाम्रो प्रदेश प्राचीन एवम् मौलिक संस्कृति, सभ्यता, भाषा, साहित्य लगायत ज्ञान, सीप र कला जस्ता विविध पक्षमा पनि अत्यन्तै सम्पन्न छ । यस क्षेत्रमा रहेका यस्ता अनेकन् सम्भावना र लुकेर रहेका वैभवहरूलाई खोज, अन्वेषण र अनुसन्धानका माध्यमबाट प्रयोग गर्न सके सुन सिरानीमा राखेर नुनको अभावमा तड्पिरहेका हालका कर्णालीवासीलाई “समृद्ध कर्णाली, सुखारी कर्णालीवासी”को पहिचान बनाउन धेरै समय कुर्न पर्ने छैन । यसको लागि पनि योग्य र दक्ष जनशक्ति आवश्यक छ । बाह्रौँ वर्षमा प्रवेश गर्दै गरेको यस क्षेत्रको उच्च शिक्षाको केन्द्र मध्यपश्चिम विश्वविद्यालयको नेतृत्वलाई यसतर्फ आफ्ना कार्यक्रमहरू केन्द्रित गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।
उच्च शिक्षा प्रणाली केवल कक्षा कोठाको शिक्षण सिकाई मात्र होइन, यसले अध्ययन, अन्वेषण र अनुसन्धानका कार्यहरूलाई अघि बढाई नयाँ आविष्कार गर्न सक्नु पर्दछ । अनुसन्धानका माध्यमबाट ज्ञानको नयाँ क्षितिज उघार्नु र नविनतम प्रविधिको खोज गर्नु नै उच्च शिक्षाको उद्देश्य हुनु पर्दछ । यस दिशातर्फ यो विश्वविद्यालयले विशेष पहल कदमी बढाई अनुसन्धानमा आधारित विकासको नयाँ मोडेल निर्माण गर्दै शैक्षिक प्राज्ञिक उत्कृष्टताको केन्द्र बन्ने अपेक्षा गरेको छु । विश्वविद्यालयहरूले आफ्ना कार्यक्रमहरूलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय सामाजिक आवश्यकतालाई मध्यनजर गर्दै तयार गर्ने, त्यसको प्रभावकारी कार्यान्वयन गर्ने र एक्काइसौं शताब्दीको विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने विषयलाई गम्भीरतापूर्वक अघि बढाउन आवश्यक छ ।
आज हजारौं नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि वर्षेनी विदेशिएका छन् । उच्च शिक्षामा हजारौं नेपाली विद्यार्थी र अरवौंको पूँजी विदेश पलायन हुनु सुखद् विषय होइन । यस्तो परिप्रेक्ष्यमा हाम्रा विश्वविद्यालयहरूले गुणस्तरीय उच्च शिक्षा प्रदानमा प्रतिस्पर्धा गर्न सक्षम भइ आफ्ना कार्यक्रमहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विस्तार गरी विश्व बजारमा आवश्यक जनशक्ति उत्पादन गर्नसक्नु पदर्छ । त्यसतर्फ आफ्ना नयाँ नयाँ शैक्षिक संस्था, अनुसन्धान तथा विकास केन्द्र, शैक्षिक कार्यक्रमहरू ल्याई प्रभावकारी कार्यान्वयन गर्नेतर्फ विश्वविद्यालय अघि बढेको कुरा थाहा पाउदा मलाइ खुसी लागेको छ ।
अन्तमा, कोभिड–१९ को विश्वव्यापी प्रभावका कारण समग्र विश्व लगायत नेपालले ठूलो क्षति व्यहोर्नु परेको छ । यस्तो अवस्थामा समेत मध्यपश्चिम विश्वविद्यालयले अनलाइनका माध्यमबाट शैक्षिक तथा प्रशासनिक कार्यहरू सम्पन्न गर्दै महामारी विरुद्ध समेत सक्रियरूपमा योगदान गरिरहेको कामको म प्रशंसा गर्दछु । हाम्रा जनजीविका र दैनिकीहरू बदलिएका छन् । आजको यस कार्यक्रम मार्फत कोभिड १९ को कारणले ज्यान गुमाउनु भएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उपचाररत सङ्क्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु । विश्वविद्यालयको एघारौं वार्षिकोत्सवको अवसरमा मलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरी शुभकामना व्यक्त गर्ने अवसर प्रदान गर्नुभएकोमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति लगायत विश्वविद्यालय परिवार प्रति धन्यवाद प्रकट गर्दै विश्वविद्यालयको आगामी यात्रा सफलतापूर्वक लक्षित गन्तव्यतर्फ उन्मुख होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
मिति २०७८ असार ३ गते ।
प्रकाशित मितिः ३ असार २०७८, बिहीबार १७:३५
साझा बिसौनी ।